स्वाइन फ्लू नियन्त्रणमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्रीको निर्देशन

0 12

१० वैशाख, काठमाडौं । इण्डोनेसिया भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई टेलिफोन गरी जाजरकोट लगायत क्षेत्रमा देखा परेको स्वाइन फ्लूको रोकथाम गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

जाजकोटमा फैलिएको स्वाइन फ्लू नियन्त्रणमा आइनसकेको र अन्य जिल्लामा पनि रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएको जानकारी पाएपछि प्रधानमन्त्रीले जाकार्ताबाटै फोन गरेका थिए । अफ्रो-एशियाली सम्मेलनमा भाग लिन प्रधानमन्त्री कोइराला इण्डोनेसिया पुगेका छन् ।

मन्त्रिपरिषद्को बैठकले मुख्य सचिव लीलामणि पौड्यालको संयोजकत्वमा स्वास्थ्य र रक्षा सचिव रहेकेा प्रकोप नियन्त्रण समन्वय समिति बनाएको थियो ।

टेलिफोन वार्ताको क्रममा स्वास्थ्यमन्त्री खगराज अधिकारीले प्रकोप नियन्त्रणका लागि हालसम्म भएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिएका छन् ।

यसैबीच महामारी नियन्त्रणका सम्बन्धमा भएका प्रयास र बिरामीहरुको अवस्था बुझ्न मुख्य सचिव लीलामणि पौड्याल र स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठ बिहीबार जाजरकोट जाने कार्यक्रम छ ।