सुतिरहेका पाँच पाहुनामाथि खुकुरी प्रहार

0 9
रौतहट : पाहुना आएका पाँचजना आफन्तलाई खुकुरीले काटेर घाइते बनाई एक व्यक्ति फरार भएका छन् ।

चन्द्रपुर नपा–१० सन्तपुरका ५८ वर्षीय कृष्णबहादुर सापकोटाले आफ्नै साला र साढुभाइको छोरालाई काटेर फरार भएका हुन ।

बिहीबार ब्रतबन्ध सकेर पाँचैजना एकै ठाउँमा राती सुतेका थिए । सापकोटाले सुतेकै ठाउँमा  साला विनोद बजगाइँका छोरा १७ वर्षीया ऋषि र १८ वर्षीया सन्जु बजागाइँ तथा अर्का साला लक्ष्मी बजगाइँका छोरा १५ वर्षीय सागर बजगाइँ, साढुभाइ अमरेश पाण्डेका छोरा १७ वर्षीय अरुण पाण्डे र १५ वर्षीय सुरज पाण्डेलाई गर्दन, पाखुरा र हातमा काटेका छन ।

राती दुई बजे सुतेकै ठाउँमा आएर एक्कसी खुकरीले हानेको घाइते सन्जु बजगाइँले बताए । सबैजना निदाएकाले प्रतिकार गर्न नसकेको उनको भनाइ छ ।

घाइते सागर, अमन र सुरज गम्भीर रहेकाले उपचारका लागि चितवन लगिएको छ । ऋषि र सन्जुको चन्द्रनिगाहपुरमा उपचार भैरहेको छ ।

पाँचैजना किशोरहरुलाई काटेपछि सापकोटा खुकुरी फालेर फरार भएका छन । घाइतेहरुको बिहीबार सापकोटाको घरमा ब्रतवन्ध गरिएको थियो ।

घटना हुँदैगर्दा छिमेकी राजु पराजुलीले खबर गर्दा जिल्ला प्रहरी कार्यालयबाट तत्काल प्रहरी नआएको गुनासो गरे । इलाका प्रहरी कार्यालयका प्रमुख नेत्रमणि गिरीले सूचना पाएलगत्तै घटनास्थलमा प्रहरी खटाएको बताए । फरार सापकोटाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

-Source : Annapurna