संविधानको मस्यौदा लेखन सुरु गर्ने दलहरुको सहमति अलपत्र नेम्वाङले दलहरुलाई अन्तिम एक साताको मौका दिने

0 4

९ वैशाख, काठमाडौं । वैशाख १० गतेसम्ममा संघीयता बाहेक अन्य विषयलाई टुंगो लगाएर संविधान मस्यौदाको प्रक्रियामा लैजान सहमति जनाएका दलहरुले यसबीचमा कुनै गृहकार्य नगर्दा संविधानसभाको बिहीबार बस्ने बैठक एजेण्डाविहीन बनेको छ ।

फाइल तस्वीर

कांग्रेस एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच मिलिसकेका विषयलाई मस्यौदाको प्रक्रियामा पठाउने र संघीयताको विषयमा शीर्ष नेता सम्मिलित कार्यदल बनाएर थप छलफल गर्ने सहमति भएको थियो ।

तर, सहमतिको लगत्तै प्रधानमन्त्री सुशील कोइराला जकार्तातर्फ लागेपछि दलहरुबीच फेरि छलफल अघि बढेको छैन । दलहरुबीच बुधबार बेलुकासम्म अनौपचारिक छलफल हुने र बिहीबार संविधानसभा बैठकअघि औपचारिक बैठक बस्नेत तयारी भइरहेको स्रोत जनाएको छ ।

यसैबीच संविधानसभा अध्यक्ष सुवास नेम्वाङले सहमतिका लागि दलहरुलाई एक साताको समय पुनः उपलव्ध गराउने गरि अर्को बैठक वैशाख १७ गते तोक्न लागेको स्रोतले जनाएको छ ।

नेम्वाङले अब दिइने एक साताको समय सहमतिका लागि अन्तिम हुने भन्दै यसबीचमा पनि प्रगति नभए प्रश्नावलीमाथि मतदान गरि मस्यौदामा पठाउने सन्देश नेताहरुलाई पठाएका छन् ।

सभाध्यक्षले बुधबार एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता तथा मन्त्री महेश आचार्य लगायतसँग पनि छलफल गरेका थिए । बिहीबारको बैठकले अर्को बैठकका लागि कार्यसूची तय गर्ने स्रोतले जनाएको छ ।

यसअघि संविधानसभाका तीनओटा बैठक लगातार शोक प्रस्ताव पारित गर्न सिमित भएका थिए ।

– See more at: http://www.onlinekhabar.com/2015/04/269279/#sthash.f70TeNa0.dpuf