‘७ सय क्विन्टल प्लास्टिकका झोला जफत, प्रयोग गरे ५० हजार जरिवाना’

0 3

काठमाडौं, वैशाख १० । यही वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाइएपछि ७ सय क्विन्टल प्लास्टिकका झोला जफत गरिएको वातावरण विभागले जनाएको छ ।

७ सय खुद्रा विक्रेता, २८ ओटा डिपार्टमेन्टल स्टोर र कालीमाटीका थोक विक्रेताहरुबाट ती झोला जफत गरिएको जनाइएको हो ।

विभागले विहीबार राजधानीमा पत्रकार सम्मेलनगरी मापदन्ड विपरित प्लास्टिकका झोला प्रयोग गर्ने ८ ओटा थोक विक्रेता र एउटा डिपार्टमेन्टल स्टोर तथा दुई व्यक्तिलाई कारबाही अघि प्रक्रिया बढाएको पनि जानकारी दिइयो ।

कार्यक्रममा वातावरण मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार थापाले काठमाडौंमा अहिले हरेक दिन ५० लाखओटा प्लास्टिकका झोला खपत हुने भन्दै त्यसलाई रोक्न सशक्त पहल जरुरी रहेको बताए ।

कार्यक्रममा वातावरण व्यवस्थापन विभागका महानिर्देशक सुरज पोखरेलले मापदन्ड विपरित प्लास्टिकका झोला प्रयोग गरेमा ५० हजारसम्मको जरिवाना हुने पनि बताए ।

कार्यक्रममा बंगलादेश दूतावासका प्रतिनिधि वालिकुइ इस्लामले सन् १९९० देखि आफूहरुले विश्वमै पहिलोपटक प्लास्टिकका झोला प्रयोगमा रोक लगाउनेक्रम सुरु गरेको र अहिले बंगलादेशमा जुटको झोलाको प्रयोग बढेको बताए ।