हुकिङ्ग गर्नेको सम्पती जफत :२५ लाख बराबरको सामान प्राधिकरणद्घारा कब्जा

0 5

इटहरी, वैशाख १०– पटक–पटक चेतावनी दिएर पनि अटेर गरी अनियन्त्रित विद्युत हुकिङ्ग गर्ने दर्जनभन्दा बढी स्थानीयहरुको २५ लाख बराबरको सम्पत्ति विद्युत प्राधिकरण शाखा इटहरीले जफत गरेको छ ।

सुनसरीको रामधुनी भासी नगरपालीका–१९ बाट प्राधिकरणले गैरकानुनी रुपमा हुकिङ्ग गरी घर–घरमा विद्युत चुहावट गरेको भन्दै दर्जनौं स्थानीयहरुको घरबाट २५ लाख मुल्य बराबरको सम्पत्ति कब्जा गरी नियन्त्रणमा लिएको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण शाखा इटहरीका प्रशासकीय अधिकृत रामप्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले विद्युत हुकिङ्ग गरी चुहावट गर्ने रामधुनी भासी नगरपालीका–१९ का दर्जनभन्दा बढी स्थानीयहरुको घर भित्रबाटै सो मुल्य बराबरको सम्पत्ति जफत हुने गरी नियन्त्रणमा लिएको प्राधिकरण शाखा इटहरीले जनाएको छ ।

रामधुनी भासी नगरपालीका–१९ स्थित स्थानीय मुकेश गुप्ता, चन्देश्वर साह, सिता अधिकारी, खगेन्द्र ढकाल, रामकुमार कटुवाल, इन्दिरा पुरी, मन्दिरा घिमिरे, रोसन कटुवाल, रुपा राई, मनोज दहाललगायतको घरभित्रबाट एलइडी टिभी २४ इञ्चदेखि ३२ इञ्चसम्मको १० वटा, रेफ्रिजेरेटर ९ थान, पानी तान्ने मोटर १८ थान, राइसकुकर ३ थान, पंखालगायत २ हजार मिटर बढी विद्युतका तारहरु जफत गरिएको नेपाल विद्युत प्राधिकरण वितरण शाखा इटहरीका प्रसाशकीय अधिकृत राम प्रसाद पोखरेलले बताए ।

सो सामग्रीहरु स्थानीयहरुको घरभित्रै प्रवेब गरी जफत गरिएको बताइएको छ । हुकिङ्ग गर्ने स्थानीय र जफत सामग्रीको बिषयमा लोडअनुसारको विद्युत महसुल तिराउने तथा विद्युत ऐन अनुसार ३ हजारदेखि ५० हजारसम्मको जरिवाना तोकि जेल सजायसम्म तोकिने प्राधिकरणको शाखा इटहरीले जनाएको छ ।