६ दिनसम्म पुरिएकी छोरीलाई निकाल्दै गर्दा मेरो ढुकढुकी बढिरहेको थियो, उनको मुटु चलिरहेको थियो

0 2

काठमाडौं, वैशाख १८— शनिबारको विनाशकारी भूकम्पका बेला दुर्गाबहादुर थापा बर्दियाको घरमा थिए । बर्दियामा त उनले थोरै मात्र धक्का महसुस गरे । त्यो सानो धक्काले देशभरि क्षति पुर्याएको होला भन्ने उनले सोचेकै थिएनन् । उनी ढुक्कले घरकै काममा व्यस्त भए । जब उनले रेडियो र टेलिभिजनका कुरा सुने, त्यसपछि भने उनी आत्तिए ।durga bhadur thapa

उनकी दाइकी छोरी रोजगारीका लागि तीन महिनाअघि काठमाडौं आएकी थिइन् । दाइकी छोरी भए पनि दुर्गाबहादुरले आफ्नै छोरीलाई जस्तै हुर्काएका थिए । जब दुर्गाबहादुरले टेलिभिजनमा भूकम्पले काठमाडौंमा क्षति पुर्याएको देखे, उनलाई छोरी कृष्णदेवीको चिन्ता भयो । उनले छोरीलाई फोन गरे तर सम्पर्क हुन सकेन ।

गाउँकै हिरा थापाले पाँच दिनपछि फोन गरेर मात्रै दुर्गाबहादुरले थाहा पाए, छोरी कृष्णदेवी जनसेवा गेस्ट हाउसमा पुरिएर रहेको खबर । गहभरि आँसु लिएर दुर्गाबहादुर बुधबारसाँझ काठमाडौंका लागि बस चढे । बिहीबार बिहान काठमाडौं ओर्लिएर गोंगबुस्थित भग्नावशेष गेस्टहाउस पुग्दा उनको आस मरिसकेको थियो । गोंगबु क्षेत्रमा उद्धारमा जुटेका नेपाली सेना, प्रहरी, विदेशी टोलीले लास झिकिरहेका थिए ।

jibit4

बिहीबार बिहानदेखिको अथाह प्रयासबाट जब उद्धार टोलीले राति ११ बजे कृष्णदेवीको जीवितै उद्धार गरे, दुर्गाबहादुरको खुसीको सीमा रहेन । उद्धार टोलीले भत्केर खण्डहर बनेको ठाउँबाट शरीर क्षतविक्षत भएकी कृष्णदेवीलाई पुरिएको झन्डै एक सय २७ घन्टापछि उद्धार गरेको थियो ।

कृष्णदेवीको अहिले सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ । ३८ वर्षीया कृष्णदेवीको एक छोरा एक छोरी छन् । दुर्गाबहादुरका अनुसार कृष्णदेवीका श्रीमान मलेसियामा छन् । तर, श्रीमानसँग कृष्णदेवीको सम्पर्क छैन ।

दाइकी छोरीलाई आफ्नै छोरी ठानेर पालेका दुर्गाबहादुर छोरीलाई ६ दिनपछि जीवितै पाउँदा खुसी छन् । भन्छन्, ‘उद्धार टोलीले निकाल्दा मेरो ढुकढुकी बढिरहेको थियो, उनको मुटु चलिरहेको थियो ।’

 

You might also like More from author