धरहराले ४५ मिनेटसम्म थिचिएर बाँचेपछि ….

0 2

सँधै झै मेरो आफ्नो कामले शनिवार घर बाहिर निस्केँ । धरहरा पछाडि खिचापोखरी जाने बाटोमा रहेको हवल्दार पान भण्डारमा जानु पर्ने काम थियो । म १२ बजे पान पसलमा पुगेँ । मोटरसाइकल पसल अगाडि राखेर म पसलमा छिरे । केही बेरमा नै हलचल हुन थाल्यो ।

Dharma-subediमानिसहरु भूइचालो भन्दै कराउन थाले । पसले ६५ बषिर्य हवल्दार अंकल र म के गर्ने कसो गर्ने भनेर अतालिल्यौं । नजिकै एउटा पर्खाल देख्यौं र उतै टाँसिन पुगेछौं । भूईचालोको कम्पन बढिरहेको थियो । एक्कासी आँखा धरहरातिर पुग्यो । धरहरा त बाँसको टुप्पो हल्लिएजस्तो बेस्सरी मच्चिरहेको थियो ।

अब लाग्न थाल्यो यो धरहरा कता ढल्ने हो । हेर्दाहेर्दै धरहरा त हामीतिर पो आउन थाल्यो । होस हवास उडेछ । केही छिनमा त्यही धरहराको टुप्पोले हामीलाई पुरिसकेको थियो । भित्र थोरै उज्यालो चै थियो । कहाँबाट त्यो उज्यालो आएको हो थाहा भएन तर, मेरो टाउको र हात चलाउन सक्ने अवस्थामा रहेछु । अब कसरी निस्कने भन्दा पनि तत्काल चै मरिएन भन्ने लाग्यो । हवल्दार अंकल र मसँगै थियौ । उनी बोल्ने अवस्थामा थिएनन् तर मैले हेर्दा सास फेर्दै गरेको देखेँ । उनी पनि बाँचेका रहेछन् भन्ने मलाई लाग्यो ।

म धरहराले पुरिएको थिएँ । त्यसै बेला श्रीमतीको फोन आयो । मैले म ठीक छु भने । मेरो अवस्थाको बारेमा भन्न उचित लागेन । आफु बाँच्छु वा मर्छु दोधारमा थिएँ । घरमा धेरै पीर गर्लान भन्ने लागेर मैले वास्तविकता भनिन । तर, विराटनगरमा रहेका तुल्सी दाजुलाई फोन गरेँ । मेरो वास्तविकता दाजुलाई सुनाएँ । तर, कसैलाई खवर नगर्नु है भने । त्यतिबेलासम्म पुरिएकै अवस्था थियो । फेरि दोश्रो पटक भुँइचालो जाँदा अव चै बाँचिदैन जस्तो लाग्यो तर आत्मबल चै घटेको थिएन ।

म चिच्याउन थाले । बाहिरको कल्याङकुलुङ आवाज मैले सुनिरहेको थिएँ । तर, मेरो आवाज बाहिर सुनिएको थियो या थिएन थाहा भएन । हामी टाँसिएको पर्खालले थिचिरहेको थियो । पर्खाललाई ढाडले म एक्लैले थेगिरहेको थिएँ । मानिसहरु नजिकै नजिकै आइरहेका थिए । म चिच्याइरहेको थिएँ । मैले पर्खाल हल्लाएँ । त्यसपछि त्यहाँ मान्छे रहेछ भन्ने पत्ता लगाएर पर्खाल फुटाउन थाले ।

झण्डै ४५ मिनेट पछि मलाई त्यहाँबाट उद्धार गरियो । मरेर पनि बाँचेजस्तो लाग्यो । अब पुर्नजन्म पाएँ भन्ने भयो । अनि म मात्र होइन अरुलाई पनि बचाउनु पर्छ भनेर जुट्न थालेँ । मसँगै रहेका अंकललाई निकाल्न म आफैं लागेँ, उनलाई ठूलो चोट लागेको रहेनछ । नजिकै अर्का युवा थिए उसलाई पनि निकाले ।

त्यतिबेलासम्म उद्धारका लागि धेरै मान्छे आएका थिएनन् । स्थानियहरु मात्र जुटेका थिए । बाहिर निस्कदाँ प्रहरीहरु सहयोगका लागि आइरहेका मात्र थिए । मेरो टाउकोमा सामान्य चोट मात्र लागेछ तर धुलोले म नचिनिने अवस्थामा थिएँ । तर, धरहरामा धेरै मानिसको आवतजावत गरेको मैलै पहिलै जाँदा नै देखेको थिएँ । धेरै हताहत भयो भन्ने चै लाग्यो तर चिच्याएको र कराएको भने मैले सुनिन ।

मैले श्रीमतीलाई फोन गरेँ, अनि आफ्नो वास्तविकता सुनाएँ । घरमा रुवावासी शुरु भइहाल्यो । म बाँचे, अव चिन्ता गर्नु पर्दैन भनेर तत्काल घर आइहाल्छु भने । बल्ल होस आयो मेरो मोटरसाइकल खोई ? हेर्दा त पुरै पुरिएको रहेछ । मान्छे त बालबाल बाँचियो, मोटरसाइकलको के चिन्ता भनेर जतिसक्दो छिटो घर आउनका लागि हिडेँ । तर, सवारी साधान केही पाइएन ।
सिंहदरवारसम्म हिँडेर आएँ अनि ट्याक्सीमा पुरानो वानेश्वर कोठा आइपुगेँ । जब घर पुगेँ छिमेकीसहित सबै बाहिर बसेर मेरो प्रतिक्षामा गरिरहेका रहेछन् । मलाई देख्ने वित्तिकै चकित भए । म चिनिने अवस्थामा थिइन । मृत्युलाई जितेर आएको भन्दै मलाई सगुन खुवाएर अविर लगाइदिए ।

अनि पो मलाई डर लाग्यो मृत्युको मुखमा पुगेर पनि बाँचेछु भनेर ।