हुम्लामा भेटियो जंगली चौरीगाई

0 5

काठमाडौं,वैशाख ८ – पचपन्न वर्षअघि नै लोप भएको मानिएको संसारकै दुर्लभ वन्यजन्तु जंगली चौरीगाई हुम्लाको लिमी गाविसमा फेला परेको छ ।

विश्वकै दुर्लभ प्रजातिमा रहेको जंगली चौंरीगाई प्रकृतिका साथीहरु नामक संस्थाका युवा अनुसन्धानकर्ताले दुई वर्ष नियभित अध्ययनपछि फेला पारेका हुन् ।

संस्थाका निर्देशक तथा अनुसन्धान प्रमुख राजु आचार्यले लिमीमा पहिलोपटक फेला परेको चौंरीगाईसहित अन्य दुर्लभ वन्यजन्तुको तस्बिर र वृत्तचित्र सोमबार एक कार्यक्रम सार्वजनिक गरे ।

‘म व्यक्तिगत रुपमा १४ वर्षदेखि यसको खोजीमा थिएँ । हाम्रो टोली २ वर्षदेखि यसमा अनुसन्धान गरिरहेको थियो’, टोली प्रमुख आचार्यले भने,‘हामीले चौरीगाईको पहिलो तस्बिर ०७१ जेठ ३१ गते खिचेका हौं ।’

तस्बिर लिइएको जनावर जंगली चौरीगाई हो–होइन पुष्टि गर्न ९ महिना लागेको आचार्यले जानकारी दिए । आजको नागरिक दैनिकमा खबर छ ।