-कालिकोटमा पनि दुई सय चार जनामा मौसमी फ्लु, एकको मृत्यु २३ को अवस्था गम्भीर

0 12

कालिकोटका छुट्टाछुट्टै गाविसमा स्वास्थ्य चेकजाँचका क्रममा २ सय ४ जना मौसमी फ्लु संक्रमित फेला परेका छन्।

सोमबारदेखि जिल्लाको मेहलमुडी गाविस-५ तिकुवामा १ सय ४ जना र राम्नाकोट गाविसमा १ सय जना बिरामीलाई चेकजाँच गरिएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ। राम्नाकोट स्थानीय ३ वर्षीया रविना कठायतको रुघाखोकी पछि निमोनिया भएर मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अहेब कटक महतले बताएको नागरिक दैनिकमा खबर छ।

यस्तै मेहलमुडी गाविसमा फैलिएको महामारीबाट ६३ जना महिला ४१ पुरुष जस मध्ये १५ वर्ष मुनिका बालबालिका ३० जनासहित प्रभावित भएका छन्। ती मध्ये तीन जनाको स्थिति गम्भीर रहेको छ।

५० वर्ष माथिका २० जना गम्भीर रहेको उपचारमा खटिएका डाक्टर ललितजंग शाहीले बताए। बैशाखको पहिलो हप्तादेखि जिल्लाका बिभिन्न गाविसमा सयौँको संख्यामा विरामी भेटिए पछि मध्यपश्चिम क्षेत्रीय निर्देशक डा.राजेन्द्र पन्तको टोली जाजरकोट जुम्ला हुँदै बुधबार कालिकोट पुगेको छ। जिल्ला सदरमुकाम मान्ममा पुगे पछि डाक्टर पन्तको टोलीले बुधबार पत्रकार सम्मेलन गरी जाजरकोटका बिरामीको जस्तै कालिकोटमा पनि उस्तै लक्षण देखिएकाले जिल्लाका सरोकारवालालाई उच्च सतर्कता अपनाउन सुझाव दिएका छन्।