भैरवनाथगण छेउको भवन ढल्दा चार अधिकृत र एक जर्नेलपत्नीको ज्यान गयो

0 4

काठमाडौं, वैशाख १७ – नेपाली सेनाको भैरवनाथ गणनजिकै एक कर कार्यालय थियो । शनिबार पनि कार्यालयको बाँकी काम सिध्याउन भन्दै चार करअधिकृत कार्यालय पुगेका थिए । काम गरिरहेकै बेला भूकम्पले कार्यालय ढलेपछि चारै अधिकृतको मृत्यु भएको छ । कार्यालयभन्दा तलको भुँईतलामा अलइज्वेल नामक क्याफे थियो । भूकम्प आएको केही मिनेट अगाडिमात्र कर कार्यालयमा चिया पु¥याएर फर्केका क्याफेका एक स्टाफले भने, ‘करमा तीनजना सर र एक म्याडम हुुनुहुन्थ्यो ।’ अलइज्वेलमा कार्यरत अर्का स्टाफ पुण्य खरेल भन्छन्, ‘भाष्कर शाह, कमला तिमल्सिना, मुक्ति र विजय सर अफिस आएको देखेको थिएँ ।’ सोही घरले किचेर एक सैन्य जर्नेलकी श्रीमतीको पनि ज्यान गएको छ । भूकम्प आएका बेला जर्नेलपत्नीको गाडी अलईज्वेल क्याफेअगाडि पुगेको थियो । सम्भवतः उनी भैरवनाथ गणतिर जाँदै थिइन् । क्याफेअगाडि पुग्दा भूकम्प आएपछि क्पाफेका स्टाफ भाग्न थाले । सडकमा दौडन थालेका क्याफेका स्टाफलाई बचाउन सायद जर्नेलपत्नीको ड्राईभरले कार रोके । ‘भूकम्प आएको भन्ने थाहा पाएपछि ड्राइभर निस्केर भागे, ती आन्टी निकै मोटी भएकाले निस्कन सकिनन्, उनलाई अचानक ढलेको घरले गाडीभित्रै पुरेको हामीले देख्यौँ,’ क्याफेका स्टाफ पुण्य खरेलले भने । क्याफेमा रहेका पाँच स्टाफ भने भागेर बाँच्न सफल भएका छन् । खरेल भन्छन्, ‘हाम्रो क्याफेमा रहेका ग्राहक पनि हामीसँगै भागेर बाँच्न सफल भए ।’ घर ढलेको दुई दिनपछि भारतीय उद्धार टोलीले महाराजगन्जको सो भवनबाट अधिकृत र जर्नेलपत्नीको शव निकालेको थियो