दिल्लीमा सिए पढिरहेका विद्यार्थी जिन्सी र नगद राहतसहित साँखुमा

0 12

भारतको नयाँदिल्लीमा चार्टर्ड एकान्टेन्ट (सिए) पढिरहेका केही विद्यार्थी नगद र जिन्सी सामाग्रीसहितको राहत सामाग्री लिएर महाभूकम्पबाट प्रभावित काठमाडौंको साँखु आईपुगेका छन्।

शनिबार गएको महाभूकम्पपछि नेपालमा ठूलो जीउधनको क्षति पुगेको समाचार प्रवाह हुनासाथ त्यहाँ सिए अध्ययनरत विद्यार्थीले ‘नेपाल भूकम्प राहत कोष’ खडा गरेका थिए।

नेपाली विद्यार्थीले आफैंले पढाईबाट जोगाएको पैसा र सहयोगी भारतीय नागरिकहरूबाट प्राप्त जिन्सी, औषधि र नगदसहित उनीहरू सिधै राजधानीको भूकम्प प्रभावित क्षेत्र साँखु आईपुगेका हुन्। राहत र नगद लिएर सिए अध्ययनरत ६ जना विद्यार्थी काठमाडौं आएका छन्। थप दश जना शुक्रबार नयाँ दिल्लीबाट काठमाडौंका लागि हिडेका छन्। उनीहरूको साथमा अल इन्डिया मेडिकल कलेजमा काम गर्ने दुईजना डाक्टर र नर्स पनि आएका छन्।

नेपालमा भूकम्प आएको थाहा पाएपछि राहत सामाग्री संकलन थालेका नेपाली विद्यार्थीलाई सिए वोर्ड र शिक्षक लगायत विभिन्न इन्ष्टिच्युसनहरूले पनि सहयोग गरेका छन्।

यतिसम्मकि सिएको परीक्षा सञ्चालन भइरहेको थियो। नेपाली विद्यार्थीका लागि भनेर उनीहरूको परीक्षा अनिश्चितकालसम्म स्थगित भएको छ। नयाँदिल्लीस्थित लक्ष्मीनगरमा झण्डै १५ हजार नेपाली विद्यार्थी अध्ययन गरिरहेका छन्।

दिल्लीमा ५० लाख बरावरको जिन्सी र २४ लाख नगद संकलन गरेको उनीहरूले बताए। संकलित नगदबाट पनि जिन्सीनै खरिद गरेर नेपाल ल्याईने उनीहरुको योजना छ।

‘यो राहत कम्ति दुःखले जम्मा गरेका होइनौं’, साँखुमा आइपुगेका ६ जना मध्येका विद्यार्थी विनोद बोगटीले भने,‘दिल्लीको गर्मी सडकमा पनि राहत संकलन गर्न नेपालीले मिहेनत गरेका छन्।’

नयाँदिल्लीमा संकलन भएको राहतसहित उनीहरू सोमबार काठमाडौं आईपुगेका हुन्। उनीहरुले विहीबारदेखि आफ्नै पहलमा राहत वितरणको काम थालेका छन्। साँखुपछि सिन्धुपाल्चोकका विकट गाउँ भोटेचौर जाने उनीहरूको योजना छ।

नयाँदिल्लीमा सिए अन्तिम वर्षमा अध्ययन गरिरहेका पदम भट्टराईले सेतोपाटीसँग भने, ‘यतिधेरै राहत सामाग्री जम्मा भएको छ, जुन लिएर आउनै कठिन भयो।’

अहिलेसम्म नयाँदिल्लीबाट राहत सामाग्री लिएर आउन कठिन भएको उनीहरुको गुनासो छ।

हवाई तथा स्थलमार्ग दुबैमा आफूहरूलाई सामान ल्याउन कठिनाई भरहेको उनीहरुले बताए। ‘भन्सार असहजताका कारण नेपाल सामान भित्र्याउन गाह्रो परेको छ’, भट्टराईले भने,–‘यदी नेपाल सरकारले स्थल या हवाई दुबै मार्गबाट आउने सामानमा भन्सार किचलो नगर्ने हो भने हामी नयाँ दिल्लीबाट जति पनि जिन्सी राहत सामाग्री लिएर आउन सक्छौं।’

साँखुका स्थानीयवासीसँग मिलेर राहत सामाग्री वितरण गरिरहेका वोगटीले भने, ‘नयाँदिल्लीमा एकै जना व्यापारीले ५ हजार थानसम्म कम्बल दिने कबोल गरेका छन्। तर, हामी नेपाल ल्याउन सक्छौं कि सक्दैनौं भन्ने अन्यौलमा छौं।’

साँखुमा राहत सामाग्री संकलनमा जुटिरहेका अर्का सिए अध्ययनरत विद्यार्थी दिलिप खनालले भने, ‘नेपालमा भूकम्प जाँदा हामी दिल्लीमा थियौं, हाम्रो मनले तत्काल राहत सामाग्री संकलनमा जुट्नुपर्छ भन्ने भएपछि हामी सबै काम छाडेर कोही राहत संकलनमा लाग्यौं, कोही उपलव्ध राहत लिएर काठमाडौं आयौं।’

‘मर्ने त मरिगए, बाचेकाहरूलाई त हामीले सहयोग नगरे कसले गर्ला भनेर हामी सबै काम र पढाई छाडेर आएका हौं’, खनालले भने।

सिए विद्यार्थीको अभियानबारे नयाँदिल्लीबाट रोहित नेपालले दिएको जानकारी अनुसार नेपालीलाई सघाउन यतिबेला ३ सय विद्यार्थी २४ सैं घण्टा खटिरहेका छन्। दिल्लीका चोक चोक या मेट्रो स्टेशनमा २० समूह सक्रिय रूपमा राहत तथा अर्थ संकलनमा जुटिरहेका छन्। दिल्लीमा राहतको संयोजनको जिम्मा सिए नागेन्द्र साहले सम्हालेका छन्।

आज पनि ३ ट्रक राहत सामाग्री लिएर काठमाडौं पठाइएको नेपालले नयाँदिल्लीबाट सेतोपाटीलाई बताए। साथै ५७ बक्स मेडिकल सामाग्री पनि हवाई जहाजमार्फत काठमाडौं आएको छ।

‘विदेशमा दुःख गरेर अध्ययन गरिरहेका विद्यार्थी भए पनि मातृभूमीलाई संकट पर्दा र हाम्रो दुःखभन्दा भूकम्पबाट बचेकाहरुको दुःख ठूलो भएकाले हामी यहाँ सक्रिय भएका हौं’, नेपालले भने,–‘देशलाई माया गछौं, देशबाट टाढा भए पनि देश मुटु मै छ।’