कीर्ते गरेर करोडौंको जग्गा बेच्ने जेल चलान

0 9

पोखरा : कीर्ते गरेर अर्काको जग्गा बेच्ने सातजनालाई जिल्ला अदालत कास्कीले बिहीबार कैद र जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले नुवाकोटको ककनीकी आशामायासहितलाई जेल चलान गर्ने फैसला सुनाएको हो ।

चितवन घई भई अमेरिकामा वस्दै आएकी शान्ता राणाको लेकसाईडमा रहेको १४ आना जग्गा नक्कली नागरिकता, लालपूर्जा बनाएर वेच्ने लाामालाई अदालतले ६ वर्ष कैद र ५६ लाख ७८ हजार जरिवाना  तोकेको छ । उनकी छोरी सुस्मालाई दुई महिना कैद र एक लाख रुपैयाँ जरिवाना गरेको छ ।

त्यसैगरी जग्गाको कारोवारी रामचन्द्र भण्डारीलाई तीन वर्ष कैद र ३५ लाख ६६ हजार, ईश्वर कार्कीलाई एक वर्ष कैद र ६६ हजार, पिताम्वर भण्डारीलाई एक वर्ष कैद र ६६ हजार, डिल्लीराम पौडेल र भोजराज भण्डारीलाई ६ महिना कैद र पाँच हजार जरिवाना गरेको छ ।

जिल्ला अदालत कास्कीका  श्रेस्तेदार दिनबन्दु बरालले आशामाया लामासहितको गिरोहले नक्कली कागज वनाएर पोखरा १२ की बविता कार्कीलाई ०६८ असोज ५ गते ७० लाखमा उक्त जग्गा बेचेका वताए ।

कार्कीले उक्त जग्गा २०६८ मंसिर २५ गते कास्की दाङसिङका चन्द्रबहादुर गुरुङ र माघ ८ गते पाल्पाका निर्मल गौतमलाई १ करोड २५ लाखमा दुई कित्ता बनाएर वेचेकी थिइन् ।

असली जग्गाधनी राणाले आफ्नो जग्गा अर्कैले किनबेच गरेको थाहा पाएपछि अमेरिकाबाट  आएर २०६९ भदौमा प्रहरीमा जाहेरी दिएकी थिइन ।

उक्त जग्गा किनबेचको मुद्दामा मालपोतका कर्मचारी शालिकराम ढकाल, तिर्खराम अर्याल, कर्ण बहादुर थापा, केशवराज सुवेदी, लक्ष्मी पौडेल, लालुप्रसाद सुवेदी, लोकनाथ गिरी र बुद्धिबहादुर कार्कीले सफाइ पाएका छन् ।

त्यसैगरी पोखरा उपमहानगरपालिकाका कानुन अधिकृत नारायण शर्मा, पोखरा उपमहानगरपालिका–६ का तत्कालीन वडा सचिव भीमदेव शर्मा, राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी अनिल खनाल, जग्गाको कारोवारमा संलग्न चन्द्रबहादुर गुरुङ, बबिता कार्की र निर्मल गौतमले अदालतबाट सफाइ पाएका छन् ।