तँपाइको घर बस्न लायक छ कि छैन, कसरी थाहा पाउने?

0 8

हाम्रा पुस्ताले अनुभव गरेको सबैभन्दा ठूलो विपत्तीले हजारौं सर्वसाधरणको ज्यान लियो। प्रभावित जिल्लाका लाखौं परिवार घरबारविहिन भएर आकाशमुनि शरण लिन बाध्य छन्। गाउँमा खेतबारी, चौर लगायत फराकिलो ठाउँ पाउन गाह्रो नहुने रहेछ।
पाल लगायत ओत पाए पनि नपाए पनि उनीहरू सानो सानो समूहमा बसेर बिपतसँग जुधीरहेका छन्। गाउँका बासिदासँग स्याउला, पत्कर लगायतको प्रयोग गरेर छाप्रो बनाउने सीप पनि हुन्छ।
काठमाडौं, पाटन, भक्तपुर, कीर्तिपूर लगायत उपत्यकाका नगर क्षेत्रमा जनघन्त्व व्यापक छ। खुला आकाशमुनि रात काट्नेहरुको एकै ठाउँमा ठूलो घुँइचो लागेको छ। खुला ठाउँ, चौर वा खाली जग्गामा सयौंको संख्यामा बसिरहेका मानिसले पानी, सरसफाई लगायत शौंचालयको समस्याको झन् बढी सामना गर्नु परिरहेको छ।
घर भत्किएर बस्नै नहुने अवस्थामा पुगेका मात्रै खुला ठाउँमा पालमुनि बसिरहेका छैनन्। भूकम्पको कुनै क्षति नपुर्‍याएको र सामान्य असर गरेपनि घर सुरक्षित नै रहेकाहरू पनि आश्रयस्थलमा छन्। आफ्नो घर बस्न लायक रहेकाहरूले घर फर्किन आँट गरे खुला ठाउँ होलो हुन्थ्यो।
सरकारलाई राहत वितरण गर्न सजिलो हुन्थ्यो। सयौं मानिसको भीडले निम्त्याउन सक्ने कुनै पनि संक्रमण वा जनस्वास्थ्यको सम्भावित जोखिम टर्थ्यो।
ढलान गरेर बनाएको आफ्नो घर वा डेरा बस्न सुरक्षित छ कि छैन भन्ने कसरी थाहाँ पाउने? तँपाईँको अप्राविधिक आँखाले पनि त्यसको परख गर्न सक्छ। त्यसपछि तपाईँले घर फर्कने आँट गर्न सक्नुहुन्छ।
पिलर सिस्टमको घरको अवस्था यस्तो भयो भने पूरा सुरक्षित
१. घर ठाडो अर्थात घन्टीमा हुनुपर्छ।
२. घरको पिलर र बीम नछुट्टिएको हुनुपर्छ।
३. पिलर र बिममा क्रयाक नआएको हुनुपर्छ
४. कुनै बरण्डा वा बल्कुनी क्रयाक नभएको हुनुपर्छ
(यसले घरको मजबुतीमा खासै असर गर्दैन। तर बरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ।)
५. पार्टेसन गारो चर्किदैमा खतरा हुँदैन
(पिलर सिस्टम घरमा यो गारोले छेकबारको काम मात्र गर्ने हो। ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ)
६. झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन।
७. यति ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो। अग्ला घरमा भुइतला वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ।
८. घरको पेटी वा पेटीभन्दा बाहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन
९. भूकम्पमा धक्का जारी रहेकाले अग्ला दराज, सोकेस सीसाको ठूला झ्यालढोकाबाट जोगिएर बस्नुहोला
वाल बियरिङ घर
१. घर ठाडो अर्थात घन्टीमा हुनुपर्यो
२. घरका सुरहरू घन्टीमा हनुपर्यो
३. गारेमा वारपार वा ठाडो क्र्याक आएको हुनुभएन
(उदाहरणको लागि कोठाको उचाई आठ फिट छ। त्यो आठ फिट गारो तलदेखि माथिसम्म वा धेरैभाग वारपार चर्किएको भए असुरक्षित हुन्छ)
४. झ्याल, ढोकाको चुकुल नलाग्दैमा डराउनु पर्दैन
५. कुनै बरण्डा वा बाल्कुनी क्रयाक हुनुभएन
(यसले घरको मजबुतीमा खासै असर गर्दैन। तर बरण्डा वा बाल्कुनी वा बार खसेर दुर्घटना हुनसक्छ।)
६. पार्टेसन गारो चर्किदैमा खतरा हुँदैन
(वाल बियरिङ घरमा पनि कतिपय गारोले छेकबारको काम मात्र गरेको हुन्छ। ठाडो चिराको उचाई लामो छ र गारोको दुवै भागमा नै चर्किएको छ भने त्यो गारो वरिपरि मात्र असुरक्षित हुन्छ)
७. यति ठूलो भूकम्पमा घरभित्र वा बाहिरको प्लाष्टर चर्किनु सामान्य हो। अग्ला घरमा भुइँतला वा पहिला तलामा प्लास्टर चर्किने सम्भावना बढी हुन्छ।
८. घरको पेटी वा पेटीभन्दा बाहिरी भाग चर्किएको वा छुट्टिदैमा डराउनु पर्दैन
९. भूकम्पमा धक्का जारी रहेकाले अग्ला दराज, सोकेस सीसाको ठूला झ्यालढोकाबाट जोगिएर बस्नुहोला
(शहरी विकास मन्त्रालयका पूर्व सचिव थापा सोसाइटी अफ नेप्लिज आर्टिटेक्टका अध्यक्ष हुन्)