अब ८०-९० वर्षलाई ठूलो भूकम्पबाट ढुक्क!

0 24

नेपालको ईतिहासमा ९० सालको (सन १९३४) महाभुकम्पको बारेमा हामीले सानैदेखि हजुर बा हजुरआमाहरुबाट सुन्दै आएका हौ। ९० सालको महाभुकम्प सँगै अर्को कुरा पनि आउँथ्यो। वि. सं १८९० साल (सन १८३३)मा पनि महाभुकम्प गएको थियो। हामीले पूरानो पुस्ताबाट सँधै सुन्दै आएका हौ। ‘काठमाडौंमा महाभुकम्प (८ रेक्टरस्केलको हाराहारीको) प्रत्येक १०० बर्षको अन्तरालमा जाने गर्छ।

इतिहाँस हेर्ने हो भने, सन १८०३ मा ७.५ रेक्टर स्केलको भुकम्प गढवालमा गएको थियो। त्यसको लगभग सय वर्षपछि गड्वाल भन्दा पश्चिम कांगडालाई केन्द्रबिन्दु बनाएर सन १९०५ मा ७.८ रेक्टर स्केलको भूकम्प गयो। पूर्वी नेपालको उदयपुरलाई केन्द्रविन्दु बनाएर सन १९३४ मा ८.४ रेक्टर स्केलको महाभुकम्प गयो। सन् १९५० मा असामलाई केन्द्रबिन्दु बनाएर ८.६ रेक्टर  स्केलको भूकम्प गएको भएपनि पश्चिम नेपालमा भने ठूलो भूकम्प नगएको लगभग ८० वर्ष भैसकेको थियो। त्यही भएर बैज्ञानिकहरुले पश्चिम नेपालको क्षेत्रमा लामो समयसम्म भूकम्प नगएको अर्थात ‘साईस्मिक ग्याप’ रहेको निर्क्यौल गरेका थिए।

यही कारण नेपालको पश्चिम क्षेत्रमा कुनै पनि बेला महाभुकम्प जान सक्ने पूर्वानुमान गरिएको थियो।

हिजो म घर अगाडिको बाटोमा हिँड्दै थिएँ। एक अधबैसे जोडीको कुराकानी मेरो कानमा ठोक्कियो। श्रीमान भन्दै थिए,‘अब ठूलो भुँईचालो आउँदैन’, उनकी श्रीमतीले त्यो कुरा मानिनन्। श्रीमानले भने,‘महाभुकम्प हाम्रो बाजेको पालामा आएको थियो, अब हाम्रो नातिको पालोमा मात्र आउँछ।’

ती व्यक्तिको बुझाईनै बैज्ञानिक र ऐतिहासिक तथ्यसँग मेल खान्छ।  नेपालमा अनुसन्धानरत भू-वैज्ञानिकहरुको राय पनि त्यही छ।

फ्रेन्च भू-वैंज्ञानिक लरेन्ट बोलिङगरको समूहले यो महाभुकम्प आउनुभन्दा तीन साता अगाडि नेपाल भौगर्भिक समाजको सातौं कंग्रेसमा आफ्नो शोध प्रस्तुत गरेका थिए।

पूर्वी नेपाल र पश्चिम नेपालमा उनीहरुको समूहले जमिनमा ट्रेन्च खनेर त्यसमा रहेको गोलको कार्बन डेटिङ गरेर त्यस क्षेत्रको दरारहरू कहिले चलेका थिए भन्ने पत्ता लगाएका थिए।

पूर्वी नेपालमा केन्द्र बिन्दु भएर गएको १९९० साल (सन १९३४) को महाभूकम्पको बेला चलायमान भएको धाँजा (थ्रस्ट) यस अगाडि सन १२५५ को बेला चलायमान भएको थियो। सन १२५५ गएको महाभुकम्पमा काठमाडौं उपत्यकाको जनसंख्याको एक चौथाई देखि एक तिहाईसम्मको ज्यान गएको अनुमान छ।

सन १२५५ मा पूर्व क्षेत्र चलायमान भएको ८९ वर्ष पछि सन १३४४ मा पोखरा र काठमाडौंबीचको भागमा रहेको धाँजा (थ्रष्ट) चलाएमान भएर अर्को महाभूकम्प गएको थियो। यो क्षेत्रमा अड्केर बसेको धाँजा एक ढेड दशक भित्र नै चलायमान हुने पूर्वानुमान थियो। यसरी लगभग ७०० वर्ष अगाडिको जस्तै प्रकारले पूर्वी धाँजा चलाएमान भएको ८१ वर्ष पछि पश्चिमी धाँजा चलायमान भएर यो महाभूकम्प आएको देखिन्छ।

यो वैज्ञानिक तत्थले के देखाउछ भने अब अर्को ८०-९० वर्ष सम्म काठमाडौंमा महाभूकम्प आउने छैन।

अहिले ७२ सालको भूकम्पको मुख्य धक्काले काठमाडौंको बरिपरीको लगभग १५० किलोमिटरको ब्यासमा १०० वटा भन्दा बढी ४ रेक्टर स्केल भन्दा ठूला पराकम्पन (आफ्टरशक्स)ले जम्मा भएर बसेको धेरै जसो शक्ती निस्तेज भएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार काठमाडौं उपत्यका नै ३ मिटर जति दक्षिण तिर सरेको छ।

यि सबै परिदृष्यहरुको निचोड के हो भने,  अर्को ठूलो भुकम्प जानको लागी फेरि धेरै वर्ष भारतीय प्लेट युरेशियन प्लेट भित्र धस्सिनु पर्छ, र ठाउँ ठाउँमा अड्किनु पर्छ। जति धेरै वर्ष सम्म यो चाल रोकिन्छ उति नै धेरै शक्ती सञ्चय हुन जान्छ र उति नै ठूलो भूकम्पको रूपमा बाहिर आउँछ। त्यसरी शक्ति सञ्चय हुन र अब काठमाडौंलाई असर गर्ने अर्को महाभूकम्प आउन अर्को ८०-९० वर्ष लाग्छ।

हामी अब निश्चिन्त भएर भबिश्यको पुस्ताका लागि काम गर्न सक्छौ। अहिलेको अनुभव र गल्तीहरूबाट पछिको पुस्तालाई सुरक्षित रहने गरि हामीले अहिलेदेखि नै गम्भीर भएर लाग्नुपर्छ।

अहिलेको महाभूकम्पले क्षति गरेको भवनहरूमा पुराना माटोको ईँटा भएका घरहरु र कमजोर निर्माण सामाग्रीको प्रयोग भएका घरहरु धेरै छन्। केही घरहरू बलियोसँग निर्माण भएको भएपनि जमिनको कमजोर अवस्थाले गर्दा ढलेका छन्। घरहरूको चौडाई उचाईको अनुपात २:३ हुनुपर्नेमा कम चौडाईमा बनाइएका घरहरु केही घरहरु पल्टिएका छन्। ठूला ठूला घरहरूका कंक्रिट फ्रेम संरचना ठीकसँग निर्माण भएपनि गाह्रो लगाउँदाको हेलचक्र्याईँले चर्केका छन्।

निर्माणको चरणमा हुनुपर्ने प्राविधिक निरीक्षणमा ब्यापक हेलचक्र्याई भएको प्रष्टै देखिन्छ। अहिले भत्केका र क्षति नपुगेका दुबै संरचनाले हामीलाई भबिष्यमा कम खर्चमा बलियो निर्माणको लागि आवश्यक शिक्षा दिएका छन्।

जापान र चीनमा एकै भूकम्पमा लाखौं मानिसहरू मरेको ईतिहास छ। तर अहिले उनीहरुले पाठ सिकेर बलिया संरचना, सचेतनाका उपाय र बलियो उद्दार तथा राहत कार्यक्रम सञ्चालन गर्ने गरेका छन्। ठूलो विपद्‌मा पनि सिमित मानिसहरूमात्र हताहत हुने अबस्थामा पुर्‍याएका छन्।

यो भुकम्पले अर्को पनि शिक्षा दिएको छ-धेरै मानिसहरु वैद्य/अवैद्य रूपमा आर्जेको करोडौंको घरबाट निस्केर लाखौंको गाडी चढ्दै सार्वजनिक चौरको पालमा शरण लिन पुगे। भौतिक सुखभन्दा माथि सुरक्षा, त्यो पनि ज्यानको सुरक्षा मानिसको माथिल्लो प्राथमिकतामा पर्दोरहेछ भन्ने सायद उनीहरुले बुझे होला। अब व्यक्ति आफू मात्र बनेर हुँदैन रहेछ, देशको प्रणाली बलियो चाहिने रहेछ भन्ने सोचे होला।

हाम्रो समाजमा आफू बचे अरुलाई जे सुकै होस् भन्ने मानसिकता छ। घर बनाउने ठेकेदारले सोध्छ,‘आफू बस्ने घर हो की बेच्ने?’ बेच्न बनाईएका घरहरुमा कमजोर निर्माण सामाग्री प्रयोग गरिन्छ। सिमेन्ट र डण्डीको कम प्रयोग हुन्छ। कंक्रिटमा भाईब्रेटर प्रयोग हुँदैन, किन कि यसको प्रयोगले साधनता बढ्ने हुँदा बढी निर्माण सामाग्री लाग्न जान्छ। आजको कमजोर निर्माण भोलिको पुस्ताको लागि मृत्युको धराप हो, हामीले आउने पुस्ताको लागि धराप बानाउँन दिनु पक्कै हुँदैन।

भुकम्पबाट सुरक्षित निर्माणको लागि नियम कानुन बनेको पनि छ। कति नगरपालिकाहरूमा कागजी रूपमा लागू पनि भएको छ,  तर पूर्ण पालना भएको छैन। नियम कानुन देखाउने दाँत र कसैलाई कमाउने माध्यम मात्र होईन, भोलिको पुस्तालाई सुरक्षित पार्ने उपाय हो, यसको पूर्ण पालना हुनुपर्छ। भुकम्पीय दृष्टीले सुरक्षित निर्माणमा हामीले हेलचक्र्यांई कदापी गर्नुहुँदैन। हामी बाच्यौं, भविष्यको पुस्तालाई जोखिममा नपार्ने गरि काम गर्नुपर्छ।

लेखक- भूगर्वविद् हुन्।