भीमसेन थापाभन्दा ‘महान्’ सूर्यबहादुर थापा ?

1 10

नागरिकले सम्भवत: सबैभन्दा भरोसा गर्ने, गर्न मिल्ने या भरोसा राख्न सकिने निकायको नाम राज्य हो । राज्यका दृष्टिमा सबै नागरिक समान हुन्–हुन्छन्, राज्यले कसैलाई पक्षपात गर्दैन । निश्चित नियम, प्रक्रिया र मूल्य–मान्यता एवम् निर्देशक सिद्धान्तमा आधारित भएर व्यवहार गर्ने हुनाले राज्यको व्यवहार सबैका प्रति
समान रहन्छ भन्ने ठानिन्छ, विकसित मुलुकमा नागरिकप्रति राज्यको व्यवहारमा असमानता या पक्षपातको कल्पनासम्म पनि गरिँदैन ।

तर, अल्पविकसित, अविकसित या सभ्य हुने क्रममा रहेका मुलुकमा भने राज्यको व्यवहार नागरिकको अवस्था र परिस्थितिअनुसार असमान या पक्षपातपूर्ण हुने गरेको पाइन्छ । पञ्चायतकालका दुई चर्चित ‘महारथी’ हरूको निधनमा राज्यले अपनाएको पक्षपातपूर्ण व्यवहारले नेपालको राज्य पूर्ण, परिपक्व र निष्पक्ष हुन बाँकी रहेको पुष्टि गर्‍यो । सूर्यबहादुर थापा र मरिचमान सिंह पञ्चायती व्यवस्थाका चर्चित अगुवाहरू हुन् । पञ्चायतमा सबभन्दा लामो कार्यकाल बिताउने प्रधानमन्त्रीका रूपमा पनि थापा र सिंहलाई लिइन्छ । यद्यपि दुई व्यक्तित्वबीच केही न केही स्वभाव र शैलीगत अन्तर अवश्य थियो ।

मरिचमान सिंहले निर्दलीय पञ्चायती व्यवस्थालाई समर्थन गरे, त्यही व्यवस्थामा प्रधानमन्त्री बने, अन्तिमसम्म पञ्च भएकोमा गौरव गरे र बहुदलीय राजनीतिक प्रणालीको आगमनलाई उनले सहजै स्वीकार गर्न सकेनन्– खोजेनन् । बहुदलीय राजनीतिक प्रणालीभित्र बाँचिरहँदा पनि सिंहले निर्दलीय पञ्चायती व्यवस्थाको प्रशंसा गर्न छोडेनन् । तर, सूर्यबहादुर थापा बहुदलीय व्यवस्था पुनस्र्थापना (२०४६) हुनेबित्तिकै रात र दिनझैँ बदलिए, उनका कुरा तीस वर्ष पञ्चायतका विरुद्ध लड्ने कुनै काङ्ग्रेसी नेताका भन्दा धेरै भिन्न महसुस कसैले गरेनन् ।

२०३६ सालको जनमतसङ्ग्रहमा पञ्चायतलाई ‘विजयी’ बनाउन प्रधानमन्त्रीका रूपमा सूर्यबहादुर थापाले केसम्म गरेका थिए भन्ने नै बिर्सने/बिर्साउने गरी उनले आफूलाई बहुदलवादी बनाए, वीर गोरखालीहरूले पुरानो थापालाई बिर्सिए र नयाँ थापालाई मात्र सम्झिए । संवैधानिक राजतन्त्रसहितको संसदीय प्रजातन्त्र सङ्कटमा परेको बेला २०६० सालमा राजाका प्रधानमन्त्री बनेका थापा ०६३ पछि सजिलै गणतन्त्रवादी पनि बन्न भ्याए र मृत्युपश्चात् समस्त गणतन्त्रवादीहरूको साझा ‘धरोहर’ ठहरिए । पछिल्लो चरणमा त उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन नसकेकोमा चिन्ता प्रकट गर्न पनि थालेका थिए ।

२०३६ सालको जनमतसङ्ग्रहमा पञ्चायतलाई ‘विजयी’ बनाउन प्रधानमन्त्रीका रूपमा सूर्यबहादुर थापाले केसम्म गरेका थिए भन्ने नै बिर्सने/बिर्साउने गरी उनले आफूलाई बहुदलवादी बनाए, वीर गोरखालीहरूले पुरानो थापालाई बिर्सिए र नयाँ थापालाई मात्र सम्झिए ।

कुनै काङ्ग्रेस र कम्युनिस्ट नेताका भन्दा तीखा कुरा गरेर मान्छेलाई चकित पार्थे सूर्यबहादुर । अलिक समय यी बाँचेका भए ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कार्य’ पनि यिनकै अगुवाइमा हुन सम्भव थियो– उनका अभिव्यक्ति र व्यवहारले यस्तै देखाएको हो । पहिले काङ्ग्रेसमा लागेर प्रजातन्त्रवादी बनेका सूर्यबहादुर देशको वातावरण राजाको नेतृत्वमा चल्ने निर्दलीय शासन व्यवस्थाको अनुकूल हुँदा तत्काल पञ्च बने, बहुदल आउँदा बहुदलवादी र गणतन्त्र आएपछि गणतन्त्रवादी बन्न पनि उनले भ्याए । सम्भवत: सूर्यबहादुर थापाको सबभन्दा ठूलो विशेषता पनि यही नै थियो ।

थापाका समर्थक एवम् शुभचिन्तकहरूले सूर्यबहादुरको यस्तो विशेषतालाई गतिशीलताका रूपमा व्याख्या गरे, काङ्ग्रेस–कम्युनिस्टका नेताहरूले उनलाई ‘परिवर्तनलाई आत्मसात् गर्ने, महान् व्यक्ति’ भएको भन्दै प्रशंसा गरे । तर, मरिचमान सिंहले राजाको सक्रिय नेतृत्व र निर्दलीय व्यवस्थालाई अपनाएपछि फेरि अर्को प्रकारको अवस्था–व्यवस्थाको पक्षमा आफूलाई लैजान सकेनन् ।

छिमेकी मित्रराष्ट्र भारतसँग तनाव बढेका बेला मरिचमानले जे–जस्तो विचार–व्यवहार प्रस्तुत गरेका थिए, मर्नुअघिसम्म उनी आफ्ना अडानहरूबाट चलित या विचलित भएनन् । आफूलाई बहुदलीय प्रजातन्त्रको विपरीत चरित्रका रूपमा प्रस्तुत गरिरहे । राजाको सक्रिय शासनकालमा भएका हरेक कामको जस (यस) अपजस (अपयस) को भागी प्रधानमन्त्रीको भूमिकामा रहेका मरिचमानलाई मात्र बनाउन सकिन्न । तथापि उनी आफ्नो कार्यकालमा भएका सकारात्मक र नकारात्मक दुवै कार्यको जस–अपजस लिन जीवनपर्यन्त तयार भए । आफ्नो अविचलित राष्ट्रवादी छवि कायम राखेरै मरिचमानले देह त्याग गरेका हुन् ।

राजा वीरेन्द्रले वैयक्तिक कुण्ठा या ‘इगो’का कारण छिमेकी मित्रराष्ट्र भारतसँग तनाव बढाएका बेला प्रधानमन्त्री रहेका मरिचमानको भूमिका कूटनीतिकभन्दा ज्यादा भावनात्मक र आवेगात्मक अवश्य रहेको हो । भारतको विरोधलाई नेपाली राष्ट्रियताको आधार बनाउनेहरूको कित्तामा मरिचमान पनि पर्दछन् । यस्ता केही अपरिपक्वता र खोटपूर्ण कूटनीतिक व्यवहार हुँदाहुँदै पनि नेपालमा मरिचमानको छवि एक राष्ट्रवादी व्यक्तिकै रूपमा बनेको छ । सूर्यबहादुर थापाबाट नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउन निर्वाह भएको भूमिकालाई नकारात्मक रूपमा बुझ्नेहरूले सधैँ उनको आलोचनात्मक टिप्पणी गरिरहे, अझै गर्दै छन् ।

जे भए पनि उल्लिखित दुवै पात्र महापञ्च थिए र एउटै व्यवस्थाका समर्थक पनि । भूमिकाका कारण मरिचमान सिंहलाई राष्ट्रवादी व्यक्तिका रूपमा चिन्न थालियो, सूर्यबहादुर थापाले राष्ट्रवादी नेताको पहिचान बनाउन बाँकी रहँदै उनको इहलीला समाप्त भयो ।

इतिहासमा भीमसेन थापालाई महान् राष्ट्रवादीका रूपमा चित्रण गरिएको छ, उनले जसरी मृत्युवरण गर्नुपर्‍यो ठीक त्यही स्तरको अपमान र उपेक्षा मरिचमान सिंहले व्यहोर्नुपरेन । तर, सूर्यबहादुरले पाएकै जत्तिको सम्मान न भीमसेन थापालाई मिल्यो न मरिचमानलाई । राष्ट्रवादको नाममा एकपट्टिको छिमेकीलाई रिझाउने र अर्कोपट्टिकोलाई बिझाउने व्यवहार प्रस्तुत गरेबापतको परिणाम भीमसेन थापादेखि मरिचमान सिंहसम्मका अनेकौँले भोगेका हुन् । मृत्युपश्चात् राज्यले दर्शाएको व्यवहारले नेपालमा भीमसेन थापा होइन जंगबहादुर राणाको र मरिचमान नभई सूर्यबहादुर थापाको शैली पछ्याउन सबैलाई उत्प्रेरित गरेको छ ।

मरिचमान र सूर्यबहादुर व्यक्तिगत रूपमा जोसुकै या जस्तोसुकै हुन्, औपचारिक रूपमा यी दुवै नेपालका पूर्वप्रधानमन्त्रीका रूपमा समान हुन् । राज्यले हेर्ने दृष्टिकोण र अपनाउने व्यवहार पूर्वप्रधानमन्त्रीका रूपमा दुवैप्रति समान तहको हुनुपथ्र्यो । तर, मरिचमान र सूर्यबहादुरका मृत्युमा राज्यले समान व्यवहार प्रकट गरेन, एकलाई राजकीय सम्मान दिने राज्यले अर्कोको निधनमा प्रहरीको एउटा सानो टोली घाटमा पठाएर औपचारिकता पूरा गर्ने काम मात्र गरेको हो ।

यसले नेपालमा विवेक र विधिको शासन नरहेको स्पष्ट सन्देश दिएको छ । नेपालमा राज्य साधारण नागरिकप्रति उदासीन र पक्षपात रहँदै आएको छ, पहुँच हुनेहरूलाई काख र नहुनेलाई पाखा लगाउने परम्परा त राज्यले करिब स्थापित नै गरिसकेको छ । तर, प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका व्यक्तिको सवालमा समेत राज्यले पक्षपातपूर्ण व्यवहार गरेपछि नेपालको राज्यमाथि भरोसा राख्नु या विश्वास गर्नु भनेको आफैँलाई धोखा दिनु हो भन्ने सन्देश प्रवाहित भएको छ । ‘आफ्नै प्रधानमन्त्री’प्रति असमान व्यवहार गर्ने राज्यले जनस्तरमा कुन हदसम्मको पक्षपातपूर्ण व्यवहार प्रस्तुत गरिरहेको होला, त्यसको अनुमान गर्न सकिन्छ ।

मरिचमानभन्दा सूर्यबहादुरको चरित्र ज्यादा राजनीतिक थियो, विषयलाई बुझ्ने र तदअनुसारको दृष्टिकोण बनाउने या व्यवहार गर्ने मामिलामा पनि थापा अगाडि थिए । राजाको निगाहबाट दुवैको राजनीतिक हैसियत उचालिएको हो, तर सूर्यबहादुरले पञ्चायत ढल्दा पनि आफूलाई ढल्न दिएनन् र राजतन्त्र बढारिँदा पनि बढारिएनन् । मरिचमानले राजसंस्थासँगै थला परेपछि आफूलाई क्रियाशील तुल्याउन सकेनन्, सूर्यबहादुर बाँचिन्जेल कहिल्यै निष्क्रिय रहेनन् ।

इतिहासमा भीमसेन थापालाई महान् राष्ट्रवादीका रूपमा चित्रण गरिएको छ, उनले जसरी मृत्युवरण गर्नुपर्‍यो ठीक त्यही स्तरको अपमान र उपेक्षा मरिचमान सिंहले व्यहोर्नुपरेन । तर, सूर्यबहादुरले पाएकै जत्तिको सम्मान न भीमसेन थापालाई मिल्यो न मरिचमानलाई ।

तथापि राज्यले ‘रेस्पोन्स’ गर्ने मामिलामा अग्लो होचो, कालो–गोरो या सक्रिय–निष्क्रिय हुनुलाई आधार बनाउन मिल्दैन । पूर्वप्रधानमन्त्रीहरू सबैको पृष्ठभूमि उस्तै छैनन्, विचार–व्यवहार पनि सबैको भिन्नभिन्न छ, राज्यले प्रभावकारिता या क्रियाशीलताका आधारमा पूर्वप्रधानमन्त्रीहरूको श्रेणी छुट्याएको पनि छैन । राणाकाल, पञ्चायतकाल, प्रजातन्त्रकाल र सङ्क्रमणकालका प्रधानमन्त्रीहरूलाई भिन्नभिन्न ढङ्गको व्यवहार या सम्मान गर्नुपर्ने भए सोहीबमोजिमको कानुन संसद्ले बनाउनु उपयुक्त हुनसक्छ ।

बाह्य परिस्थिति, व्यक्तिको रूप, रंग या सरकारमा बस्नेहरूको सनकका आधारमा धारणा बनाइनु या निर्णय लिइनुलाई कदापि न्यायोचित एवम् विवेकोचित मान्न सकिँदैन । न्यायाधीशहरूले तथ्य र कानुन नहेरी बाह्य हल्ला, चर्चा र प्रभावका आधारमा फैसला सुनाउने, प्रहरले निजी लाभहानिका आधारमा व्यवहार गर्ने र सञ्चारमाध्यमले विज्ञापन या अन्य प्रकारका अनुचित लाभको प्रभावमा परेर सामग्री सम्प्रेषण गर्ने हो भने यस्तो राज्य मानिस बस्न योग्य हुनेछैन ।

राज्य आफैँले आफूप्रतिको भरोसा गुम्ने जुन परिस्थिति निर्माण गरिरहेको छ यसलाई सुधार्ने कसले ? जसले सुधार्नुपर्ने हो उनीहरू नै उध्रिएको चोला जिउँदै छन् । यस्तो स्थितिमा पृथ्वीको भार हरण गर्न राम र कृष्ण पैदा भएझैँ कुन भगवान् प्रकट हुने दिनको प्रतीक्षा गर्नुपर्ने हो, गरौँ । जनता ‘जनार्दन’ बन्न नसकेका देशमा भगवान्को प्रतीक्षा गर्नुको अर्को विकल्प पनि हुँदोरहेनछ ।

– See more at: http://www.ratopati.com/2015/04/22/228262.html#sthash.f8xo80kb.dpuf