बैंकको करोडौं डुबाएर भागेका चार अभियुक्त जेल चलान

0 16
काठमाडौं : फैसला कार्यान्वयन दस्ताले बैंकको एक अर्ब रुपैयाँभन्दा बढी डुबाएर फरार अभियुक्तमध्येका चारजनालाई पक्राउ गरेको छ। यी चारजनाले मात्र ४३ करोड रुपैयाँ हिनामिना गरेको अदालतको ठहर छ।
पक्राउ पर्नेमा काभ्रे उग्रताराका मधुकर महत, काभ्रे धुलिखेलका हरिप्रसाद आचार्य, धुलिखेलकै प्राणनाथ आचार्य र बनेपाका आनन्द थापा छन्। पक्राउ परेका चारैजनालाई नख्खु कारागार चलान गरिएको काठमाडौं जिल्ला अदालतका तहसिल प्रमुख देवप्रसाद योगीले बताए।
योगीका अनुसार उनीहरूलाई मुलुकी ऐन दण्डसजाय महलको ३८(१) बमोजिम सात वर्ष जेलसजाय ठेकिएको छ। बैंकिङ कसुरमा पुनरावेदन अदालत पाटनको वाणिज्य इजलासबाट गत वर्ष वैशाख २९ गते अन्तिम फैसला भएदेखि नै उनीहरू फरार थिए।
यी प्रतिवादीमध्ये महतले आठ करोड ५० लाख रुपैयाँ, हरिप्रसादले २० करोड ९६ लाख २४ हजार चार सय ६२ रुपैयाँ, थापाले पाँच करोड ७५ लाख रुपैयाँ र प्राणनाथले आठ करोड ५२ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा सजाय तोकिएको थियो।
क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स लिमिटेडबाट कर्जा लिएर रकम हिनामिना गरेको भन्दै नेपाल राष्ट्र बैंकको जाहेरी अनुरूप बैंक सञ्चालकसहित झन्डै एक सय जनाविरु द्ध मुद्दा दायर भएको थियो। ‘पक्राउपछि चारैजनाबाट लगत असुल उपर भयो।
मंगलबार साँझ नख्खु कारागार चलान गरियो,’ योगीले भने, ‘हाम्रो फैसला कार्यान्वयन विशेष अभियान सुरु भएपछिको पाँच महिनामा यो उल्लेखनीय सफलता हो।’ उक्त कसुरमा मुद्दामात्रै ५७ थान थिए।
फैसला भएदेखि नै सबै प्रतिवादी फरार छन्। विशेष सूचनामार्फत लुकेर बसेको अवस्थामा महतलाई भक्तपुर नलिन्चोकबाट, प्राणनाथ र हरिप्रसादलाई धुलिखेल र थापालाई बनेपाबाट समातिएको हो।