ओलीको आक्रोश: भोट माग्ने पार्टीहरू राहत लिएर आएनन् भनेर उधुम मच्चाउने ? पार्टीको घर भत्केको छैन ? आफन्त गुमेका छैनन् ?

0 3

काठमाडौं, वैशाख १७– एमाले अध्यक्ष केपी ओलीले दलहरूप्रति जनतामा वितृष्णा जगाउने संगठित प्रयत्न भएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘ठाउँठाउँमा किन नेता पुगेनन् भनेर उधुम मच्चाउने काम भइरहेको छ, पार्टीको कार्यालयमा पनि त क्षति पुगेको छ । नेताहरूलाई पनि आफन्त गुमेको पीडा एकातिर भए पनि अर्कोतिर राहतका लागि दौडनुपरेको छ ।’ ओलीले कल्पनै नगरेको विपत्ति आइलाग्दा तत्कालको आवश्यकता र सामथ्र्यको बीच ठूलो पर्खाल खडा भएको बताए । ओलीले जनताले सरकारलाई गाली गरिरहेको सन्दर्भ कोट्याउँदै भने, ‘रेस्क्युमा खटिनुपर्ने सरकारी सेना–प्रहरी ब्यारेकमा सुरक्षित भए पनि घरबाट अत्याशलाग्दो खबर आइरहेको छ । यस्तो बेला सरकारका मान्छेलाई गाली गर्नुको साटो संयमता अपनाउनुपर्छ ।’ ओलीले सामाजिक सञ्जालहरुमा आफ्नो आलोचना भएकोप्रति संकेत गर्दै भने, ‘समाजका सबै पक्ष भूकम्पबाट प्रभावित भएका बेला निच स्वार्थ बोकेका घटियाहरू पनि देखापरे । एकजनाले मेरै नाममा फेसबुक एकाउन्ट खोलेर जथाभावी लेख्दोरहेछ ।’ विपतका बेला केही मान्छेले एमाले नेताहरूको नम्बर सर्वसाधारणलाई बाँडेर फोन गर्न लगाएको र काममा बाधा पारेको उनले बताए । ‘कहिले चन्द्रमा उल्टो भयो भन्ने त कहिले १२ रेक्टरको फेरि जाँदै छ भनेर केही मान्छे ज्योतिष बने,’ उनले भने । राहत वितरणको कार्य सरकारको भए पनि त्यसमा दलहरूलाई संलग्न गराएर वितरण गर्नुपर्ने उनको भनाइ छ । ‘वैदेशिक सहयोग सरकारी समन्वयमा वितरण गर्नुपर्छ, त्यसमा पार्टीहरूलाई सहभागी गराउनुपर्छ,’ उनले भने, ‘तर, पार्टीका कार्यकर्ताले भोटका लागि राहतमा लुछाचुँडी गर्न मिल्दैन ।’ उनले एमालेका सयौं नेता–कार्यकर्ताको घर ढलेको र आफन्त गुमेको भए पनि चौरमा स्थायी समिति बैठक बसेर आफूहरूले उद्धार र राहतका लागि पार्टीपंक्तिलाई परिचालन गरेको बताए । आफूहरूले बुधबार प्रधानमन्त्रीलाई भेटेर भूकम्प पीडितलाई राहत दिन र पुनस्र्थापना गर्नका लागि दशबुँदे सुझाव दिएको पनि जनाए । उनले भने, ‘चीनले कोदारी राजमार्ग खोल्ने अनुमति मागिरहेका बेला हामीले त्यस्तो अनुमति दिनका लागि आग्रह गरेका छौं, जसकारण उद्धार र राहतमा सहयोग पुगोस् ।’ भारत, चीन र थाइल्यान्डजस्ता मुलुकबाट भनेजति पाल नआएकोमा आफ्नो पार्टीले ताकेता गरिरहेको उनको भनाइ छ । ‘सरकार तर्किन खोज्दै छ,’ उनले प्रश्न गरे, ‘सरकारले अहिलेसम्म हिँउदे अधिवेशन बोलाएको छैन, प्रतिपक्षीले अवरोध गर्लान् भनेर यो विपतका बेला हिँउदे अधिवेशनबाट कति दिन तर्किने ? सरकारले हिँउदे अधिवेशन बोलाएर जनप्रतिनिधिलाई आफ्नो क्षेत्रका जनताका पीडा र समस्या राख्न दिनुपर्ने उनको भनाइ छ ।