यी हुन् लोकतान्त्रिक गणतन्त्रका १० उपलब्धी :राजनीतिले गति लिएन, तर समाज कहाँ पुग्यो ?

0 29

यो आठ-नौ वर्षको अवधिमा जनताले महसुस गर्न सक्ने गरी दिन सकिने कुराहरु नै छैन । एक त हाम्रो साधन स्रोत सीमित भएको मुलुक पर्‍यो । दोस्रो, निजी क्षेत्रलाई नियमन गर्ने कुरामा जसरी संस्थागत क्षमता कमजोर छ, त्यसैगरी सरकारले प्रदान गर्ने सेवा सुविधामा पनि सरकारी क्षमता प्रभावकारी छैन । त्यो बलियो नभएको संस्थामा हामीले ज्यादै ठूलो आशा राखेर यो ८/९ वर्षको अवधिमा के के न भयो होला भनेर मूल्यांकन गर्न त्यति मनासिव देखिँदैन । तेस्रो, जति भएका संस्थाहरु थिए, ती संस्थाहरुलाई एकपछि अर्को गर्दै धरासायी पर्ने प्रयास भयो ।

नेपाल विद्युत प्राधिकरणले कहिले लोडेसडिङ अन्त्य हुन्छ भन्न सक्दैन । निजी क्षेत्रले हामी उत्पादन गर्छु भन्दा प्राधिकरणले ट्रान्समिसन लाइन छैन, हामी किन्दैनौं भन्छ । यो त असक्षमता भयो । एकातिर लोडसेडिङ छ, अर्कोतिर भविश्यमा विद्युतको माग अत्यधिक माग बढ्न सक्छ पनि भनेका छौं । त्यसकारण यो सबै संस्थागत कमजोरी थियो । त्यसलाई हटाएर संस्था बलियो बनाउने काम नभएको अवस्थामा ज्यादै ठूलो डेलिभरी भएर ज्यादै उपलब्धी हासिल भयो भन्ने मूल्यांकन गर्न सक्ने अवस्था छैन ।

 

तर, केही क्षेत्रमा अलिअलि भए पनि देखिन सक्ने, सूचकांकमा परिर्वतन आउन सक्ने गरी केही काम भएको छ । जसलाई १० वटा बुँदामा यसरी उल्लेख गर्न सकिन्छ :

१. स्थानीय निकायमा ५ लाख जान्थ्यो, ५० लाख पुग्यो

– यस अवधिमा स्थानीय निकायमा जाने रकममा ठूलो वृद्धि भयो । त्यसअघि एउटा गाविसमा ५ लाखभन्दा जाँदैनथ्यो । ०६२/०६३ पछि अहिले पटकपटक गरेर ३० लाख जान्छ । र, अरु विभिन्न कार्यक्रममा खर्च गर्ने गरेर जिल्ला विकास समितिमार्फत एउटा गाविस आकारको क्षेत्रमा पुग्ने रकम त्यो बेलाको तुलानामा १० गुणाले बढेको छ । ५ लाखको तुलनामा ५० लाख हाराहारी पुग्छ । जिल्ला विकास समिति, नगरपालिकामा जान्छ ।

यदि स्थानीय निकायमा पदाधिकारी निर्वाचित भइदिएको भए सुनमा सुगन्ध के हुन्थ्यो । निर्वाचित पदाधिकारीले हिम्मतै गरेर दुरुपयोग गरेछ भने अर्को निर्वाचनमा अथवा समाजबाट तिरस्कृत हुनुपर्ने भएकाले अहिले भनिएको र भएको भन्दा कम दुरुपयोग हुन्थ्यो र काम प्रभावकारी हुन्थ्यो ।

पर क्यापिटा इन्कम बाहेकका सूचकांकमा हामी भारतभन्दा अगाडि छौं । सामुदायिक विद्यालयको गुणस्तर समष्टिगत रुपमा कमजोर हुँदाहुँदै पनि विद्यालयमा जाने बालबालिकाको दर उत्पात बढेको छ ।

हुन त नेपालमा भ्रष्टाचार गर्न ज्यादै ठूलो हिम्मत पनि गर्न पर्दैन । यति हुँदाहुँदै पनि कतिपय वस्तुहरु शहरीकरण भएको छ । ग्रामीण वस्तीमा गएको त्यो रकम पूर्वाधार निर्माणमा खर्च भयो । परम्परागत रुपमा रहेका गाउँहरु शहर जस्तो देखिन थालेको छ ।

२. गाउँमा बत्ती, सोलार, बाटो विस्तार भयो

– अहिले तपाई गाउँ जानुभयो भने बत्ती नबलेको ठाउँ भेट्न गाह्रो छ । भेटिन्छ, नभेटिने होइन, रोल्पा गयो भने अलि दुर्गमतिर भेटिएला । बझाङमा भेट्न त गाह्रो पर्छ । जाजरकोटमा भेटिएला । यस्ता केही जिल्ला छन्, जहाँ बत्ती छैन ।

तर, यो ९ वर्षको अवधिमा माइक्रो हाइड्रो र सोलारको विस्तार भएको छ । त्यो गर्नुमा एउटा अनुदानले काम गर्‍यो भने अर्को स्थानीय स्तरमा जागरुक भएर सरकारले दिएको रकममा थप हुन थाल्यो । जस्तो- सरकारले ७० प्रतिशत दियो भने ३० प्रतिशत स्थानीयले सहजै उठाइहाल्ने ।

३. स्वास्थ्य, शिक्षा सुचकांकमा भारतभन्दा अगाडि पुग्यो 

– अर्को, मानव विकास सुचकांकमा आएको सुधार । सरकारले ०६५ सालमा अन्तराष्ट्रिय पुरस्कार पनि पायो । अस्ति १५ दिनअघि मात्र पनि भारतीय विश्लेषकहरुले नेपालले पनि हामीलाई पछार्‍यो भनेर भनेका छन् । पर क्यापिटा इन्कम बाहेकका सूचकांकमा हामी भारतभन्दा अगाडि छौं ।

स्वास्थ्यको सुचकांक पनि राम्रो छ । समुदायिक विद्यालयहरुको भर्ना दर पनि राम्रो छ । ०६२/०६३ पछि शिक्षामा लगानी बढेको छ, जसले गर्दा सामुदायिक विद्यालयको गुणस्तर समष्टिगत रुपमा कमजोर हुँदाहुँदै पनि विद्यालयमा जाने बालबालिकाको दर उत्पात बढेको छ, अहिले करिव ९४/९५ प्रतिशत छ । शतप्रतिशत कहीँ पनि हुँदैन । धेरै विकसित देशमा ९७ प्रतिशत भन्दा बढी गएको देखिँदैन । त्यो किन बढ्यो भन्दा सरकारले स्किमहरु लिएर आएको छ ।

अहिले सुत्केरी भएर मर्ने महिलाहरुको संख्या हृवातै घटेको छ । दक्षिण एशियामा त हामी नेतृत्व गर्ने पङ्तीमा पुगेका छौं । किनभने सुत्केरीको भलाइका लागि सुत्केरी हुनुअघि र पछि सरकारले ठूलो लगानी गरेको छ । नगद नै दिने गरेको छ ।

४. सडक सिंचाइँ खानेपानीमा सरकारको आफ्नै लगानी

– ०६२/६३ अघि सरकारले आफैं ठूला परियोजनाहरु कार्यान्वयन गरेको थिएन । जति योजना कार्यान्वयन हुन्थे, सडक, सिचाई होस् वा खानेपानी । विदेशी सहायतामा आश्रति थिए । विदेशी सहयोग आयो भने बन्थे, आएन भने बन्दैनथ्यो ।

यो अवधिमा व्यवस्थित शहरीकरण तीव्रगतिले वृद्धि पनि भयो, तीव्र गतिले पतन भयो ।  डेढ-२ वर्षमा काठमाडौंमा हजारौं घरहरु बने । तर, मूल्य यति बढ्यो कि त्यो आफैं कोल्याप्स भयो ।

अहिले मध्यपहाडी लोकमार्गमा एक पैसा पनि विदेशी सहायता परेको छैन । हामीले करिब करिब पहिला बनेका बाटोहरुलाई जोड्न पनि करिव ७०० किलोमिटर त नयाँ बनाउनुपरेको छ । हामीले हाम्रै पैसाले गर्‍यौं ।

हुलाकी लोकमार्गको पुल खण्ड नेपाल सरकारको र सडक खण्ड भारत सरकारको जिम्मा थियो । पुल खण्डको काममा राम्रो प्रगति भएको छ र गुणस्तरीय काम भएको छ । तराईका कतिपय वस्तीहरु वर्षाको समयमा बजारसँग जोडिँदैनथ्यो, पुल बनेपछि बजारसँग सहज रुपमा जोडिएका छन् । पहाडमा पनि पुलमा लगानी राम्रो भएको छ । तामाकोशी जलविद्युत परियोजनाको काम भइरहेको छ ।

५. विकासका ठूला परियोजना सञ्चालन भए 

– पूर्वाधार सिर्जनामा सरकारले हिम्मत गरेर ठूला आयोजनाहरुमा काम गरेको छ । चाहे त्यो सिक्टा र मध्यपहाडी लोकमार्ग होस् । लुम्बिनीमा विमानस्थल अन्तराष्ट्रिय स्तरकै नभए पनि अन्य देशका उडान गर्न सक्ने हुन्छ । त्यसको काम राम्रो भइरहेको अनलाइनखबरमा नै पढेको छ ।

अहिले अमेरिका लगायतका देशमा राम्रो काममा रहेका युवाहरू नेपाल फर्किन थालेका छन् । श्रम बेच्न गएकाहरुले पनि श्रम बेचेर अर्काको देशको विकास गर्नुभन्दा म गएर गाई नै पालेर बस्छु भनेर आएका छन् ।

हाल त्यसका निमित्त विदेशी सहायता परिचालन गरिएको छ । तर, काम त भयो नि । यो सरकारको तर्फबाट भएको काम भन्नुपर्दा यति भन्न सकिन्छ ।

६. शहरीकरण बढ्यो, ठूला घरहरु बने 

– निजी क्षेत्रमा यो अवधिमा तीव्रगतिले वृद्धि पनि भयो, तीव्र गतिले पतन भयो, त्यो हो व्यवस्थित शहरीकरण । ०६१ सालपछि काठमाडौंमा भकाभक व्यवस्थित भवनहरुको स्किम आयो । पहिला चक्लाबन्दी गरेर हाउजिङको स्किम थिएन ।

द्वन्द्वका कारण लगानीको वातारण थिएन । सञ्चित हुँदै गएको पुँजी थियो । कहाँ लगानी गर्ने कहाँ भन्ने क्रममा वृहत शान्ति सम्झौता भएपछि घर जग्गामा लगानी गर्दा फाइदा हुन्छ भनेर एउटा वर्ग हामफालेर आयो र डेढ २ वर्षमा काठमाडौंमा हजारौं घरहरु बने । त्यसको तीन वर्षमा हजारौं घर, दशौं हजारमा पुग्यो । मूल्य यति बढ्यो कि त्यो आफैं कोल्याप्स भयो ।

यो अवधिमा बैंकिङ क्षेत्रमा आउन आउन लागेको संकट टार्ने काम भयो । त्यसमा निजी क्षेत्रको पनि केही हदसम्म भूमिका छ ।

७. विदेश गएका नेपाली स्वदेश फर्केर उद्यम गर्न थाले

– नेपालबाट विदेशमा गएर उतै बस्ने, हराउने प्रवृत्ति थियो । तर, अहिले मैले कतिपय यस्ता युवाहरु भेटेको छु, जो अमेरिका लगायतका देशमा राम्रो काममा थिए । तर, नेपाल फर्किएका छन् ।

जति सुकै पैसा कमाए पनि मेरो देश मेरो पहिचानसँग गासिन्छ, जहिले पनि जसले पनि आर यू नेपाली, तिम्रो देश त गरिव छ है भन्दा चिक्त दुख्छ । त्यसकारण म नेपालमै केही गर्छु भनेर फर्किएर आएका धेरै छन् ।

यसलाई अझै मैदान राम्रो बनाइदिन सकेका छैनौं । उता गर्न नसकेर आएको होला भनेर कतिपयले घृणा गर्छन् । परिवारले पनि अमेरिका बस्यो भने खुसी हुन्छ । यहाँ आयो भने खुस्किएछ कि भनेर हेयको दृष्टिकोणले हेरेको देखिन्छ । तर, युवाहरुमा केही गरौं भन्ने जाँगर र जोश छ ।
अर्को नेपालमा केही अवसर नै छैन । राजनीति सुध्रिँदैन भनेर बाहिर श्रम बेच्न गएकाहरुले पनि श्रम बेचेर अर्काको देशको विकास गर्नुभन्दा म गएर गाई नै पालेर बस्छु भनेर आएका छन् । यो सर्वत्र छ । यो ०६२/०६३ भन्दा अगाडि थिएन ।

८. हाइड्रोमा निजी लगानीले गाउँमा विद्युत उत्पादन बढ्यो 

– हाइड्रोपावरमा निजी क्षेत्रको संलग्नता बढेको छ । मेरो विचारमा यो चैतसम्म १०० मेगावाट उत्पादन गरेको छ । र, यो १ हजार पुग्न कत्ति पनि बेर लाग्दैन । अहिले प्राय ५ मेगावाट उत्पादन गर्नेले ८०, १० मेगावाट गर्नेले २ सय मेगावाट ताकिरहेका छन् र लगानी गर्न पनि सुरु गरेका छन् । यो छलाङ मार्ने क्रममा पहिलो स्टेप सानै हुन्छ, जुन ०६३ देखि ७० सम्म भयो ।

अब दोस्रो ७१ देखि ७६ सालसम्मको हेर्नुहोला, निजी क्षेत्रको उपस्थिति नेपाल विद्युत प्राधिकरणको हुन्छ । विदेशी लगानीकर्ताले केही गरी समयमा बनाए भने मेरो अनुमानमा नेपालको निजी क्षेत्रकै बढी हुन्छ । त्यसमा मध्य मर्स्याङदीमा चिनियाँको र अपर त्रिशुलीमा कोरियाको भएजस्तो केही हदसम्म ज्वाइन्टभेन्चर पनि होला ।

अर्को सिमेन्ट, नेपालको पूर्वाधार उद्योग सिमेन्टमा नेपालको आन्तरिक माग पूरा गरेर छिमेकी मुलुकहरुमा निर्यात गर्ने अवस्थामा पुगिसकेका छौं । ०६५ सम्म क्लिङकर पिस्ने उद्योगहरु २/४ वटा थिए, तर, सिमेन्ट उद्योग एउटा पनि थिएन । तर, अहिले हामी बंगलादेश र भारतको उत्तर क्षेत्रको प्रदेशहरुमा सिमेन्ट निर्यात गर्ने अवस्थामा छौं ।

९. रोजगारीको माग बढ्यो, महिलाहरु रोजगारीमा आए 

– नेपालमा ०५५ सालसम्म आधा मान्छेले रोजगारी नै खोज्दैनथे । त्यही भएर यहाँ रोजगारीको अभाव हुँदैनथ्यो । ०४६ सालअघि मलाई थाहा छ, मेरा फुपूहरु सबैले पढ्नुभएको थियो । तर, हजुरबाले कसैलाई पनि जागिर खान दिनुभएन । त्योबेलामा मान्छेहरुले आफ्ना छोरी बुहारीलाई जागिर खान दिँदैनथे ।

हाम्रो अवस्था अनुकल भएको भए, अरु देशले के गरेछ भनेर तुलना गरेर हेर्ने हो भने अहिले पनि हामीले सन्तोस मान्नुपर्ने अवस्था होइन । तर, हाम्रो अवस्था नै अनुकल भएन ।

अहिले घरमा राम्रो व्यवसाय भएका मान्छेहरुले पनि व्यवसायमा लाग्नुभन्दा एकपटक जागिर खानुपर्छ भन्छन् । माडवारी समुदायमा नै हेर्नुस् न । बनवारीलाल मित्तलका छोरा बैंकमा सीइओ भएका छन् । बनवारीलालले व्यवसाय दिन नसकेका होइनन् । किनभने अभ्यास गरोस्, दुःख पाएर आओस् न अनि बल्ल गर्न सकिन्छ भन्छन् । अहिले बजारमा रोजगारी खोज्ने मान्छेहरु बढेको हो ।

गाउँमा खेतीपाती गरेर बस्थे । जागिरका लागि उलिर्एर आउने चलन थिएन । काठमाडौंमा फुटपाथमा नेपालीहरु बस्दैनथे । फुटपाथमा बस्नु भनेको समाजिक पतन भएको सरह हुन्थ्यो । तर, अहिले गर्नुपर्छ है भन्ने भएको छ । अहिले दोलखाबाट आएका महिलाहरु ठेलामा मःमः बेचिरहेका छन् । अहिले केही न केही गर्नुपर्छ भनेर उर्लिएर आएका छन् । एउटा पेशा हुँदाहुँदै अर्को गर्नुपर्छ भन्नेछ । शिक्षक पनि हेलमेट बोकेर दौडिन्छ ।

रोजगारीको डिमाण्ड हृवातै बढ्यो । यसरी बढ्छ भन्ने अर्थतन्त्र र सरकारले भेऊ नै पाएन । एक त ५० प्रतिशत बढी जनसंख्या भएको महिलाहरु हृवातै आए । अर्को, बजारले पनि भेउ पाएको भए समय क्रमअनुसार समानान्तर हुन्थ्यो होला ।

अर्को, आपूर्तिलाई राजनीतिले धकेल्यो । बजारमा रोजगारी खोज्ने मान्छेहरु आएका छन्, नयाँ उद्योग खोलौं भन्ने त भएन नि । ०५५ सालपछि उद्योगको आकार बढ्नुको सट्टा खुम्चिएर गयो ।

१०. सामाजिक क्षेत्रमा परिवर्तन आयो, सीएनएन हिरो जन्मिए

– सामाजिक सोचमा ठूलो परिर्वतन आएको छ । समाजप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध पनि छ । त्यो नभएको भए नेपालजस्तो मुलुकले दुई-दुई वटा सीएनएन हिरो कसरी जन्माउँथ्यो ? निगाह गरेर नेपाललाई दिएको त होइन यो । केमा पुरस्कार पायो भन्दा एउटीले नेपालबाट बेचिएकी चेलीहरुलाई उद्दार गरेर, अर्कोले जेलमा रहेका आमाबाबुका छोराछोरीको उद्दार एवं शिक्षाका लागि काम गरेर । संसारमा कही नभएको काम एउटी नेपाली चेलीले गरेको हो ।

समाजसेवा, च्यारिटिएवल काममा नेपालीहरुले अग्रणी भूमिका खेलेका छन् । विश्वमा बन्ने विभिन्न सूचकांक छन्, जसमा दान दिने पनि छ । यसमा सबैभन्दा अगाडि अमेरिका छ । तर, भारत र कतिपय विकसित मुलुकहरु भन्दा नेपाल राम्रो छ ।

समाजमा कुनै किसिमको गलत गतिविधि भइरहेको छ भने मान्छे उर्लिएर जान्छ । गोविन्द केसीले अनसन बस्नुभो । उहाँका पछाडि सबै लागे । यो डाक्टरले गरेको आन्दोलन भनेर कोही बसे । समय खर्चिन युवा पनि गएका छन् ।

यसरी हेर्दा हाम्रो अवस्था अनुकल भएको भए, अरु देशले के गरेछ भनेर तुलना गरेर हेर्ने हो भने अहिले पनि हामीले सन्तोस मान्नुपर्ने अवस्था होइन । तर, हाम्रो अवस्था नै अनुकल भएन । ०६२/०६३ पछि ०७१ वैशाखसम्म आइपुग्दा राजनीतिक संक्रमण टुङ्गिएको छैन । राजनीतिक दलका उच्चस्तरका नेताहरुले भाषण गर्दा अब हाम्रो ध्यान आर्थिक सम्बृद्धिमा हुनुपर्छ भने पनि व्यवहारमा त्यो लक्षण देखिएको छैन ।

आदर्श अवस्था भएको भए यस्तो हुनुहुँदैन थियो । तैपनि आम जनताले अनुभूति नै हुने गरी परिर्वतन आउँदै आउँदैनथ्यो । किनभने हाम्रो बेस नै सानो छ । हाम्रोमा जुनबेलामा जनआन्दोलन २ भयो, प्रतिव्यक्ति आय ३ सय डलरभन्दा कम थियो । यो अवधिमा दोब्बर भयो । अहिले ७ सय ५० जत्ति पुगेको छ । ३ सय पुर्‍याउन त ००७ सालदेखि ०६२ सम्म लाग्यो नि ।

हाम्रो आफ्नै तुलाना गरेर हेर्नुभयो भने सरकार कमजोर हुँदाहुँदै, राजनीतिले पूर्ण ध्यान नदिएको मात्र होइन कि अवरोधक नै हुँदा पनि जे भएको छ, त्यो सन्तोषजनक नै छ ।