बालिका आत्महत्या र नजन्मिएको बच्चा

0 23

प्रशव पीडा धेरै लामो समय रह्यो भने आमा र पेटभित्रको बच्चा दुवैलाई खतरा हुन्छ । आज देशको अवस्था पनि त्यस्तै छ । सार्थक संविधान समयमा नआउँदा राज्य नै चरम निराशामा छ । संविधानसभा जन्मदाता पार्टी नै सिद्धिने र संविधानसभाबाट संविधान पनि नआउनेजस्तो आभास भइरहेको छ ।

यो निराशाको घडीमा देशले अनेक समस्या भोगिरहेको छ । गरिबी, अभाव, अशिक्षा हटाउन सकिएको छैन । देशको महत्वपूर्ण जनशक्ति युवाको ठूलो संख्या वैदेशिक रोजगारीदेखि अनेक अवसरका लागि बिदेसिन बाध्य छ । घरमा साना छोराछोरीलाई छाडेर बाबुआमा नै रोजगारीका लागि बिदेसिएका पनि छन् ।

परिवार तथा समाजमा आमा र सन्तानको सम्बन्ध नै विशेष हुन्छ । माया, ममता शब्दको खास सार्थकता पनि आमा र सन्तानकै सम्बन्धमा हुन्छ । तर, आज नेपालमा कतिपय आमाहरु अनेक घरेलु र बाहिरी हिंसाको सिकार हुँदै छन्, बलात्कृत हुँदै छन्, जिउँदै जलाइँदै र मारिँदै पनि छन् । कतिपय आत्महत्या गर्न पनि बाध्य भएका छन् । यसले बालबालिकालाई पनि नकारात्मक प्रभाव पारेको छ ।

आमाहरु नै लैंगिकदेखि अन्य हिंसाको चपेटामा परेको यथार्थ एकातिर छ, प्रसंग पछिल्लोपटक बालबालिकाले शृंखलाबद्ध गरेको सामूहिक आत्महत्याको हो । नयाँ वर्षको संघारमै डलेल्धुराका चार किशोरीले आत्महत्या गरे । चारैजना १६ वर्षमुनिका थिए— १४ वर्षीया ममता चुनारा, १३ वर्षीया नितु लोहार, १४ वर्षीया पूजा कोली । यी चारैजना ओठ निचोर्दा दूध आउनेजस्ता किशोरीले महाकाली नदीमा हामफाली आत्महत्या गरे । कारण, यिनीहरुले स्कुलको परीक्षा बिगारेका थिए । यो घटनाको घाउ आलै छँदा लगत्तै तीन किशोरीले सामूहिक आत्महत्या गरेको खबर आयो । बझाङका १४ वर्षीया जुनतारा पुजारी, उही उमेरकी रेखा पुजारा र १५ वर्षीया कविता बोहोराले वनमा गई रुखमा झुन्डिएर आत्महत्या गरे ।

हाम्रो कानुनले १६ वर्ष र १६ वर्ष मुनिकालाई बालबालिका मान्छ । अतः माथि आत्महत्या गर्ने सबै बालिका हुन् । त्यो मात्रै नभएर आत्महत्या गर्ने क्षेत्र सुदूरपश्चिम परेको छ । जुन क्षेत्रलाई राज्यले विकासको मूलधारमा ल्याउन सकेको छैन । जुन क्षेत्रका जनता आधारभूत अधिकारबाट वञ्चित छन् ।

देशमा दुर्गम क्षेत्र मात्र नभएर सुगमकै निम्न वर्गका धेरैले एसएलसीसम्मको परीक्षा दिन पाउँदैनन् । मुस्किलले परीक्षा दिन पाएका कतिपय असफल हुन्छन् । असफल हुनु खासगरी बालिकाका निम्ति बज्रपात बन्छ । किनभने, छोराले परीक्षामा राम्रो नतिजा नल्याए पनि अर्कोपटक मौका दिइन्छ । तर, छोरीलाई दिइँदैन । छोरीप्रति उदार भावना नराख्ने नेपाली समाजको पुरानो रोग हो, जुन अझै निको हुन सकेको छैन । अझै पनि हामीले छोरीलाई अर्काको घर गरिखाने भनी लिन्छौँ । वास्तवमा यो लैंगिक विभेदको सोच हामीले सबैभन्दा पहिले हटाउन जरुरी छ । यसमा राज्यले कडा र योजनाबद्ध कदम चाल्नैपर्छ ।

बालबालिका किन आत्महत्या गर्दै छन् ? यो गम्भीर प्रश्न हो । यसमा सीधै राज्यसत्ता वा सरकार जवाफदेही हुनुपर्छ । समाजले यस प्रश्नको जवाफ खोज्नुपर्छ । यस्ता घटनालाई राजनेताले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

पछिल्लोपटकको बालिका सामूहिक आत्महत्याको शृंखला सुदूरपश्चिममा भएको छ । यसले के संकेत गर्छ भने, सुदूरपश्चिममा लैंगिक हिंसा केही बढी नै छ । कुनै पनि मानवीय विभेद वा हिंसा हुनु चेतनाको कमी त हुँदै हो । तर, चेतनाको कमी किन भयो ? यो मुख्य प्रश्न हो । यसको जवाफमा आउँछ, राज्यले देशैभरिका जनतालाई आधारभूत अधिकार पु¥याएको छैन ।

यो क्षेत्र अझै पनि सामन्ती पितृसत्तात्मक संस्कृतिले ग्रस्त छ । त्यति मात्र नभएर यो क्षेत्रीय रुपमा काठमाडौंबाट शासित छ । यस्तै घटना वागमतीमा घटेको हुन्थ्यो भने, पूरै नेपाल ठप्प हुन्थ्यो, अन्तर्राष्ट्रियकरण नै हुन्थ्यो ।

बालबालिका किन आत्महत्या गर्दै छन् ? यो गम्भीर प्रश्न हो । यसमा सीधै राज्यसत्ता वा सरकार जवाफदेही हुनुपर्छ । समाजले यस प्रश्नको जवाफ खोज्नुपर्छ । यस्ता घटनालाई राजनेताले गम्भीरतापूर्वक सोच्नुपर्छ ।

विकट ग्रामीण भेगमा मात्रै होइन, सहर–बजारमै पनि कतिपयले मदिरा सेवन गरी श्रीमती कुट्ने प्रवृत्ति उस्तै छ । घरमा हुने घरेलु हिंसाले बालबालिकाको मानसिकतामा गहिरो छाप पार्छ । घरमै हिंसा देख्न र भोग्न परेपछि बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने नै भयो । अर्कोतिर गरिबी, बेराजगारीको समस्याले देश नै आक्रान्त छ । साना छोराछोरी छोडेर बाबु वा आमा वैदेशिक रोजगारीका लागि गएको अवस्था पनि छ । यसले पनि छोराछोरीले आफन्तसँगको विछोडको पीडा भोग्नुपर्ने अवस्था छ । साना बालबालिकाले बाबुआमाबाट माया र संस्कार सिक्न नपाएको अवस्था पनि छ ।

सूचना र प्रविधिको विकासले पनि अहिले समाजमा मानिसबीचको नाता सम्बन्ध बिग्रँदो छ । खासगरी मध्यम र निम्न वर्गीय मानिसमा यसको प्रभाव बढी पाउन सकिन्छ । उच्च र धनाढ्य वर्गले त चेतना र सामाजिक प्रतिष्ठाका कारण पनि सकभर नाता सम्बन्धमा दरार आउन दिँदैनन् । तर, मध्यम र निम्न वर्गका मानिसको चेतनाको कमी, गरिबी, देखासिकीका कारण पनि पारिवारिक नाता सम्बन्ध ध्वस्त हुन पुगेको पाइन्छ । श्रीमानले विदेशमा पैसा कमाउने यता श्रीमतीले पैसा उडाउने कुलतमा लाग्ने, श्रीमती सधैँ काममा घोटिइरहने तर श्रीमान् हरदिन मदिरा सेवन गर्ने आदि विकृति पनि हाम्रो समाजमा विद्यमान छन् । यसको सबैभन्दा बढी नकारात्मक प्रभाव बालबालिकामा पर्ने गर्छ । अर्कोतिर, आमाबाबुबाट माया र रेखदेख नहुँदा, घरमा शान्ति र सुखको वातावरण नहुँदा, सुन्दर भविष्यको प्रत्याभूति नहँुदा बालबालिकामा निराशा उत्पन्न हुन पुग्छ । यस्ता बालिका घरपरिवार र छरछिमेकबाटै बलात्कृत हुन पनि सक्छन् । घरमा माया र राम्रो रेखदेख नभएपछि कतिपय अवस्थामा बालबालिका भड्किएर हिँड्छन् । र, सडकबालबालिको रुपमा सहरबजारमा देखिन्छन् ।

जनता कहाँ–कस्तो अवस्थामा, कुन मनोविज्ञानमा छन् भनी बुझ्ने र त्यसअनुसारको समाधानको उपाय खोज्ने राज्यसत्ता संयन्त्रले नै हो । तर, अहिले राज्यसत्ता निरीहजस्तै छ ।

पछिल्ला दिन बालिका जसरी बालिका आत्महत्याका घटना बढे, यसले के र कतातिर संकेत गर्छ त ? यो गम्भीर सवाल हो । आजका बालबालिका भोलिका युवा र वृद्ध हुन् । अनि, महिला परिवारका शिक्षिका हुन्, जसले सन्तानलाई केही न केही सिकाउँछन् । तसर्थ, घर–परिवारमा महिला र बालबालिकाको मानसिकतामा नकारात्मक प्रभाव पर्ने अवस्था आउनु हुँदैन । तर, यसमा व्यक्ति र परिवारले मात्रै चाहेर हुँदैन । यसमा त राज्यसत्ताले नै प्रभावकारी र हस्तक्षेपकारी भूमिका निभाउनैपर्छ ।

जनता कहाँ–कस्तो अवस्थामा, कुन मनोविज्ञानमा छन् भनी बुझ्ने र त्यसअनुसारको समाधानको उपाय खोज्ने राज्यसत्ता संयन्त्रले नै हो । तर, अहिले राज्यसत्ता निरीहजस्तै छ ।

राजनीतिक स्थिरता नहुँदा, जनता चरम निराशा र गरिबीमा हुँदा समाजमा विभिन्न विकृति उब्जन्छन् । चोरी, डकैतीका घटना बढ्न थाल्छन् । बलात्कार बढ्न थाल्छन् । यसले पूरै समाजमा डर, त्रास र धम्कीको परिस्थिति सिर्जना हुन्छ । यसको असर अन्ततः परिवारभित्रको सबैभन्दा कान्छा र कमजोरलाई पर्न जान्छ ।
आर्थिक हिसाबले पनि मध्यम र निम्न वर्गीय परिवारभित्र झगडा र खटपट बढी हुन्छ । कारण, घरमा अभाव हुन्छ । घर–परिवारमा अभाव भएपछि थोरै चिजमा झगडा हुन्छ । यस्ता झगडा धेरैजसो अंशबन्डा, दाइजो, जग्गाको साँधका नाममा हुने गर्छन् । यी र यस्ता समस्या एउटा परिवारको मात्रै होइन, देशकै समस्या हो । त्यसैले राज्यले नै यसमा सोच्नुपर्ने हुन्छ ।

अहिले राज्यसत्ता निरीहजस्तै छ । किनभने, अहिले देश सार्थक संविधान बनाउने बहस र छलफलमा छ । देशका सबै क्षेत्र, वर्ग, लिंगलाई समेट्ने संविधान बनाउनुपर्ने छ । संविधान नबन्दा स्थानीय चुनाव हुन सकेको छैन । त्यसैले राज्यसत्ताको पहुँच अहिले स्थानीय स्तर खासगरी विकट क्षेत्रमा पुग्न सकेको छैन ।

समाजलाई प्रभाव पार्ने सबैभन्दा महत्वपूर्ण विषय नै पारिवारिक सम्बन्ध हो । तर, अहिले हाम्रोमा गरिबी र अभावका कारण पारिवारिक सम्बन्ध मजबुत हुन पाइरहेको छैन । पुँजी पलायनसँगै मानिस पनि पलायन भइरहेको अवस्था छ । रोजगारीका लागि खाडी मुलुक पुग्नु एउटा बाध्यकारी अवस्था एकातिर छ । अर्कोतिर, हाम्रोमा सरकारका मन्त्री, सभासद्, सरकारी कर्मचारी समेत छोराछोरीले विदेशमा स्थायी बसोबासको अनुमति पाउँदा गर्व गर्ने गर्छन् । यसो हुँदा समाजबाट एउटा महत्वपूर्ण जनशक्ति युवाको पलायन मात्रै भएको छैन, सामाजिक सम्बन्धलाई पनि खलबल्याएको छ ।

समग्रमा हेर्दा बालबालिकासम्म हुन पुगेको हिंसाका घटनाले यो संकेत गर्छ, अहिले देश, समाज, परिवार नै विखडन हुँदै गइरहेको छ ।

अतः अहिलेको चुनौती भनेको यो प्रशव पीडालाई नलम्ब्याईकन शल्यक्रिया गरी आमा र बच्चा दुवैलाई बचाउनु नै हो । सुरक्षित प्रसूति गराउनु हो । यहाँ आमाको विम्बको रूपमा नेपालीका पार्टीहरु हुन् । बच्चा जन्मनु भनेको सबै नेपालीलाई समेट्ने अर्थात् जाजरकोटको बिरामीले जाजरकोटमै उपचार पाउने खालको व्यवस्थासहितको संविधान बन्नु हो । संविधान संविधानसभाबाटै आओस् तर संसदीय विधिबाट होइन । यसको मतलब, बहुमतको बलले अल्पसंख्यक, पिछडिएको वर्ग र क्षेत्रको अधिकार नकुल्चियोस् । कुल्चिइयो भने बच्चा जन्मदा अंगभंग हुन सक्छ । संविधानरुपी बच्चा सबै नेपालीलाई समान अधिकार दिने सबल र सक्षम जन्मनैपर्छ ।