यी स्वयंसेवक जसले लाखौं रकम र सुनका गहना भेटेर फिर्ता दिए

0 56

काभ्रे दाप्चाका लामा परिवार काठमाडौंको गौरीघाटमा बस्छ। गत शनिबारको महाभूकम्पले उनीहरुको पुर्ख्यौली घर भत्कियो। सोमबार लामा परिवारका तीन सदस्य काभ्रे हानिए। घर रेखदेख गर्न हैन, आफ्ना पीडित गाउलेलाई राहात वितरण गर्न।

बाबु, आमा र दिदी काभ्रे गएपछि छोरा विक्रम घरमा एक्लै थिए। घरमा हात बाँधेर बस्न उनको पनि मन मानेको थिएन। आखिर परिवारको संस्कार हो, उनी पनि सहयोगी हात अघि बढाउन चाहन्थे। भूकम्पले क्षति ग्रस्त कुनै गाउँमा गएर स्वयंसेवकका रूपमा काम गर्न चाहन्थे।

भूकम्पको धक्का अझै गइरहेको थियो, भग्नावशेस अझै अस्थिर थिए। झरेर मानिसलाई चोट लाग्न सक्थ्यो। एक्लो छोरो विकासलाई भूकम्पग्रस्त क्षेत्रमा स्वयंसेवकका रूपमा काम गर्न जान दिन लामा परिवार हिच्किचायो। बिक्रमले सम्झाए, ‘म चनाखो भएर खटिने छु, तपाईहरुले पिर मान्नु पर्दैन।’

छोराको मायाले मात्र अल्झेको थियो, आफैं सहयोग र राहत बाड्न हिडेका लामा दम्पतिमा छोरो आपत्‌मा अरूलाई सहयोग गर्न नजावस भन्ने भावना थिएन।

उनीहरूले स्वीकृति दिए।

विक्रमले गौरीघाटभन्दा करिब दश किलोमिटर पूर्व साँखुमा भूकम्पले ठूलो क्षति पुर्‍याएको, तर त्यहाँ कुनै राहत वा स्वयंसेवक नपुगेको सुनेका थिए। उनको मनले साँखु जान भन्यो। साथीभाइले भने- बाहिरको मानिस साँखु जानुहुन्न, नौलो मानिसलाई भयभित गाउँलेले चोर भनेर पिट्छन रे।

साँखु जाने उनको मन अझै मरेन। तर, कसरी जाने मेसो पहिल्याउन पनि सकिरहेका थिएनन। नेपालीमा उखान छ, भगवानले भन्छन रे, ‘तँ चिता, म पुर्‍याउँछु।’

बिक्रमले साँचो मनले सोचेको कुरा भगवानले पुर्‍याईदिए। सोमबार राति उनका मित्र सुदर्शनले फेसबुकमा स्टाटस लेखेका थिए- हामी स्वयंसेवकका रूपमा साँखु जाँदैछौ, कोहि जाने भए आउनुहोस्। बिक्रम र सुदर्शनले धेरै अघि एउटा स्कुलमा सँगै पढाएका थिए।

२५ वर्ष पुग्नै लागेका सुदर्शन बजगाईँ स्काउटमा लागेको ६ वर्ष भयो। उनी ‘योङ्ग हर्ट ओपन क्रिउ’ कुमारीगालका लिडर हुन्।१७ वर्षकै उमेरदेखि सामाजिक काममा सक्रिय उनी उर्जावान युवा हुन्। उनको बोली, हसाई र हिडाईँमा त्यो उर्जा र शौर्य प्रष्ट देखिन्छ।

महाभूकम्प गएको दिन शनिबार पनि उनी साथीहरूसँग मिलेर स्वास्थ्य शिविर चलाउन सुन्दरीजल, चिलाउने पुगेका थिए। चिलाउने डाँडाबाट उपत्यकाको मनोरम दृश्य देखिन्छ। यो सुन्दर डाँडामा आङ खस्ने समस्या भएका महिलाको स्वास्थ्य जाँच भर्खरमात्र सुरू भएको थियो। पृथ्वी हल्लियो। वल्लोपल्लो डाँडाका रूख फनफनी बटारिए। चराचुरूंगी कराउँदै हावामा कावा खान थाले। केहीबेरमै नजिकैको गाउँ पहिरोले पुरियो। पुरै गाउँ नै सखाप भयो। जमिनबाट उठेको धुलोको मुस्लोले उपत्यका झ्याप्पै छोप्यो।

‘एकछिन त हामीलाई लाग्यो, आज उपत्यकाका सम्पूर्ण घर ध्वस्त भए,’ शुदर्शनले सुनाए।

चिलाउने डाँडो हल्लिन छोडेन। गाउँले आफ्ना-आफ्ना घरतिर दौडिए। शुदर्शनको टोली तल उत्रियो।

जताततै कोलाहल थियो। सुदर्शनले त्यतिबेलै सोचे–यसैका लागि त हामीले स्काउटको तालिम लिएको। उनले स्काउटका साथीभाइसँग सम्पर्क गरे। जो जहाँ छ त्यहीबाट परिचालित हुने कुरा भयो। भूकम्प गएको भोलिपल्ट उनीहरू स्काउटको केन्द्रीय कार्यालय पुगे। स्काउटको केन्द्रीय कोषमा तीन करोड जम्मा थियो। उनीहरूले त्यो कोषबाट केही सहयोग लिएर उद्दार र राहतमा जुट्ने सोचेका थिए। केन्द्रीय कार्यालयले उनीहरूको उत्साहमा भरथेग गरेन-जम्मा १० हजार निकासा दिन सकिने बतायो।

कमजोर इच्छा शक्ति भएकाहरू एक धक्कामा लड्खडाउँछन्, एउटै अवरोधबाट निराश हुन्छन्, शौर्यवानहरू निरन्तर अघि बढ्छन्। कसैले दिएको श्रोतले होइन, कर्मले उनीहरुलाई डोर्‍याउँछ। शुदर्शन र उनका साथीहरू केन्द्रीय कार्यालयको १० हजार रूपैयाँ सहयोगको ‘अफर’ अस्वीकार गरेर अघि बढे। सके अन्यत्रबाट सहयोग जुटाउने नसके आफ्नै बलबुतामा जे सकिन्छ त्यही गर्ने निर्णय गरे।

आफैंले केही सामग्री जुटाएर २ सय जना जति स्वयम्‌सेवक परिचालन गरे। भूकम्प गएको तेस्रो दिन उनीहरू साँखु पुगे। बिक्रमले पनि १० जना साथी भेला पारे र उनीहरू पनि स्काउटको स्काफ लगाएर त्यही समूहमा मिसिए। घाँटीमा बाँधिएको स्कार्फले स्थानीयमा विश्वास दियो-उनीहरू सहयोग नै गर्न आएका हुन्। स्थानीय चौकीका केही प्रहरी बाहेक त्यहाँ अरूको उपस्थिति नगन्य थियो। त्यतिञ्जेलसम्म साँखुमा चामल चिउरा आइसकेको थियो। उनीहरुले त्यो बाँड्न सहयोग गरे। घर भत्किएकालाई पाल टाँग्न सहयोग गरे। बाँचेकाहरुलाई सान्त्वना दिए।

नेवार बस्तीमा साँघुरो गल्लीको दुवैपट्टी बनेका धेरै घर भत्किएका थिए। मुख्य चूनौति, भाग्नावशेष पन्छाएर बाटो खुलाउनु थियो। आधा भत्किएका घर थप भत्किन सक्थे। खतरा मोलेर शुदर्शन, बिक्रम र उनीहरूका साथीले गल्लीका धेरै भाग्नावशेस पन्छाए।

घरभित्र पुरिएका शवहरू निकाले। पुरिएका मोटरसाइकल बाहिर झिके। परिवार सदस्य गुमाएका, घर भत्किएर र आत्तिएका मानिसलाई सहयोग गर्ने हामी छौं नि भनेर केही आस्वस्थ तुल्याए।

त्यसै क्रममा बिहीबार पुनः उनीहरू साँखु पुगेका थिए। त्यो दिनपनि उनीहरूले भत्किएका घर खोतले। भत्किएका घरका भग्नावशेष पल्टाउने क्रममा सुदर्शनले एउटा बाकस भेटे। त्यसभित्र प्राचीन मुद्राको खात थियो। सुनको गहना। कति मूल्यको थियो थाहा छैन, त्यसको उनलाई चासो पनि थिएन। उनलाई चासो थियो, त्यो बाकसको धनी पत्ता लागाएर फिर्ता दिने। उनले त्यो गरे।

त्यसैको पल्लो पट्टी अर्को घरको भग्नावशेष पन्छाउँदै थिए विक्रम। उनले प्लास्टिकको थैलो र बोरामा राखेका पैसा भेटे।

खोतल्न जानुभन्दा पहिले केही जानकारी नदिएका स्थानीयलाई यो पैसा कस्को हो भनेर सोधे। सुन र पैसा कसको भन्ने विषयमा सोधखोज गरेर उनीहरूले रकम सम्बन्धित मानिसलाई जिम्मा लगाए।

बज्राचार्य परिवार साँघुमा धेरै पहिलेदेखिनै सुन व्यवसाय गर्थ्यो। उनीहरू घरमै सुनचाँदी पसल सञ्चालन गर्थे। बजार र टाढाटाढा देखि आएका गाउलेलाई सुन धितोमा राखेर ऋण दिने गर्थे। त्यो पैसा अनिता वज्राचार्य र उनका पति रमिन वज्राचार्यको थियो।

बज्राचार्य परिवारको सँगै जोडिएका दुईवटै घर भत्किएर ध्वस्त भएका छन्। त्यो भाग्नावशेस भित्र अझै पनि उनीहरुको थुप्रै नगद र गरगहना पुरिएको छ।

‘यहाँ हाम्रो मात्र सम्पत्ति पुरिएको होइन, हामीले राखिदिएको सयौं साँखु र यस आसपासका मासिनको सुन पनि हाम्रै घरमा थियो’, अनिताले भनिन्,–‘मान्छेहरूको नियत पनि कस्तो कस्तो। हाम्रो घर पुरै भत्किएर सडकको बास भएको छ। हामीसँग आफ्नो सुन फिर्ता मग्न आइसके।’

घरको ठूलो ‘स्ल्याव’ले भग्नावशेषले थिचेकोले अब थप खोज्न डोजर वा क्रेनकै सहयोग चाहिन्छ। प्रहरीहरूले अहिले मानिस मात्र खोज्ने, सम्पत्ति पछि खोज्ने भनेका छन्। बज्राचार्य दम्पतिको बास भाग्नावशेष वरिपरी नै  छ।

‘पुरिएको पैसा र गहना भेटिएन भने त हामी बर्बाद हुन्छौं,’ रमिनले भने।

शनिबार शुदर्शन र बिक्रमसँगै साँखु पुगेका हामीले बज्राचार्य परिवारलाई सोध्यौं, ‘विक्रमले भेटाएर दिएको बोरामा कति पैसा थियो?’

रमिनले अन्कनाउदै भने, ‘६ लाख जति थियो।’

विक्रमको बुझाईमा त्यो बोरामा बिस-तिस लाख रुपैयाँ थियो। फोटोमा हेर्दा पनि त्यो रकम ६ लाख भन्दा धेरै नै देखिन्छ।

त्यो बोरामा कति रकम थियो भन्ने गौण बिषय हो। मूल कुरा, लाख त के त्यहाँ करोड बराबरकै रकम र गरगहना भएको भए पनि सुदर्शन र विक्रमले फर्काउने थिए। सवाल यहाँ उनीहरूको ईमानको हो, कर्मशीलताको हो।

उनीहरू आजपनि राहत वितरणमा खटिरहेका छन्। सेभेन समिटका ७ जना दिदीबहिनीले ३ सय बोरा चामल जुटाईदिएका छन्। भारतको म्याङ्लोर बसेका नेपालीले भेला गरेको दश लाख बराबरको सामग्री आज उनीहरुकँहा आइपुग्दैछ। त्यो सामग्री लिएर उनीहरु सिन्धुपाल्चोकको कुनै विकट गाउँमा जाने छन्।

गाडीमा सँगै फर्किँदै गर्दा शंकरदेवमा एमबिएम पढ्दै गरेका बिक्रम भन्दै थिए, ‘नेपाली युवाहरू आँफै स्वतन्त्र निर्णय लिन सक्दैनन्, किनभने उनीहरु सँधै बाबुआमाको नियन्त्रणमा हुर्किएका हुन्छन्। बाबुआमालाई आफूलाई मन परेको काम गर्न कन्भिन्स गर्न सक्दैनन्।’

त्यसो त सुदर्शन भूकम्पपछि तत्काल उद्धारमा खटिने भएपछि उनका बुबाआमाका मनमा पनि संशय थियो। उनले बुबाआमलाई सम्झाए, ‘स्काउटको तालिमले मलाई उद्धारमा खटिँदा आवश्यक परे ५-७ दिनसम्म पनि केही नखाई बाच्ने कला सिकाएको छ। बरू, तपाईहरू घरमा आफ्नो ख्याल गरेर बस्नुहोला।’

धेरै नेपाली बाबुआमाहरुको एउटा दोष छ। उनीहरुलाई लाग्छ, छोरा-छोरीले कोठामा बसेर किताव घोके पुग्छ। उनीहरूका लागि पढ्नु र सिक्नु भनेकै त्यति हो कितावले सैदान्तिक  ज्ञान दिन्छ। जीवन र जगतकोअनुभव र अनिभूति दिन्न। समाजमा सहज विचरण गर्न सक्ने, सहयोग लिन र दिन सक्ने नै पछि गएर कुशल र असल मानिस बन्ने हुन्।

फर्केर गौरीघाट आइपुग्ने बेलामा विक्रमले भने, ‘तपाईहरुले यो स्टोरी लेख्नु भयो, हाम्रो सन्देश युवाहरु माझ पुगोस्।’

हामी चाहान्छौ, यो सन्देश युवाहरूका अभिभावक माझ पनि पुगोस्।