जाजरकोटमा उपचार गर्न पुगेका डाक्टर पनि बिरामी पर्न थाले

0 6

जाजरकोट, वैशाख ८ – सोमवार र मंगलवार हेलिकप्टरमार्फत् जाजरकोट पुगेका चिकित्सकको टोली शिविर चलाएको स्वास्थ्यचौकीमा पुगेपछि उपचार गर्न आउनेको संख्या बढेको छ । स्वास्थ्यचौकी टाले गाउँमा सोमबार मात्रै १ सय ८१ जना, नायकवाडामा १ सय ५२ जना र अछानीमा ९२ जना विरामीको उपचार भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णवहादुर खत्रीले जानकारी दिएका हुन् । टोले गाउँमा आइतबार पनि धेरै विरामीहरुको उपचार भएको थियो । उपचार गराइरहेका विरामी मध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको टाले गाँउ स्वास्थ्य चौकी प्रमुख प्रेम लामाले वताए । विरामीमध्ये टाले गाउँ गाविस वडा नं ७ , ८ र ९ का विरामीहरु स्वास्थ्य संस्थामा ल्याउन समस्या भएको छ । सो स्थान स्वास्थ्य संस्थाभन्दा धेरै टाढा भएका कारण बिरामीलाई स्वास्थ्य शिविरसम्म बोकेर ल्याउने समेत कोही छैनन् । स्थानीय हिमाल सिंहका अनुसार घरमा बिरामी परेकाहरूको अवस्था दयनीय हुँदै गएको छ । विरामीलाई स्वास्थ्य संस्थासम्म लैजाने नहुँदा विरामीहरु औछ्यानमा थला परेको स्थानियले बताउँछन् । एकै घरमा चार जनाभन्दा वढी मानिसहरु विरामी हुँदा उपचारका लागि स्वास्थ्य संस्थासम्म ल्याउन मुस्किल भएको हो । स्वास्थ्य चौकी टालेगाउँमा इञ्चार्ज लामाले दिएको जानकारी ७, ८ र ९ वडामा शिविर चलाउने तयारी भइरहेको छ । जाजरकोट सदरमुकामवाट सोमवार हेलिकप्टर मार्फत औषधी र थप स्वास्थ्य कर्मी थपिएको छ । यहाँको स्वास्थ्य संस्थामा विरामीको संख्या थेगिनसक्नु भएका कारण बाहिर चौरमै राखेर उपचार भइरहेको लामाले वताए । दिनरात उपचारमा खटिएका स्वास्थ्यकर्मीले जोखिम मोलेर उपचार सुरु गरेपनि राज्यको तर्फवाट सेवा सुविधा केही नभएको उनको गुनासो रहेको छ । आईतवार सेनाको टोलीले स्वाइन फ्लु रोगको यकिन गर्न दोस्रो पटक ल्याबमा जाँचका लागि अर्छानी गाविसवाट ११ जना बिरामीको खकारको नमुना काठमाडौ ंस्थित टेकु प्रयोगशालामा पठाइएको छ । यस्तै, जिल्लाको पजारु, सक्ला र पैंक गाविसमा बिरामीको संख्यामा कमी आएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्णवहादुर खत्रीले जानकारी दिए । यता, पजारु खटिएका पाटन अस्पतालका डा. प्रनिलमान सिंह प्रधान, अर्छानी खटिएका चौरजहारी सामुदायिक अस्पतालका डा. सुमन राई नेतृत्वको टोली र टालेगाउँ खटिएका सेनाको डाक्टर डा. प्रणय कार्की , सक्ला गाविसमा खटिएका विश्व स्वस्थ्य संगठनका डा. गुणनिधि शर्मा लगायतको टोली विरामी भएर सदरमुकाममा फर्किएको छ । रोग प्रभावित क्षेत्रमा उपचारमा खटिएका स्वास्थ्यकर्मीको टोलीले हाल ४ हजार वढी विरामीको उपचार गरेको सूचना अधिकारी खत्रीले बताए । डा. अच्युत आचार्य र डा. ज्ञानेन्द्र नेपाली आइतबार हेलिकप्टरबाट नायकबाडा र रोकायगाउँको लिम्सामा पुगेर उपचार सुरु गरेको नायकवाडा उपस्वास्थ्य चौकी नायकवाडका प्रमूख गणेस खड्काले जानकारी दिए । आइतवारदेखि जिल्लाको दशेरा,मजकोट र पजारुमा वीर अस्पतालबाट आएका डा. दुर्गा ढुंगाना, डा. कमलराज थापा, डा. कल्याण सापकोटा अटिएर उपचार गरिरहेका छन् । पैकमा डा. राजेन्द्र जिसी,डा चन्द्र खड्का,डा लक्ष्मी पौडेल,डाक्टर विनोद शर्मा, डा. भरत वोहरा र डा प्रेम चौधरी उपचारमा खटिएका छन् । त्यस्तै मंगलवार विहानैदेखि हेलिकप्टर मार्फत औषधी र डाक्टर पठाउने क्रम जारी रहको छ । मंगलवार पठाएका डाक्टरहरुमा सुभाष योगी,डा कृष्णचन्द्र अधिकारी, डा. तिलचना पाण्डे, डा आशिषा पौडेल, डा विजय सिंह र डा रमेश जिसी रहेका छन् ।