देहरादुनबाट हामफालेका बाले सीमामा आएपछि थाहा पाए-छोरो जिवित रहेछ

0 2

उनी १५ दिन अघिमात्रै भारतको देहरादुन गएका थिए। देहरादुनको भारतीय सैनिक क्याम्पको मजदुरी नै ढाकावाङ– ६ अर्घाखाँचीका ५७ वर्षे थानेश्वर खनालको रोजीरोटीको माध्यम थियो। २७ वर्षदेखि मजदुरी गरेर उनले ४ भाइ छोराहरू हुर्काए। २ छोराको विहे गरे, २ जनाको बाँकि छ। हातगोडा चलेसम्म गर्दै आएको मजदुरी किन छोड्नु भनेर उनी १५ दिनअघि देहरादुन हिँडेका थिए।
उनले नेपालमा भुकम्प गएको शनिबार दिउँसो टिभी हेरेर थाहा पाए। भूकम्पले भारतभन्दा नेपालमा बढी क्षति गरेको थाहा पाएपछि नेपालका परिवारलाई फोन डायल गरे। घरमा फोन लाग्यो। खासै क्षति भएको रहेनछ। तर, दुबई जान भनेर काठमाडौं आएको माइला छोरा ऋषि खनालसँग सम्पर्क हुन सकेन। निरन्तर प्रयास गर्दा आइतबार बिहान फोनको घण्टी त गयो तर उठेन्। उनको मनमा चिसो पस्यो।
काठमाडौंमा भएका आफन्तले पनि ऋषिको पत्तो नलागेको बताएपछि उनी नेपाल आउन बस चढे। ‘लास भेटियो भने काजकिरिया गर्नुपर्ला भन्ने सोचेर हिँडेको थिएँ’ शिक्षण अस्पताल महाराजगञ्जको शैयामा छोराको कुरूवा बसेको खनालले सेतोपाटीसँग भने, ‘बाटोभरी केही सोच्नै सकिनँ। न आँखामा निद थियो, न पेटमा भोक।’
यता सयपत्री गेष्ट हाउस भत्किएर पुरिएका ऋषिलाई मंगलबार राति ११ बजे उद्धारकर्ताले जीवितै उद्धार गर्न सफल भए। खुट्टा च्यापिएर भत्किएको घरभित्र अड्किएका ऋषि ८४ घण्टासम्म पुरिएका थिए।
उनको उद्धार गरिएको खबर मिडियामा छायो। थानेश्वरले बुधबार बिहान महेन्द्रनगर पुगेपछि थाहा पाए, उनको माइलो छोरा बाँचेकै रहेछ। छोराको लास खोज्न हिँडेका उनीसँग त्यो खबरले दिएको खुसी वर्णन गर्ने उपयुक्त शब्द छैनन्। मुस्कुराउँदै हिन्दी लवजमा भने, ‘धरती र आशमान् उडेजस्तो लाग्यो।’
त्यसपछि घरबाट उनले कान्छा छोरालाई बोलाए। गोरूसिँगेमा बाबु छोराको भेट भयो। त्यहीँबाट काठमाडौं आए। बिहिबार बिहान शिक्षण अस्पतालको बेड नं ७०८ मा पल्टिएको छोरो देख्दा उनले आँसु थाम्न सकेनन्। बाबु देख्दा घाइते छोराको अनुहार उज्यालो भयो। छोराको उज्यालो अनुहार देखेपछि थानेश्वर आँखा छोपेर रून थाले।
वरिपरि भएकाले सोधे– के भयो, किन रोएको?
‘छोरालाई देखेर मेरा आँखाबाट नदी बग्न थाल्यो’, उनले भने। माइला छोरालाई उनी अरू छोराभन्दा बढी नै माया गर्छन्। सानैदेखि ऋषीलाई रगत जम्ने समस्या थियो। बुवाले उनलाई देहरादुनमा आफैंसँग राखेर उपचार गराए। ‘बिरामी भएकाले उसको अलि बढी नै माया लाग्थ्यो’, थानेश्वरले भने।
बिहेपछि पनि आमाबुवासँगै बसेका ऋषिको अस्ति सोमबार दुबईको फ्लाइट थियो। भर्खर ६ महिना पुगेको आफ्नो छोरोको भबिष्य बनाउन र आफूलाई धेरै माया गर्ने बुवाको सपना पूरा गर्न ऋषि केएफसी कम्पनीमा काम गर्न दुवई जान लागेका थिए। ‘मलाई केही नगरेपनि कमाएर छोराले आफ्नो भविष्य त बनाउला भन्ने लागेको थियो’, थानेश्वरले भने ‘ब्रतबन्ध, विहेबारी गरिदिएँ। यत्ति भएपछि बाबुको कर्तव्य लगभग सकियो भन्ने लागेको थियो।’
ऋषि ८४ घण्टासम्म घरमुनि बस्दा बेहोस भएनन्। उनको बायाँ खुट्टा थिचिएको थियो। वरिपरि अँध्यारो थियो। उनी घरिघरि हात यताउती चलाउँथे। त्यतिबेला उनको हातसँग अर्को मान्छेको हात ठोकिन्थ्यो। चिसो त्यो हात लासकै हो भन्ने उनलाई थाहा थियो। लाससँगै पुरिदाँ उनलाई डर लागेन। बाँच्छु र फेरि संसार देख्छु भन्ने पनि लागेकै थिएन।
तर श्वास रहून्झेल बाँच्न प्रयास सबैले गर्छन। उनले पनि गरे। रूमालमा पिसाब फेरे अनि त्यही रुमाल निचोरेर खाए।
पिसाबको साहारामा पनि उनको मुटु धड्किरह्यो। ८४ घण्टापछि बाहिरी संसार देख्दा उनलाई लाग्यो–आखिर पानी नखाएर पनि ८४ घण्टासम्म पनि बाँचिदो रै’छ!
आफ्नै पिसाब खाएर पनि उनी बाँचे। तर थिचिएको बाँया खुट्टा बचाउन सकेनन्। डाक्टरले घुँडाभन्दा तल काटिदिएका छन्। उनलाई बाँच्न संघर्ष गरेको त्यो ८४ घण्टाभन्दा एक खुट्टाको भरमा बाच्नु पर्ने अबका दिन कस्ता होलान् भन्ने पीरले सताइरहेको छ।
‘२७ वर्षकै उमेरमा एक खुट्टा छैन्, पढे लेखेको छैन, काम गरेर कसरी परिवार चलाउने होला भन्ने पीर लाग्छ’, उनले भने।
सामान्य हुँदा दुबई गएर पैसा कमाई घर व्यवहार चलाउने उनले बुनेको सपना शनिबारको भूकम्पसँगै भत्किएपछि उनले नयाँ जिन्दगीको नयाँ सपना पहिल्याउन सकेका छैनन्।
उता छोरो विदेश गएर जीवन धान्ने भयो भन्ने सोचेका थानेश्वरलाई छोराको बाँया खुट्टा देखेपछि लागेको छ– छोराप्रतिको मेरो कर्तव्य अझ थपिएर पो आयो! विपद्ले थपेको बाबुको कर्तव्य कसरी पूरा गर्ने? उनले सोचिसकेका छैनन्। हामीतिर पुलुक्क हेरेर उनले सोधे– कसैले हामीलाई सहयोग गर्छ र?