आफ्नै घरको भग्नावशेषमा पराजित मेरो ‘पत्रकारिता’

0 3

सैनिक नियमअनुसार एकजना सिपाहीले आफ्नो घरमा परिवारका सबै सदस्य गुमाउँदा पनि युद्ध मैदान छाडेर घर जान मिल्दैन । पत्रकारितामा यस्तै परिभाषित नियम नभए पनि सामान्यतः पत्रकारहरुले समान पीडा भोगिरहेका परिवारको कथा आम सञ्चारमाध्यममार्फत जनतासमक्ष लैजानुपर्दा आफ्नो परिवारलाई होइन, अरुलाई स्थान दिनुपर्छ भनिन्छ ।

 

विनाशकारी भूकम्पबाट सम्पूर्णरुपमा नष्ट भएको आफ्नै जन्मघरको भग्नावशेषमा पुगेपछि मन थाम्न नसकेर थचक्कै बसेँ । जुन घरमा जन्मिएँ, हुर्किएँ, वाल्यकाल र किशोर वयका रमाइला दिनहरु बिताएँ, आज त्यही घर खण्डहरमा परिणत भएको छ ।

भूकम्प पीडितको समाचार खोज्न गएको, म आफैं समाचार बनेको थिएँ त्यहाँ । मलाई सधैं सधैं गर्व लाग्ने मेरा दुबै घर थिएनन् । सधैं एकै घरजस्तै भएर बसेका हाम्रो परिवारका ९ वटा घर इतिहासको गर्तमा पुगिसकेका थिए ।

पुतलीजस्तै छुनुमुनु गर्ने मेरी ६ वर्षकी भतिजी त्यही घरको भग्नावशेषमा सधैंका लागि विलीन भइसकेकी थिइन् । भग्नावशेषभित्र खनेर जीवित निकालिएका साना दुई नानीहरु मेरो काखमा लेपिँदा मभित्रको पत्रकार पराजित भएर उनीहरुका सामु भक्कानो छाडेर रुने निरीह अभिभावकको रुपमा खडा भएँ ।

जिल्ला र गाउँको पीडा लेख्न र दृष्यमा कैद गर्न रामेछाप पुगेको म, आफ्नै घरको भग्नावशेषमा निरुपाय भएर सुस्केरा हालेर बसेँ । आज साँच्चै नै मलाई एउटा मान्छेका लागि घर कति आत्मीय वस्तु हो भन्ने ज्ञात भयो ।

वास्तवमा घर ढुंगा माटोको निर्जीव संरचनामात्र होइन रहेछ । यो त मान्छेको भावनासँग गाँसिएको पि्रय बस्तु रहेछ, जसको अन्त्य निकै पीडादयायी हुँदोरहेछ । जीवनमा धेरै सपना देखियो, धेरजसो पूरा पनि भए । तर, यो घर मेरो सपना मात्र थिएन, सृष्टि पनि थियो ।

पासाबारका तामाङ बुबादेखि पिंगतीका सुनुवार दाइसम्म सबैजना गाविस भवनमा जम्मा भएका छन्, केही पाइन्छ कि भनेर ।

जुन घरका अगाडि पुगेपछि, दुई दिनको पैदल यात्राको थकाइ पनि केहीबेरलाई भाग्थ्यो र मन भित्रैबाट अपनत्वको भावगंगा बग्थ्यो । मेरा चारपुस्तालाई आश्रय दिएको घरको भग्नावशेषमा ७३ वर्ष पुगिसक्नुभएका मेरो बुबाले आँशुको थोपा झार्दा म असहाय छोराका रुपमा खडा भएको थिएँ ।

जीवनको उत्तरार्धमा पुगिसकेका जन्मदिने बुबा खरीको रुखमा आड लागेर वर्षे झरी झेलिरहनुभएको थियो । बुबाले भनेको अर्को कुराले म झनै बिचलित भएँ, उहाँ भन्दै हुनुहुन्थ्यो, गाँस नभए पनि दुई चार दिन बाँचिन्छ, तर बास नै पाइएन बाबु ।

परिवारका दर्जनौं सदस्य र सिंगो गाउँ विपत्तिमा परेका बेला काठमाडौं जाने मेरो आग्रह अस्वीकार गर्दै उल्टै काठमाडौंमा भएका उहाँका शाखा सन्तानलाई समेत गाउँमा ल्याएर गोठ बनाएर राख्न आग्रह गर्दा म अनुत्तरित बनेर राजधानी फर्किएँ ।
दशैंपछि हाम्रो नियमित तालिका थियो, वैशाख अन्तिम साता कुलपूजाका लागि दुरागाउँको घरमा जाने । तर, यो महाविपत्तिका कारण अचानक गाउँ पुग्दा मेरा प्रियजनहरु सबै रुखमुनि र खुला आकाशमुनि रात कटाउँदै थिए ।

धोबीमा गाडी राखेर भुर्सुवाको जंगलमा बडेमानका ढुंगा पन्छाउँदै चार घण्टाको पैदल हिँडेर गाउँमा पुग्दा सैंपू, दुरागाउँ, भुजी सबै गाउँमा घरहरु भग्नावशेषमा परिणत थिए । केही ठाडो भएका भवनहरु पनि बस्नयोग्य छैनन् । मेरो गाउँका ६ सय ५० घरधूरी मध्ये मुस्किलले ३०/३५ घर बस्न योग्य छन् ।

पासाबारका तामाङ बुबादेखि पिंगतीका सुनुवार दाइसम्म सबैजना गाविस भवनमा जम्मा भएका छन्, केही पाइन्छ कि भनेर । सर्वदलीय संयन्त्र बनाएर दलका स्थानीय कार्यकर्ता पनि जनताको पीडामा मल्हम लगाउन खटिएका छन्, जसका आफ्नै घर पनि भग्नावशेषमा परिणत भइसकेका छन् ।

तपाईले दया गरेर दिने एउटा पालले त्यो गाउँको एक नवजात शिशु र सुत्केरीको ज्यान बच्न सक्छ । यो बढाइ चढाइ वा भावनात्मक कुरा होइन, भूकम्प प्रभावित ग्रामिण वस्तीका जनताको साझा पीडा हो

भूकम्पको ६ दिनपछि १ सय थान पाल पुगेछ दुरागाउँका लागि । ६ सय परिवारले घर गुमाएका ठाउँमा एक सय पाल त छोप पनि नलाग्ने भयो । लामो छलफलपछि एक टोल एक पाल बाँड्ने सहमति गरेर उनीहरु पाल बोक्न ढाँडेबेसीको बसपार्कतिर लागेका छन् । अभावमा तनाव होइन, दुःख बाँड्न अभ्यस्त हुँदैछन् गाउँलेहरु ।

काठमाडौं शहरका मान्छेले दया गरेर आफूसँग भएका पाल, कम्बल र म्याट्रेसहरु गाउँका जनताका लागि बुझाइदिने हो भने, उनीहरुले कम्तिमा ओत लाग्ने ठाउँ पाउने थिए । एकपटक ती दूरदराजका मान्छेप्रति दया गरौं ।

सोच्नुस् तपाईले दया गरेर दिने एउटा पालले त्यो गाउँको एक नवजात शिशु र सुत्केरीको ज्यान बच्न सक्छ । यो बढाइ चढाइ वा भावनात्मक कुरा होइन, भूकम्प प्रभावित ग्रामिण वस्तीका जनताको साझा पीडा हो ।

एउटा पत्रकारको भूमिकामा बितेका १८ वर्षमा मैले धेरै आवाज विहीनको आवाज बोलेँ । मैले समाचार लेखेकै कारण कतिपय पीडित र आवाजविहीनले न्याय पाउँदा मलाई संसार जितेको महसुस हुन्थ्यो । तर, आज आफैं आवाजविहीन जस्तो अवस्थामा पुगेको छु ।

मैले चाहेर पनि मेरा गाउँलेलाई टाउको लुकाउने ओत दिन सकिँन । मैले चाहेर पनि मेरो बृद्ध बुबालाई न्यानो बास दिन सकिँन । जनताका पीडा सुन्न गएको म, आफैं पीडित भएर फर्किएँ । म यो असैह्य पीडाको क्षणमा सरकारलाई गाली गरेर आफ्नो कर्तव्य पूरा हुन्छ भन्नेमा पटक्कै छैन ।

हुनेले नहुनेलाई सघाउने र कम प्रभावितले बढी प्रभावितलाई साथ दिने हो भने हामी यो बिपत्तिको सामना गर्न सक्षम हुनेछौं । सरकारले आफ्नो काम गर्दै गर्ला ।

 -Source : Online Khabar