हामी थाकेका छौ, तर हारेका छैनौ!

0 33

मलाई क्षमा गर्नुहोला। संकटको यस घडीमा म दोषारोपणको रत्यौली खेल्न चाहन्नँ। राजनीतिक नेतृत्वसँग मात्र होइन, धेरै अन्यसित असहमति र गुनासाका सुसुप्त ज्वालामुखीहरू पालेर म पनि बसेको छु। तर, त्यसको हिसाब किताब प्रलयको यस घडिमा मिलाउन चाहन्नँ।

सिन्धुपलान्चोकबाट भर्खरै फर्केको छु। त्यहाँ जे देखेँ- मेरो टाउको अझै घुम्दै छ। चाहे सदरमुकाम चौताराको बजार होस् वा बाटोमा पर्ने साँगाचोक बस्ति वा भर्रे गाउँ अथवा स्याउले वा दूरदराजको कुनै अज्ञात ग्रामिण इलाका-व्यथा एउटै छ।

चौतारा बजारको तबाही देख्दा मैले २०४५ भदौमा देखेको धरान सम्झेँ। त्यसबेला देशको एक मात्र टेलिभिजनको जिम्मेवारी लिएर पुर्वाञ्चल पुग्दा पनि मेरो टाउको यसरी नै घुमेको थियो। झन्डै ९ सय मानिसले ज्यान गुमाएका थिए, त्यो महाकम्पनमा।

 ‘मलाई किचो! मलाई किचो’ भन्ने चित्कारहरू मेरो कानमा २७ वर्षपछि फेरि फर्किएका छन्। तर, यस पटक तबाहीको मात्रा कयौ गुणा धेरै छ। राहतका लागि प्राप्त अन्तर्राष्ट्रिय सहयोगको मात्रा र मिडिया कभरेज पनि अकल्पनीय बढी छ।

लक्का जवान थिएँ ऊ बेला धरान पुग्दा। दारी कपाल फुलिसके यसपटक चौतारा पुग्दा। धरान जाँदा म पत्रकारको रूपमा गएको थिएँ। सिन्धुपलान्चोक चाहिँ फूलहारी गुम्बाका तेन्जिङ दोर्जे र अन्य लामाहरूले आफ्नो गाँस काटेर जम्मा गरेको दालचामल, कम्बल र म्याट्रेस बोकेका तीन ट्रक गाडीसहित पुग्ने मौका मिल्यो।

उमेर बढ्दै जाँदा म थाकेको छु, देशको राजनीतिक हालतले मलाई झनै थकाएको छ। हो, म थाकेको छु, तर  हारेको छुइन। आज म बुँदागत रूपमा केही कुरा राख्न चाहन्छु। मेरा कुरामा तपाईको बिवेकले सत्यताको सानो अंश देखेछ भने मनन् गरिदिनु होला।

१- म भूकम्प प्रभावित कुनै एक गाउँलाई आफ्नो कर्मक्षेत्र बनाउने बाँचा गर्छु। म त्यो गाउँलाई राहत होइन आफ्नै खुट्टामा उभिन सक्ने स्वाबलम्बी गाउँमा परिणत गर्न आफ्नो सामर्थ लगाउने बचन दिन्छु। भूइँचालोको धुलोबाट उठेर पनि कुनै ठाउँ फेरि कसरी बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्ने अठोट गर्छु।

व्यवस्थापन लगायतका धेरै क्षेत्रमा मेरो अज्ञानता र सिप अभावले गर्दा म समान उद्धेश्य भएको कुनै अर्को व्यक्तिको नेतृत्वमा यो कार्यको आरम्भ गर्न चाहन्छु।

‘हर बिहेमा आफैं दुलाह हुनुपर्ने मानसिकता’ बाट नेपाली समाज मुक्त हुनैपर्छ भन्ने उदाहरण पेश गर्न यसपटक म अरू कसैको नेतृत्वमा काम गर्न चाहन्छु।

भत्केका घरको आँगनमा बोट रोपेर फल फलाउने उदाहरणमा सहभागी हुन चाहन्छु। म एक यस्तो कर्मवीरको खोजीमा छु, जसका विचार, यस विषयमा,  मसँग मिल्दाजुल्दा होऊन-जसलाई म सघाउन सकूँ।

आर्थिक कारणले मैले आजसम्म आफ्नो परिवारलाई भारत बाहेक कतै घुमाउन सकेको थिइनँ। विवाह गरेको यतिका वर्षपछि छोराछोरी र श्रीमति लिएर अर्को महिनामा थाइल्याण्ड घुम्ने खर्चको जोहो गरेको थिएँ।

हो, त्यही पैसालाई ‘बिऊ’ का रूपमा प्रयोग गरेर म भूइँचालोले चर्केको एउटा सानो गाऊलाई सुन्दर बाटीकाका रूपमा परिणत गर्न चाहन्छु। मेरो जीवनसाथी सुष्माको पनि यही चाहना छ। छोरी सारा र छोरा सारान्सले पनि यही चाहन्छन्। आमाको आशिर्वाद पनि यसैमा छ।

यो काममा सघाउने अरू हातहरू पनि आउलान् भन्ने मलाई भरोसा छ। ‘मानिसको उद्धेश्य पवित्र छ भने सघाउने हात आफसे आफ् आउँछन्’ भन्ने बचनमा मलाई विश्वास छ।

कोहि नआए, म एक्लै हिड्ने छु। जहाँसम्म सकिन्छ त्यहाँसम्म हिड्ने छु। पूरै गाउँलाई नसके दुई चार घरधुरीको पीडा कम गर्नेछु।

म कुनै ठूलो चमत्कारको कुरा गरिरहेको छैन। त्यो मेरो क्षमता बाहिरको कुरा हो। म त एउटा सामान्य गाउँ बनाउन सघाउने सपना मात्र देख्दै छु। यो निर्णय मैले कुनै भावावेशमा गरेको होइन। मलाई अनुभव छ, जसो जसो समय बित्दै जान्छ तसो तसो भावावेशमा आधारित अठोटहरूको घनत्व घट्दै जान्छ।

आजको मितिले ५ हप्ता भित्र म आफूले काम गर्न चाहेको गाउँको नाम र अन्य कुरा सार्वजनिक गर्नेछु। बिचको समय म यसै कामको लागि अध्ययन र अनुसन्धानमा बिताउने छु।

यो काम म अरू कसैका निम्ति होइन आफ्नै मनको खुसीका लागि गर्नेछु। गर्नसके मलाई सन्तोष हुनेछ। नसके, मैले कोशिस नै गरिन भन्ने आत्मग्लानी हुने छैन।

२- अब मेरो व्यक्तिगत अठोटलाई छाडेर केही सार्वजनिक विषयमा जान चाहन्छु। राहत कार्यमा धेरै कमि कमजोरी भएका छन्। धेरै ठाउँमा कुनै उद्दार कार्य र राहत पुगेकै छैन भन्ने कुरा पुरापूर सत्य हो।

तर, सत्य त्यति मात्र होइन। किनभने, यसै अवधिमा असंख्य सरकारी अधिकारी, सेना, प्रहरी, सशस्त्र प्रहरी,  स्थानीय मानिस र विभिन्न संघसस्था र कार्यकर्ताले अहोरात्र खटिएर उदाहरणीय काम गरेका छन् भन्ने विर्सनु पाप हुनेछ। अनगिन्ती यस्ता काम भएका छन् जसमाथि हामी गर्व गर्न सक्छौ।

हलुका, सस्ता र सजिला टिप्पणी गरेर यस्तो प्रतिकुल मौसममा पनि काम गर्ने मानिसको मनोबल नघटाऔं। सबैलाई एउटै घानमा हाल्ने सोलोडोलो नकारात्मक टिप्पणी नगरौं। यो त सारा देशको मनोबल बढाउँने समय हो।

ठुलठूला कुरा गर्नअघि, एक छिन सोचौं- के संकटको यस घडीमा हामीले कसैलाई दुई गेडा चामल वा एक गिलास पानी सहयोग गरेका छौ?

सहयोग गर्नैपर्छ भन्ने जरूरी छैन, सहयोग गर्नु एक स्वेच्छिक विषय हो। नगरे पनि हुन्छ। मन नलागे, नगरे पनि हुन्छ। नसके नगरे पनि हुन्छ। जबरजस्तिको कुरा होइन। आआफ्नो परिस्थिति र वातावरणको पनि कुरा हो। तर, जसले काम गरेका छन्, जो गर्दैछन् , तिनको मनोबल घटाउने दूषीत वायु नफैलाऊ।

हुन त यस्तो दुखद् घडिमा पनि पापको कमाइ खोज्ने केहि हरामखोर नभएका होइनन्। त्यस्ता पापीहरू पहिला पनि थिए र भोलि पनि हुनेछन्। त्यस्ता पापीलाई सप्रमाण ‘पिन प्वाइन्ट’ गरौ। तर, ईमान्दारी साथ रातोदिन खटिएकाहरूको मनोबल नखसालौ।

३- भूइँचालो आउनअघि पनि सुशील कोइराला एक ‘एक कान्तिहिन प्रधानमन्त्री हुन’ भन्ने धेरै सुनिएको हो। त्यो आरोप सत्य होइन भन्ने प्रमाणित गर्ने ठूलो अवसर र चुनौती कोइराला सामु आएको छ। यसका लागि उहाँले सबै मुख्य राजनीतिक दलहरूसँग तत्काल राहत र पुनर्स्थापनको मुद्दामा ‘एक सूत्रिय साझा मञ्च’ बनाउन अनिवार्य छ।

आजको निम्ति यो भन्दा बढ्ता भन्न चाहन्नँ। भित्तामा लेखिएको यो सन्देश सिधा प्रधानमन्त्री ज्यू कहाँ जस्ताको त्यस्तै पुर्‍याइदिन उहाँका सहयोगीलाई अनुरोध गर्छु।   त्यसैगरी अन्य नेताहरूलाई पनि सिधा भाषामा केही भन्नैपर्ने हुन्छ। के प्रचण्डजी वा बाबुरामजी वा ओलीजी वा माधवजी पार्टी विशेषका मात्र नेता हुन्?

राष्ट्रिय विपत्‌को यस घडीमा उहाँहरूले राष्ट्रिय नेताको दायित्व निर्वाह गर्नैपर्छ। मधेसवादी दलका नेताहरू पनि यही कर्तव्य हो।

सभ्य देशहरू संकट पर्दा एक हुन्छन्। अभागी समाजहरू संकटका बेला एक अर्कालाई दोषारोपण गर्छन्।

आजको विकट स्थितिमा देशका सबै गाउँ, शहर र बस्तिहरूमा स्पष्ट र बलियो सर्वदलीय सन्देश जाने गरी तत्काल निर्णय गर्न अनिवार्य छ। नेपाली जनताले पनि देखोस्-अरू बेला जे-जस्ता भए पनि राजनीतिक दल र तिनका कार्यकर्ता महाविपद्‌को बेला राजनीतिभन्दा माथि उठ्न सक्छन्। मलाई विश्वास छ, ईमानजमान भएका कार्यकर्ताहरू यो देशमा धेरै जिउँदै छन्।

मरेका मानिस, भत्केका घर, चर्केका मन र भोका पेट देख्दा देख्दै पनि समाजको नेतृत्व एकजुट हुन सक्दैन भने त्यो भन्दा दूर्भाग्यशाली कुरा के पो हुन सक्छ र? यहाँनेर म राजनीतिक नेतृत्वको कुरा मात्र गरिरहेको छैन। सामजिक र आर्थिक नेतृत्वको पनि कुरा गर्दैछु।

संकटको यस घडीमा आजको मितिसम्म नेपालका अधिकांश ठूला व्यापारिक घराना (खेतान समूह र केही एनआरएनजस्ता अपवाद बाहेक) ले जुन लोभिपन देखाएका छन्, त्यो शरमलाग्दो छ। पैसावालले बोल्दा रकम बोल्नुपर्छ, नकि उसको जिब्रे बकवास।

एक कुटनिज्ञले व्यंग्यसाथ भने, ‘नेपालमा सबैभन्दा धनी र सबैभन्दा लोभी मानिसहरूको दुई थरी लिष्ट बनाइयो भने त्यसमा पर्ने कयौं नाम साझा हुनेछन्!’

४- एउटा मुहार, अब कहिलै बिर्सन्नँ जीवनभरी। सिन्धुपलान्चोकको ग्रामिण भेगमा भेटिएकी ती बालिकाको हातमा लामाले पठाएको अलिकति खाद्य सामाग्री राख्दा  तिनले छक्क पर्दै सोधिन् ,‘किन दिएको ?’

 बुझ्दै जाँदा थाहा भयो, आजसम्म जीवनमा उनीहरूलाई कसैले केही दिएकै रहेनछ।

‘भूइँचालो आउँदा दिएनन् भन्ने कुनै गुनासो छैन। भूइँचालो नआउँदा कहिलै केहि दिएको भए पो आश गर्नू! माटोको घर थियो। भत्कियो। फेरि माटोले नै जोडौंला। ज्यान बाच्यो। यही लाख भो हामीलाई’ उनका आफन्तले भने।

***

२०४५ को भूकम्प पछि म केही दिन पूर्वाञ्चल बसे। नौसिखिया पत्रकार थिए। हेलिकप्टर चढेपछि एउटा थेगो बारम्बार कराइ कराइ प्रयोग गर्थे, ‘उतरी भेगका गाउँहरूमा राज्यको उपस्थिति नै छैन। राहत नै पुगेन।’

राहत नपुगेको कुरा सोरै आना सत्य थियो। तर, त्यसरी कराईरहँदा एउटा म कुरा बुझ पचाउँथेँ-जुन राज्य हिजोसम्म गाउँमा कहिलै पुगेन, आज भूइँचालो आउँदैमा एकाएक गाउँ गाउँ पुग्ने क्षमता राख्न सक्छ र?

गाउँ गाउँसम्म पुग्ने संरचना बनाएर राखेको भए पो मर्दापर्दा काम लाग्छ। अहिले पनि राहत सामाग्रीको थुप्रो लागेको छ। तर, समस्या समानुपातिक वितरणमा छ। आकस्मिक घटना पर्दा हामीसँग वितरण मेकानिज्मको ठूलो अभाव छ किनभने त्यो संयन्त्र भूइँचालो आउनु अघि निर्मित हुनुपर्छ।

भूइँचालो आउनभन्दा अघि कहिलै गाउँ नपसेको ‘अर्धनिर्मित नेपाली राज्य’, भुइँचालो आउँदैमा ‘दूरदराजका उत्तरी भेग’ तत्काल पस्ने क्षमता राख्न सक्दैन। यो साधारण कटु सत्य हो।

५- २०४५ को भूइँचालोमा म पूर्वाञ्चलका पालमा सुतेँ। यस पटक आफ्नै घरको चउरमा झुन्डाइएको त्रिपालमा रात काटेँ। प्रलय मानिसको हातमा छैन। तर, प्रलय आउनअघि र पछिका केहि कुरा मानिसको हातमा छन् पनि।

भूकम्पपछि सिन्धुपलान्चोक जाँदा आफू साथै गएको सारान्सलाई बाटोमा सुनाएको एक पुरानो प्रार्थना यहाँ दोहोर्‍राउन चाहन्छु:

हे परमात्मा!

मैले जुन कुरा बदल्न सक्दिनँ

ती कुरा स्वीकार गर्ने आत्मबोध देऊ

हे परमात्मा!

मैले जुन कुरा बदल्न सक्छु

ती कुरा बदल्ने साहस र शक्ति देऊ।

म के बदल्न सक्छु र  के परिवर्तन गर्न सक्दिनँ?

त्यो छुट्याउन सक्ने विवेक देऊ !!!

***

पाठक मित्रहरू! कयौ कुरा यस्ता छन् जो मेरो औकात, क्षमता, शीप र साधनभन्दा बाहिर छन्। तर मलाई लाग्छ, हामी भत्केको एउटा बस्तीमा काम गरेर कसैको दुःखमा सघाउन त सक्छौ नि।

कहिलेकाही प्रकृतिले अकल्पनीय ध्वंश मच्चाउन सक्छ। तर, जस्तोसुकै ध्वंशको धुलोमा पनि मानिसले फेरि सृजना गर्न सक्छ। म कोशिस गर्नेछु।

हामी थाकेका छौ तर हारेका छैनौ।