शुल्कबृद्धि फिर्ता नलिने नीजि विद्यालयले कडा मूल्य चुकाउने विद्यार्थी संगठनहरुको चेतावनी

0 8

काठमाडौं, बैशाख ८– विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच भएको सहमति नमान्ने नीजि विद्यालयले बताएपछि विद्यार्थीसंगठनहरु आक्रोसित भएका छन् ।

 

११ विद्यार्थी संगठन विद्यालयमा भएको चर्को शुल्क बृद्धिको विरोधमा आन्दोलनमा उत्रिएपछि दुईदिन अघि संगठन र शिक्षा मन्त्रालयबीच शुल्क बृद्धि फिर्ता लिने सहमति भएको थियो । तर, सो सहमति विपरीत नीजि विद्यालय संञ्चालकहरुले सहमति नमान्ने अभिव्यक्ति दिएपछि विद्यार्थी संगठनहरु आक्रोसित भएका हुन् ।

निजी विद्यालयहरुले सहमति नमान्ने हो भने उनीहरुले कडा मूल्य चुनाउनु पर्ने विद्यार्थी नेता तथा नेवि संघका प्रवक्ता यूपी लामिछानेले बताए ।

‘सहमति मान्दैनौं भन्ने निजि विद्यालय संचालकहरुको भनाई संचारमाध्यम मार्फत सुनिएको छ । सरकारको बिधिबिधान र निर्देशन मान्दिन भन्ने कुरा प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भने, ‘ यदि यो सहमति उहाँहरुले मान्नुहुन्न भने यसको कडा मुल्य चुकाउन पनि तयार रहन रहनु पर्छ ।’

विद्यार्थी संगठनहरुले विद्यार्थीलाई कमजोर नसोच्न आग्रह गर्दै त्यस्तो सोचिए गम्भीर परिणाम निस्कन सक्ने समेत चेतावनी दिएको छ । उनीहरुले आफूहरु शैक्षिक माफियाविरुद्ध लड्न तयार रहेको भन्दै यदी त्यस्तो अवस्था आए सोबाट निम्तने परिणाम को जिम्मेवारि पनि नीजि विद्यालय सञ्चालकहरुले नै लिनुपर्ने बताएका छन् ।

यस्तै शिक्षा मन्त्रालयले पनि विधिको शासन मान्दैनौं भन्ने उनीहरुलाई कारबाही गर्नुपर्ने विद्यार्थी संगठनले माग गरेका छन् ।