भूकम्पको विपत्तिले छुट्टिएका दम्पतीको पुनर्मिलन

0 7

बुङ्कोट ९गोरखा०, १९ वैशाख – विगत २५ वर्षदेखि आफ्नी श्रीमती थमकुमारी राना मगरसँग बोलचालसमेत नगरी छुट्टै बस्नुभएका गोरखा बुङ्कोटका ९३ वर्षीय फत्तबहादुर भूकम्पका कारण बस्दै आएको घर भत्किएपछि खुला आकाशमुनि आइपुग्नुभयो ।

 

श्रीमतीको पनि उस्तै हालत गरायो गत शनिबारको प्राकृतिक विपत्तिले । आफ्नै कारणले छुट्टाछुट्टै बस्दै आउनुभएका थापा दम्पतीलाई भूकम्पले खुला आकाशमुनि नै भए पनि एकैठाउँमा बस्ने वातावरण मिलाइदिएको छ । अढाइ दशकदेखि छुट्टिएका बूढाबूढी अहिले भत्किएको घर अगाडि बसेर दुःख सुखको बात गर्न थालेका छन् ।

 

भूकम्पले घरबास खोसिदिएपछि भग्नावशेष अगाडि २५ वर्षपछि सँगै भेटिनुभएका राना मगर दम्पतीले एकै स्वरमा भन्नुभयो, “विपत्तिले धेरैको ज्यान लगे पनि हाम्रो भने मिलन गराइदिएको छ । दुःखले खुसी ल्याए पनि घर छैन, खानेबस्ने चिन्तामा छौँ ।” भूकम्पको केन्द्रबिन्दुका रुपमा रहेको गोरखा जिल्लाका अधिकांश घर, गोेठ भत्किएका छन् । बस्नेखाने ठाउँ छैन । अन्नपात, धन सम्पत्ति भत्किएको घरको भग्नावशेषमा पुरिएको छ । मर्ने त मरिगए बाँच्नेहरुका लागि श्वास धान्न यतिखेर मुस्किल परेको छ ।

 

बुङ्कोटका ५०० घरमध्ये एकाध घरमात्रै बचेका छन् । बस्नका लागि पाल छैन । दिनभरि घाम लाग्दा रुखमुनि बस्न सकिन्छ तर राति पानी पर्दा बासको ठेगान छैन बुङ्कोटवासीको । सरकारी निकायले राहत सामग्रीका नाममा चारोमात्रै छरेको उनीहरुको आरोप छ ।

 

पहुँच भएकाहरुले सहज रुपमा राहत सामग्री पाए पनि निमुखाहरुले केही पाएका छैनन् । गाउँका अधिकांश युवा विदेश गएका छन् । भत्केका घर र तिनको संरचना पन्छाउने र पुनःनिर्माण गर्ने जनशक्तिको अभाव छ । राहतस्वरुप प्राप्त पाल दर्के पानी झेल्न नसक्ने खालका छन् भने एउटा वडालाई तीन वटा पाल दिइएको जानकारी दिँदै स्थानीय मधुकरराज वन्त मागअनुसारको पाल नआएका कारण वितरणमा समस्या भएको बताउनुहुन्छ ।

 

राहतको नाममा विभिन्न सङ्घसंस्थाले केही चाउचाउ र बिस्कुट ल्याएर तमासा गरिरहेको आरोप स्थानीयवासीको छ । “चाउचाउ र बिस्कुटले पेट भरिँदैन, पहिले बस्नका लागि त्रिपालको व्यवस्था गरियोस्, त्यसपछि खाद्यान्नको व्यवस्था होस् । राहतको नाममा प्रचार गराउनेहरु बुङ्कोट नआए हुन्छ ।” स्थानीय शुक्र श्रेष्ठले आक्रोश पोख्दै भन्नुभयो । पीडितले पैसा तिरेर पनि २० किलोभन्दा बढी चामल पाएका छैनन् ।

 

पिउने पानीको समस्या छ, पोल ढलेका र प्रसारण लाइनमा समस्या आएकाले मोबाइल चार्ज गर्न नसक्दा उद्धारका लागि आफन्तलाई बोलाउन नपाएको गुनासो गर्नुुहुन्छ अर्का पीडित लीला खनाल । गाउँघरमा विकासको लहर फैलिइसकेको थियो भूकम्पले त्यसलाई २०वर्ष पछाडि धकेलिदिएको छ । पुनःनिर्माण गर्न कम्तीमा पनि १० वर्ष बढी लाग्ने स्थानीयवासीको भनाइ छ ।

 

राहत सामग्री लिएर जानेहरु गाउँमा कुटिने समस्या बढेको छ भने मरेका चौपायाका कारण गाउँमा दुर्गन्ध फैलिएको छ । घर भत्किए पनि शौचालय भने बाँकी रहेकाले सरसफाइमा भने खासै समस्या छैन बुङ्कोटमा ।प्रहरी प्रशासनको भवन पनि भूकम्पले भत्काइदिएको छ । प्रहरीको भवन नहुँदा सरकारले प्रदान गरेको राहत सामग्री वितरणमा थप समस्या भएको छ ।

 

बुङ्कोट प्रहरी चौकीका प्रमुख होमनाथ अधिकारी स्थानीय जनतासँगै समस्यामा परेको गुनासो गर्नुहुन्छ । सरकारी निकायका रुपमा गाउँमा उपस्थित प्रहरी चौकी भत्किएपछि प्रहरीको नै उद्धार कसले गरिदिने हो प्रश्न खडा भएको छ । काठमाडौँमा महामारी फैलिन्छ भन्दै गाउँ पुगेकालाई स्थानीयले ‘पर्यटक गाउँ आए’ भन्दै व्यङ्ग्यसमेत गर्ने गरेका छन् ।

 

सदरमुकामबाट १० किलोमिटरको दूरीमा मात्रै रहेको बुङ्कोटमा दलित तथा अशिक्षितलाई भने राहत तथा उद्धारमा भेदभाव गरिएको साने नेपाली गुनासो गर्नुहुन्छ । दलित भएकै कारण आफूले राहत सामग्री नपाएको उहाँ बताउनुहुन्छ । राहत सामग्रीका लागि दिनभरि प्रहरी चौकीमा धाउँदा पनि राहत नपाएको बताउँदै नेत्रमाया थापा मगरले भन्नुभयो, “घरमा बूढाबूढीमात्रै छन् ।

 

श्रीमान् विदेशमा हुनुहुन्छ । विपद् सबैलाई परेको छ, तर महिला र कोही पनि घरमा नहुनेहरुका लागि भने समस्या परेको छ ।” जिल्लाको नामजुङ, घैरुङ, ताप्ले, आश्राङ, बोर्लाङ, ताप्लेका ९० प्रतिशत घर भत्किएका छन् । बारपाकलाई केन्द्रबिन्दु बनाएको भूकम्पका कारण महामारी फैलने जोखिम पनि बढेको छ । मरेका चौपाया जथाभावी फालिएका कारण गाउँ दुर्गन्धित भएको छ ।

 

मरेका चौपायाको व्यवस्थापन समस्या बनेकै छ त्योभन्दा बढी बाँचेकालाई बचाउन मुस्किल परेको स्थानीयको भनाइ छ । बूढीगण्डकीमा मरेका पशु चौपाया फालिएका कारण उक्त नदीको पानी पिउन अयोेग्य भएको छ ।

 

भूकम्पपछि कतिपय पुराना पानीका मूल सुकेका छन् भने कतै नयाँ मूल फुटेका छन् । भग्नावशेष उत्खनन गर्न र नयाँ घर बनाउनका लागि पनि श्रमिक नपाइँदा थप समस्या भएको तथा गाउँमा सामाजिक भावना हराएको छ । खुला आकाशमुनि बसिरहेकाको एउटै माग छ– बस्नका लागि पाल र खानका लागि चामल ।