चौतर्फी अतिक्रमणले खेत बन्दैछ फेवाताल

0 18
पोखरा : चौतर्फी अतिक्रमणले पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण फेवाताल संकटमा परेको छ। तालमा जथाभावी मिसाइएका ढल, नहर, खोलाबाट आउने फोहोर र माटोले बर्सेनि ताल पुरिएर मैदान हुने क्रम बड्दो छ।
होटेल र बजारको ढल, सिंचाइ नहर र खोलाबाट आउने प्लास्टिक, सिनो, माटो, दूषित पानी, मर्करी, जलकुम्भीलगायतका झारपातले तालको अस्तित्व संकटमा पार्नुका साथै कुरूप बनाएको हो।
दुई सयभन्दा बढी प्रजातिका वनस्पति, ४० प्रजातिका माछा, जलचर एवं पन्छीको आश्रयस्थल तालमा चर्को प्रदूषणले धेरै जलचर र वनस्पति लोपोन्मुख भएका छन्।
जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो खन्ने, भूक्षय नियन्त्रणतर्फ ध्यान नदिँदा बर्सेनि हजारौं टन माटोले ताल पुर्दै लगेको छ।
पोखराको जौवारीदेखि बैदामसम्मको सेती नहर आसपासका दर्जनौं घरहरूले सेफ्टीट्यांकी, जुठेल्नाको पानी मिसाउनुका साथै रातिराति फोहोर फालिदिने गरेका छन्।
सन् १९५७ को नापीमा तालको क्षेत्रफल २२ हजार रोपनी भए पनि सन् २००० को अध्ययनले नौ हजार नौ सय ५५ रोपनीमा साँघुरिएको देखाएको छ। पहिला १८ मिटरसम्म गहिरो ताल अहिले क्रमश: पुरिँदै गएको छ।
प्रतिवर्ष फेवातालमा एक लाख ४२ हजार मेट्रिकटन माटो र गेग्र्यान थुप्रिँदै आएको अध्ययनले देखाएको छ। पुरिएको जमिनमा स्थानीयवासीले खेत बनाएर खेतीपाति गर्दै आएका छन्।
‘बैंस छँदा हामी तालकै पानीले खाना पकाउने र पिउने गर्थ्‍यौ ,’ बैदामकी ८६ वर्र्षीया खगेश्वरी पहारीले सम्झिइन्, ‘अहिले त कालोमैलो पानी देख्दा छुन पनि सिकसिक लाग्छ।’
तालको सौन्दर्यकै कारण आसपासमा एक खर्बको लगानीमा ठूलाठूला होटेल, रेस्टुराँ र पसल खोलिएको छ तर तालमा भइरहेको प्राकृतिक र मानवीय अतिक्रमण नरोक्दा ठूलो लगानी जोखिममा पर्न सक्ने क्षेत्रीय होटेल संघ पोखराका अध्यक्ष भरत पराजुलीले बताए।
‘फेवाताल र माछापुच्छे्रबिना पोखराको पर्यटनको कल्पना पनि गर्न सकिँदैन,’ उनले भने, ‘ताल र हिमालको आकर्षणले पोखराको पर्यटन क्षेत्रमा मात्रै झन्डै एक खर्ब रुपैयाँ लगानी पुग्न लागे पनि संरक्षणमा कहींकतैबाट ठोष लगानी भएको छैन।
संरक्षणको लागि राज्य, व्यवसायी र संघसंस्थाहरू नजुटे ताल केही वर्षमै बगरमा परिणत हुनेछ।’
फेवातालको जगमा उकासिएको पर्यटन व्यवसायले सफलताको शिखर चुमेका केही होटेल व्यवसायी र स्थानीयवासीले मलमूत्र र ढल सीधै तालमा सोझ्याएका छन्।
विभिन्न सरकारी र गैरसरकारी निकायले बेलाबेलामा जलकुम्भी झिकेझैं गरे पनि संरक्षणका लागि विशेष अभियान थालेको पाइँदैन। ताल संरक्षणका नाममा बर्सेनि कति बजेट कस्ले खर्च गर्छ? हिसाबकिताब पारदर्शी छैन।
तालको सौन्दर्य बचाउन बनाइएका नीति, नियम पनि पालना गरिएको छैन। पोखरा उपत्यका नगर विकास समितिले विभिन्न मापदण्ड तोके पनि ताल आसपासमा नियमविपरीत धमाधम भौतिक संरचना बनाउने क्रम बढ्दो छ।
ताल जोगाउन अदालतले गरेका फैसला र राज्यले बनाएका मापदण्ड कडाइका साथ लागू गर्नुपर्ने पुनरावेदन अदालत पोखरा बार इकाईका पूर्वअध्यक्ष एवं अधिवक्ता विश्व घिमिरेले बताए।
‘तालमा भइरहेको प्राकृतिक र मानवीय अतिक्रमण तुरुन्त रोक्दै मापदण्ड कडाइका साथ पालना नगर्दासम्म तालको अस्तित्व जोगाउन सकिँदैन,’ उनले भने, ‘अतिक्रमण गरेर बनाइएका सबैखाले भौतिक संरचना तत्काल भत्काउनुपर्छ। प्रदूषण गर्नेहरूलाई कारबाहीको दायरामा ल्याएमात्रै कुरूप बन्दै गएको ताललाई जोगाउन सकिन्छ।’
फेवाताल पोखराको पर्यटनको मुख्य आधार र राष्ट्रिय सम्पदा भएकोले संरक्षणका लागि विशेष ध्यान दिनुपर्ने पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगरले बताए।
-Source: Annapurna