यी हुन् धरहराबाट खसेर बाँच्‍ने भाग्‍यमानी

0 3
काठमाडौं : चितवन, रत्ननगरका किशोर खतिवडाले इन्जिनियरिङमा स्नातकोत्तर गर्दा काठमाडौंमा निर्माण भइसकेका भवनलाई कसरी भूकम्प प्रतिरोधक बनाउने भन्ने विषयमा शोधपत्र लेखेका थिए। उनी गत शनिबारको भूकम्पमा काठमाडौंमै रहेको धरहराबाट खसेर सकुशल रहने अर्का व्यक्ति हुन्।
शनिबार आफ्नो साथी बबिता सेढाईंका साथमा उनी जीवनमा पहिलो पटक धरहरा चढ्दै थिए। बबिता भने तेस्रो पटक धरहरा चढ्दै थिइन्। त्यो दिन काठमाडौंको मौसम पनि त्यति खुलेको थिएन। पहिलो चरणमा उनीहरूले टुप्पामा पुगेपछि उनीहरू सिभिल मल तर्फको साइडबाट काठमाडौं नियाल्न थाले।
तर चिसो हावाको झोक्काले आक्रमण गर्न थालेपछि अर्को खिचापोखरीतर्फको भागबाट काठमाडौं हेर्न थालेछन्। भूकम्प आउनुअघिको अनुभव सम्झिदै उनले भने, ‘सिँढी उक्लँदा पसिनाले निथ्रुक्क भिजिएको थियो, पसिना सेलाएपछिको चिसो हावाले हान्दा टाउको भारी भयो।’
चिसोबाट बच्न अर्कोपटि पुगेका उनीहरूले शहरमा ठूलो भुइँचालो आयो भने के होला भन्दै जिस्कँदै कुरा गरेछन्। ‘यसरी जिस्कँदा बबिताजीले इन्जिनियर मान्छे निर्माणकै चिन्ता छ भन्दै जिस्कनु भयो’, उनले सुनाए, ‘जिस्कँदा जिस्कँदै दुई तीनपटक लच्काएजस्तो भयो।’
संयोग पनि कस्तो परेको युवा इन्जिनियरले भूकम्पको कुरा गर्दागर्दै विनाशकारी भुकम्प आयो। किशोर रेलिङ समातेर थचक्कै बसेछन् भने बबिता अढेस लागिछन्।
मेरो अवस्था देखेर धरहराबाट खसेको भन्दा डाक्टरले पत्याएनन्, मेरो उपचार त्यति प्राथमिकतामा राखेनन्’, किशोरले भने, ‘मभन्दा धेरै घाइते भएका बिरामी त्यहाँ थिए मलाई भन्दा उनीहरूलाई उपचारको जरुरी थियो।’
‘यत्तिकैमा धरहरा भाँच्चिएर ढल्यो, पीङ खेल्दाजस्तो सिरिंग महसुस भयो,’ उनले भने, ‘भगवान सम्झिएँ। धरहरा भूइँमा बजारियो। म उछिट्टिएर बाहिर पुगेँछु। बबिताजी रेलिङभित्रै हुनुहुँदो रहेछ।’
त्यसपछि केही मानिस आएर रेलिङ हटाइदिएछन्। त्यसपछिको केही समय किशोर अर्धचेत भएछन्। ‘भुइँमा खस्दा मेरो जुत्ता खुस्किएको रहे’, उनले त्रासदीपूर्ण क्षणबाट बँच्दाको अनुभव सुनाए, ‘खुस्किएको जुत्ता लगाएको सम्म थाहा छ। तर त्यसपछि केही समय के भयो थाहा छैन।’
उनले देख्दा बबिताको आँखामा ठूलै चोट लागेको जस्तो थियो अनुहारभरि रगत लतपतिएको थियो। ‘मेरो करले उहाँ धरहरा चढ्नु भएको थियो’, उनले भने,’मलाई आफ्नो भन्दा उहाँको धेरै चिन्ता थियो।’
उनीहरू उपचारको लागि ग्रीनसिटी अस्पताल पुगे। त्यहाँ पुग्ने बित्तिकै अर्को झट्का आयो। त्यसपछि उनी कान्तिपुर डेन्टल कलेजतिर लागे भने बबिता तिलगंगा आँखा अस्पतालमा।
‘मेरो अवस्था देखेर धरहराबाट खसेको भन्दा डाक्टरले पत्याएनन्, मेरो उपचार त्यति प्राथमिकतामा राखेनन्’, किशोरले भने, ‘मभन्दा धेरै घाइते भएका बिरामी त्यहाँ थिए मलाई भन्दा उनीहरूलाई उपचारको जरुरी थियो।’
त्यसपछि उनी सामाखुशीमा रहेको दिदीभिनाजुको घरमा गए। हातमा दर्फरिएको भन्दा अरु केही चोटपटक नलागेका किशोरलाई देख्दा धरहराबाट खसेको भनेर कसैले पत्याएनन्।
यसबीचमा उनीलाई दुईपटक वान्ता भएछ त्यसैले टाउकोमा चोट लागेको हो कि भन्ने शंका गरिएछ। सबैले सीटीस्क्यान गर्ने सुझाव दिएछन्।
‘भुइँचालो जानुभन्दा अघिदेखि नै मेरो टाउको भारी थियो, त्यसमा त्यत्रो अग्लो ठाउँबाट खसेर वान्ता भएको होला जस्तो लाग्यो’, उनले भने, ‘तर मलाई पनि टाउकोमा चोट छ जस्तो त लागेको थिएन।’
तर पनि उनको मनबाट चिन्ता हटेन। एक ट्याब्लेट टाउको दुखाईको औषधि ‘निम्स’ खाएर उनी सुते। भोलीपल्ट शिक्षण अस्पतालमा गएर सिटीस्क्यान गर्न खोज्दा पालो पाइएन।
‘म धरहराबाट खसेको भन्दा पनि पाइएन त्यहाँ मलाई भन्दा धेरै चोट लागेका मानिस थिए’, किसोरले सुनाए, ‘मलाई नियमित क्युमा बस्न अनुरोध गरियो।’ त्यसपछि उनी ओम अस्पतालमा पुगेर टाउकोको सीटी स्क्यान गराए।
रिपोर्ट आयो केही भएको रहेनछ। टाउको एउटा सानो चोट त लागेको रहेछ तर अति सामान्य। उनले भने, ‘मलाई डाक्टरले पाँच दिनखान एउटा औषधि दिए अहिले केही असजिलो महशुस भएको छैन।’ पाँच दिनको औषधि पनि उनले खाइसकेका छन्।
किशोरले भारतको आन्ध्र विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्दा ‘रेक्ट्रोफिटिङ अफ आरसीटी फ्रेम बिल्डिङ’ विषयमा शोधपत्र लेखेका थिए। उनको अध्ययनले रड, कंक्रिट र सिमेन्ट प्रयोग भएका भवनलाई मात्र समेट्थ्यो।
भयानक भूकम्पमा धरहरा ध्वस्त भएपछि भने आफूलाई त्यस्ता पूर्वाधारको विषयमा गरेको भए पनि हुनेरहेछ भन्ने लागेको उनी बताउँछन्। अन्त्यमा उनले भने, ‘चढ्न त चढिहालियो तर त्यस्तो संरचनामा अध्ययन अनुसन्धान नगरी ५० रुपैयाँको टिकट कटाएर सरकारले जनतालाई जोखिम तर्फ धकेलेकै हो।’