जाजरकोटमा उपचार गर्न पुगेका डाक्टर पनि बिरामी पर्न थाले

0 3

काठमाडौ बैशाख ८ – झण्डै तीनसाता यता फैलिएको माहामारीबाट जाजरकोटको रामीडाँडामा गएराती लालवीर नेपालीको मृत्यू भएसँगै मृतकको संख्या २६ पुगेको छ तर सरकारले भने २४ जनाको मात्र मृत्यू भएको जनाएको छ ।

आज गृहमन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले आफूहरुलाई आएको औपचारिक जानकारी अनुसार जाजरकोटमा २४ जनाको मात्र मृत्यु भएको बताए ।
त्यसमध्ये दुईजनाले स्वास्थ्य जाँच गराएका थिए अरु बाँकीको त्यतिकै मृत्यु भएको उनले बताए ।
निर्देशक मरासिनीले भने, ‘जाजरकोटमा चलाइएको स्वास्थ्य क्याम्पमा जँचाएकामध्ये दुईजनाको मात्र मृत्यु भएको छ अरुको ‘होमडेथ’ हो ।’
उनले अझै प्रष्ट पार्दै भने, ‘सबैको मृत्यू इन्फ्लुएञ्जाबाट मृत्यू भएको होइन, धेरै जसोको अन्य रोगबाट पनि मृत्यु भएको छ । त्यहाँको जनतामा चेतनाको कमी भएको कारण विभिन्न रोगहरु लागेका छन् । कोही दमबाट ग्रसित छन्, भने कोही टीभीबाट ग्रसित छन् । कोही चुरोट धेरै खाएर रोगी भएका छन् भने कोही धेरै रक्सी खाएर रोगी भएका छन् । चिसो ठाउँ भएका कारणले दिनभरि आगो तापेर बस्छन् र उनीहरुलाई छातीमा धुँवाले असर गरेको छ । त्यसैले सबैको इन्फुलिएन्जाबाट मृत्यु भएको होइन ।’
तर ती २४ जनाको मृत्यु के कारणले भएको भनि निर्देशक मरासिनीले स्पष्ट पार्न सकेनन् । उनले मृत्यु भएकाहरुको बारेमा जाँच बुझ भइरहेको भन्दै आवश्यक छानबिनपछि सबै कुरा बाहिर ल्याइने बताए ।
जाजरकोटको अवस्थालाई धरै भयावह नबनाउन समेत उनले सञ्चारकर्मीलाई आग्रह गरे ।
मृतकको शरिरलाई परिक्षण गरेर पनि रोगको पत्ता गाउन सकिन्थ्यो नि भनि जिज्ञासामा मरासिनीले त्यो आफूहरुले नगरेको स्वीकार गरे । विभिन्न कारण त्यो गर्न पनि नसिकिने उनको भनाई थियो ।
‘रुघाखोकी लाग्दैमा मान्छे तुरुन्तै मर्दैन तर त्यहाँ तुरुन्तका तुरुन्त मरेको देखिन्छ, यसबाट बुझ्न सकिन्छ कि अन्य रोगबाट पनि मान्छे मरेको छ,’ निर्देशक मरासिनीले भने्, ‘सबैको लक्षण पत्ता लाग्छ भने पनि छैन ।’
उनले जाजरकोटको अवस्थालाई यतिसम्म ढाकछोप गरे कि जाजरकोटमा स्वाइनफ्लु छ भन्ने कुरा आफ्नो जानकारी नआएको समेत बताए । तर, टेकुमा रहेको सरकारी प्रयोगशालाबाट नै जाजरकोटमा स्वाइनफ्लु रहेको पुष्टि भएको थियो ।
निर्देशक मरासिनीले हिजोसम्म चारहजार १७० जना विरामीले क्याम्पहरुबाट सेवा लिएको र जसमध्ये २५ प्रतिशतमा मात्र इन्फ्लुएञ्जाको लक्षण देखा परेको बताए । मरासिनीले जाजरकोटको प्रकोप नियन्त्रणमा आएको दावी गर्दै आजदेखि थप स्वास्थ्यकर्मी त्यहाँ खटिएको बताए ।
हाल त्यहाँ नौ वटा क्याम्पस सञ्चालनमा रहेको र त्यहाँ १८ चिकित्सक, ५१ स्वास्थ्यकर्मी तथा ६३ जना स्वयंसेवक सेवा दिइरहेको पनि उनले दावी गरे । उनले सो क्याम्पहरुमा इन्फ्लुएञ्जाका २० देखि २५ प्रतिशत विरामी मात्र आउने गरेको समेत दाबी गरे ।
के भन्छ एमाओवादीले ?
तर एकीकृत नेकपा माओवादीले सरकारको यो तथ्यांकसँग सहमत छैन । एमाओवादीको स्वास्थ्य विभागले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जाजरकोटको परिस्थिति र यहाँ सरकारले गरेको विश्लेषणमा आकाश पातालको फरक रहेको जनाएको छ ।
जाजरकोटका सभासद् समेत रहेका शक्ति बस्नेतले जाजरकोटको अवस्थालाई अझै पनि सरकारले आत्मसात नगरेको आरोप लगाए । ‘सरकारले महामारी शुरु भएको दिनदेखि नै रोग आफ्नो नियन्त्रणमा आइसकेको भनिरहेको तर दिनका दिन विरामी बढ्या बढ्यैछ मान्छे मर्या मर्यैछ अनि सरकारको कुरामाथि कसरी विश्वास गर्ने,?’ उनले भने, ‘जाजरकोटका आठ यस्ता प्रभावित क्षेत्र छन् जहाँ चिकित्सक पुगेकै छैनन्, घरमा विरामी भएर आम जनता छट्पटाई रहेका छन् तर सरकार बेखबर छन् ।’
पल्लो गाउँमा स्वास्थ्य क्याम्प छ रे, ती विरामीलाई थाहा छ तर जान सक्दैनन् किनभने यातायातको सुविधा छैन त्यसैले सरकारले तत्कालै हेलिकप्टरबाट घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने सभासद् वस्नेतले माग गरे ।
उनले त्यहाँ गएका डाक्टरहरुले झरा टार्ने काम मात्र गरेको अरोप लगाउँदै पुरै समय विरामीलाई जाँच्ने काम नगरेको बताए ।
एमाओवादी स्वास्थ्य विभागका इन्चार्ज गिरीराज मण्ी पोखरेलले जाजरकोटलाई महामारी क्षेत्र घोषणा गर्नुपर्ने माग गरे । महामारी क्षेत्र घोषणा गरी विशेष बजेट परिचालन गरी त्यहाँ जनतालाई सुविधा दिनुपर्ने बताउँदै उनले आफूहरु विपक्षि दलका भएपनि सरकारलाई त्यस क्षेत्रका लागि हरेक सहयोग गर्न तयार रहेको बताए ।