हल्लाको पछि नलाग्न र सामान्य जीवनमा फर्कन सरकारको आग्रह

0 4

१४ वैशाख, काठमाडौं । भूकम्पको डरले चौरीमा बसिरहेका नागरिकलाई आ-आफ्नो घर सद्दे अवस्थामा भए घरभित्रै बसिदिन सरकारले आग्रह गरेको छ ।

मुख्यसचिव लीलामणि पौडेलले सोमबार पत्रकारसँग कुरा गर्दै अब घरभित्रै गएर बसिदिन आग्रह गरेका हुन् । भूकम्प आउन लागेको हल्ला निराधार रहेको भन्दै पौडेलले हल्लाका पछाडि नलाग्न आग्रह गरे ।

काठमाडौंमा विदेशी मिडियाको हवाला दिँदै यस्तो हल्ला फिँजाइएको भन्दै पौडेलले यस्तो हल्लाका पछाडि नलाग्न अनुरोध गरेका छन् ।

खानेपानी उत्पादन गर्ने, विजुल बिनाउने र गाडी चलाउनेहरु पनि सडकमा आएकाले समस्या भएको भन्दै मुख्यसचिव पौडेलले उनीहरुलाई आफ्नो काममा र्फकन आग्रह गरे ।

यसैवीच सरकारले यातायात व्यवसायीहरुलाई नाफामात्रै नहेरी यातायात सञ्चालन गरिदिन आग्रह गरेको छ ।

प्राविधिक बाहेक अन्यमा विदेशीलाई नबोलाइने

भूकम्पपीडितको उद्दारका नाममा यतिबेला भारत, चीन र अमेरिकाबाट सैनिक एवं गैरसैनिक टोली काठमाडौंमा केन्दि्रत भइरहेका बेला मुख्य सचिव पौडेलले घरमा च्यापिएकाहरुलाई निकाल्ने प्राविधिक टोलीबाहेक अन्य कार्यमा विदेशीलाई नखटाइने स्पष्ट पारे ।

तर, विदेशीले दिएको राहत भने नेपाल सरकारले ग्रहण गर्ने र आफ्नै पहलकदमीमा वितरण गर्ने मुख्य सचिवले स्पष्ट पारेका छन् ।

भवनमा पुरिएकाहरुलाई जीवितै उद्दार गर्न सकिन्छ कि भनेर विदेशी प्रविधिको सहायता प्रयोग भइरहेको पौडेलले बताए ।
नेपाल सरकारका सचिवहरुको बैठकले सर्जन, हाड जोर्नी र नशाको विशेषज्ञबाहेक अन्य विदेशी डाक्टरहरको टोलीमात्रै पठाउन विदेशीलाई सरकारले आग्रह गरेको छ ।

हेलिकोप्टर प्रयोगमा कमजोरी भयो

भूकम्पपीडितको उद्दारमा सरकारले हेलिकोप्टर प्रयोगमा कञ्जुस्याइँ गरेकोबारे सोधिएको प्रश्नमा पौडेलले भने-‘हेलीकोप्टर प्रयोगमा कमजोरी भयो, सोमबार बिहानैबाट हेलिकोप्टर खटाइएको छ, जिल्लामा राहत पुर्‍याउने र पीडितको उद्दार गर्ने कार्यमा हेलिकोप्टरको प्रयोग भइरहेको छ ।’

हेलिकोप्टरको माग भएजति आपूर्ति गर्न नसकिएको पौडेलले बताए । उनले टेन्ट लगायतका सामाग्रीहरुको अभाव भइरहेको बताए । अत्यन्तै ठूलो क्षति भएको र साधनको सीमितता आएकाले समस्या आएको उनले बताए ।

७ जिल्लामा विशेष उद्दार

सरकारले ७ वटा जिल्लालाई गम्भीर क्षति भएका जिल्ला अन्तरगत राखेर हेलिकोप्टर परिचालन गरेको मुख्यसचिव पौडेलले बताए । ती जिल्लामा गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र ललितपुर जिल्ला रहेका छन् ।

 स्वास्थ्यमा ख्याल गर्न आग्रह
सरकारले उद्दार शिविरहरुमा स्वास्थ्यको ख्याल गर्न र महामाराी फैलन नदिन सबैमा आग्रह गरेको छ । यसका लागि जनचेतना जगाउने र स्वास्थ्य टोली परिचालन गर्ने सरकारले निर्णय गरेको छ ।