भूकम्पले कीर्तिपुर तहसनहस, राहत नपाएकाे भन्दै अाक्राेशित

0 4

१५ वैशाख, काठमाडौ । शनिवार गएको भूकम्पबाट काठमाडौको कीर्तिपुर नगरपालिकामा मात्रै ३३ जनाको मृत्यु भएको छ । भूकम्पले ३५ घर पूर्णरुपमा ध्वस्त भएको छ ।

कीर्तिपुर नगरपालिकामध्ये सबैभन्दा बढी इटागोल टोलमा क्षति भएको छ । इटागोलका अधिकांश भवनहरु ध्वस्त भएका छन् । कीर्तिपुर नगरपालिकाको इटागोलका साथै माथ्लो गुठ, लनगोल, चिगाउँ, पाँगा, नगाउँ बढी प्रभावित छन् ।
kirtipur-1
राहत स्वरूप सशस्त्रकाे पाल

प्रभावित केही क्षेत्रमा सशस्त्र प्रहरीले अस्थायी छाप्रोका लागि पाल वितरण गरेको छ । तर सशस्त्र प्रहरीले उपलब्ध गराएको पाल पनि अपुग गरेको भूकम्पपीडितहरु बताउँछन् ।

यतिठूलो जनधनको क्षति हुँदासमेत राहतका लागि कुनै पहल हुन नसकेको भन्दै कीर्तिपुरबासी रुष्ट बनेका छन् । कीर्तिपुरको प्रभावित क्षेत्रहरुमा अझै राहत पुग्न नसकेको पाँगाका स्थानीय सचिरनन्द महर्जनले बताए ।

चारदिन बितिसक्दा पनि राज्यले राहत उपलब्ध नगराएको भन्दै माथ्लो गुठ निवासी गुठी संस्थानका पूर्व अध्यक्ष पञ्चलाल महर्जनले आक्रोश ब्यक्त गरे ।

भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण कार्य भइरहेको बताइए पनि वास्तविक पीडितसम्म नपुगेको इटागोलका अर्जुन महर्जनले गुनासो गरे ।

kirtipur-4विपत सहयोग समिति गठन

पीडित परिवारलाई यथाशक्य राहतको लागि पहल गर्न कीर्तिपुर नगरपालिका वडा नम्बर १८ मा विपत सहयोग समिति गठन गरिएको छ । वडा सचिव ज्ञानेन्द्रमान महर्जनको संयोजकत्वमा मंगलबार ११ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा अर्जुन महर्जन, उपेश महर्जन, विकास महर्जन, अनिल महर्जन, एलिना माली, राजकुमार माली, लक्ष्मी काफ्ले, माधव कटुवाल, रुपा कटुवाल र इन्द्र माली रहेका छन् ।