८१ वर्षीय पदम गुरुङ भन्छन्, परिवारले खोस्रेर ननिकालेको भए…

0 5

काठमाडौं वैशाख, १८– ‘म पिँढीमा थिएँ । नाति र बुहारी पनि पिँढीमै थिए । एकैचोटि घर हल्लियो । हेर्दाहेर्दै घर बेसरी हल्लियो र पिँढीमाथिको छानो खसिहाल्यो । हामी त्यही पुरियौँ । घरका बाँचेकाहरुले हामीलाई दुई घन्टापछि निकाले । थिचिएकाले मेरो छाती चस्केर दुखेको थियो । नातिको टाउको रगत बगिरहेको थियो । बुहारीको जिउभरि चोट थियो । दुई रात त्यसै पालमुनि कटायौँ,’ बारपाकका ८१ वर्षीय पदम गुरुङले भने । शनिबारको विनाशकारी भूकम्पले गोरखाको बारपाक गाउँका अधिकांश घर सखापै भएका छन् । थुप्रैले ज्यान गुमाएका छन् भने घाइतेको उपचार भइरहेको छ । पदम गुरुङको सातजनाको परिवारमध्ये तीन घाइते छन् । १० वर्षीय नाति र बुहारी पनि सँगै पुरिएका थिए । घरका बाँचेकाहरुले माटो खोसे्रर उनीहरुलाई बचाएका हुन् । पदमको परिवारलाई १४ वैशाखमा हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । उनीहरुको ओम हस्पिटलमा उपचार भइरहेको छ । ‘घर भत्केर ढुंगा–माटो छानोमाथि आयो । छानो छड्के–छड्के भएर बसेकाले हामी बेसरी पुरिएनौँ र बाँच्यौँ । मैले त सासै फेर्न सकेको थिइन् । पूरै गाउँ सखाप भएको थाह भएपछि अर्कै हिम्मत आयो,’ पदमले भने । भूकम्पले गोरखा आरुघाटमा पनि क्षति पुगेको छ । आरुघाटकी ५५ वर्षीया पार्वती श्रेष्ठको बायाँ खुट्टा तीन ठाउँबाट भाँचिएको छ । उनका छोरा सुनीलका अनुसार खाना खाइरहेका बेला भूकम्प आएपछि पार्वती भागिछन् । घरबाट बाहिरिँदै गर्दा घरको गाह्रोले उनलाई किचेछ । पार्वतीलाई १४ गते काठमाडौं ल्याइएको हो ।