दातालाई झुक्याउँदै कमिसन खाँदै

0 13

विराटनगर, वैशाख ९ – नेपाल स्वास्थ्यको लागि पानी (नेवा) प्रोजेक्टको पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख बिष्णु पोखरेल र प्रशासन अधिकृत मुकुन्द हट्वाल मिलेर दाताले दिएको अनुदान रकम हिनामिना गर्ने गरेको पाइएको छ । ग्रामिण समुदायका गरिब जनतालाई स्वस्थ खानेपानी उपलब्ध गराउने उद्देश्यले वाटर एड, अष्ट्रेलियन एड, च्यारिटि वाटर अमेरीका, युएसएड र प्लान इन्टरनेशनलले दिएको पैसा पोखरेल र हट्वालले यसरी अनियमित तबरले हिनामिना गरेका हुन् । स्वस्थ खानेपानी निर्माणका लागि दाताले दिएको अनुदान काठमाडौंको केन्द्रीय कार्यालय हुँदै क्षेत्रीय कार्यालयमा निकासा हुने गरेको छ । पूर्वाञ्चल कार्यालयमा कार्यरत एक कर्मचारीले भने– ‘कहिले सामान खरिद गर्दा कोटेसन प्रक्रियामा मिलाएर, कहिले सामान खरिद नगरि बिल बनाएर पोखरेल र हट्वालले कमिसन खाने गरेका छन् ।’ ति कर्मचारीकाअनुसार उनीहरुले फेव्रिकेटिङ सामाग्रीहरु निर्माण गर्दै आएको बिके इन्जिनियरिङबाट सबैभन्दा धेरै कमिसन खाने गरेका छन् । चर्पीको लागि रिङ खरिमासमेत फर्जि बिल बनाएर खाँदै आएका उनीहरुले पुराना आयोजनाको फर्जि बिल र कागजात समेत पेस गरेर नयाँ निर्माण गरेको भन्दै दाताबाट रकम निकासा लिने गरेका छन् । नेवा प्रोजेक्टको कागज हेर्दा धेरै काम गरेजस्तो देखिएपनि कमिसन र भ्रष्टाचार मौलाउँदा फिल्डमा नगन्य मात्रामा मात्र काम भएको पाइन्छ । विराटनगरस्थित बिके इन्जीनियरिङको नाममा रहेको सिटिजन्स बैंकको खाताबाट सो इन्जिनियरिङले ०७१ भदौ ४ गते एक लाख ९९ सय हजार छ सय ४० मुकुन्द हट्वाललाई चेकमार्फत कमिसन बुझाएको थियो । नेवा स्रोतकाअनुसार पोखरेल र हट्वालले केन्द्रीय कार्यालयका निर्देशक उमेश पाण्डेलाई कमिसन बापतको ६० प्रतिशत बुझाउने र आफुहरुले २०÷२० प्रतिशत बाँडेर लिने गरेका छन् । यसबारे प्रतिक्रिया लिन खोज्दा प्रोजेक्टका निर्देशक उमेश पाण्डे सम्पर्कमा आउन चाहेनन् ।