भेटघाटमा व्यस्त छन् प्रधानमन्त्री कोइराला

0 15

जाकर्ता, १० वैशाख – एसियाली-अफ्रिकी रणनीतिक साझेदारी नास्पको दशौँ वार्षिकोत्सव समारोहमा भाग लिइरहेका प्रधानमन्त्री सुशील कोइराला भेटघाटमा व्यस्त बनेका छन्।

उनले आज पनि सम्मेलनमा भाग लिइरहेका अन्य राष्ट्राध्यक्ष, सरकार प्रमुख एवम् सरकारको प्रतिनिधिलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ। यस क्रममा प्रधानमन्त्री कोइरालाले जापानका प्रधानमन्त्री सिन्जो आबेसित बुधबार जाकर्तास्थित जाकर्ता सम्मेलन गृहमा भेटघाट गरेका थिए।

सो अवसरमा उनीहरुका बीचमा नेपाल-जापान सम्बन्धका विविध विषयमा कुराकानी भएको प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए। प्रधानमन्त्री कोइरालाले नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा जापान सरकारले प्रदान गर्दै आएको सहयोगप्रति जापान सरकार र प्रधानमन्त्री आबेलाई धन्यवाद दिएका थिए।

सो अवसरमा जापानका प्रधानमन्त्री आबेले जापान नेपालको आर्थिक समृद्धि छिटो होस् भन्ने चाहना राखेको बताएका थिए। सो भेटमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास बैरागी र सल्लाहकार डा भट्टराई सहभागी बनेका थिए।

आज प्रधानमन्त्री कोइरालाले सम्मेलन आयोजक देश इन्डोनसियाका राष्ट्रपति जोको विडोडो, बङ्गालादेशका प्रधानमन्त्री शेख हसिना आजेद, मान्माका राष्ट्रपति, भारतका विदेशमन्त्री सुष्मा स्वराजलगायत विशिष्ट पाहुनासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।