‘भद्रगोल’ आजबाट प्रशारण हुने

0 10

काठमाडौं । छोटो समयमा लोकप्रिय बनेको हाँस्य टेलिश्रृंखला भद्रगोल आजबाट प्रशारण हुने भएको छ । मिडिया हबले नेपाल टेलिभिजनबाट प्रशारण गर्दै आएको भद्रगोल विभिन्न कारणले प्रशारण हुन सकेको थिएन । ‘आजबाट अब प्रशारण हुन्छ’, मिडिया हबका प्रमुख सोम धितालले भने–‘यो टेण्डर प्रक्रियाका कारण बीचमा भद्रगोल र जिरे खुर्सानी रोकिएको थियो, भद्रगोल आजबाट र सोमबारबाट जिरे खुर्सानी प्रशारण हुन्छ ।’ ‘लामो समय प्रशारण गर्न नपाएकोमा दुःखी थियौं’, भद्रगोलका निर्माता सुवास कार्कीले भने–‘सबै विवाद मिलेको छ, अब निरन्तरता हुन्छ ।’ भद्रगोलका निर्देशक शंकर आचार्यले बीचमा कार्यक्रम रोकिएका कारण दर्शकमा निराशा छाएको भन्दै अब निराशालाई समेट्ने गरि कार्यक्रम निर्माण तथा प्रशारण गरिने बताए । ‘टेलिभिजनसँगको विवाद सकिएको छ’, हाँस्य कलाकार तथा जिरे खुर्सानीका निर्देशक जितु नेपालल भने–‘अब मिडिया हबसँगको काम बाँकी छ, सायद सोमबारबाटै जिरे खुर्सानी प्रशारण हुन्छ ।’ प्रशारण सुरु भएदेखि नै मिडिया हबले नेपाल टेलिभिजनको टेण्डरमा हाँस्य टेलिश्रृंखलाहरु प्रशारण गर्दै आएको थियो । तर गत भदौमा भएको टेण्डर वल्र्ड भिजनलाई परेपछि मिडिया हबसँग सहकार्य गरेर दुवैले प्रशारण गरिरहेका थिए । यसबीचमा टेण्डर वल्र्ड भिजनलाई परेपनि मार्केटिङमा र अन्य कुरामा पनि पार्टनरशीपमा काम गर्दै आएका थिए । तर टेण्डर प्रक्रियामा वल्र्ड भिजनको बैंक ग्यारेण्टी नक्कली भएको समाचार आएपछि नेपाल टेलिभिजनका प्रमुख लक्ष्मण हुमागाईं कारवाहीमा परेका थिए भने वल्र्ड भिजनका प्रबन्ध निर्देशक दिनेश श्रेष्ठ थुनामा परेका थिए । काष्ठमण्डप डेभलपमेन्ट बैंकको ४ करोड ८६ लाखको बैंक ग्यारेन्टी नक्कली भएको आधारमा कारवाही गरिएको थियो । विभिन्न विवादपछि पुनः आह्वान गरिएको टेण्डर मिडिया हबलाई परेको छ । नेपाल टेलिभिजनबाट प्रशारण भईरहेका अहिलेका चल्तीका हाँस्य टेलिश्रृंखला तितो सत्य, जिरे खुर्सानी, मेरी बास्सै र भद्रगोल मिडिया हबले नै प्रशारणको काम गर्दै आएको छ ।