कालीकोटमा पनि स्वाइन फ्लु संक्रमणको आशंका

0 6

८ वैशाख, कालीकोट । जाजरकोटमा स्वाइन फ्लु नियन्त्रणमा आउन नसकिरहेको बेला कालीकोटको दुर्गम मेहलमुडी गाविसमा पनि चार दर्जन बढी विरामी भएका छन् ।

मेहलमुडी गाविसको वडा नम्बर ५ का ५०/६० जना विरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सिनियर अहेव कटक महतले बताए । विरामी भएकाहरु मौसमी फ्लुका कारण वा स्वाइन फ्लु हो भन्ने थाहा हुन नसकेको जिल्ला जनस्वास्थ्य कालीकोटले जनाएको छ ।

मेहलमुडी गाविस ५ पगाती र टिकुवा गाउँका बासिन्दा विरामी भएका हुन् । स्वाइन फ्लुको विरामी भएको हुन सक्ने भन्दै गाउँलेहरु आतंकित बनेको स्थानीय जनकराज योगीले बताए ।

गाउँका चार दर्जन बढी एकैपटक विरामी परेपछि जिल्लास्थित स्वास्थ्यकर्मीको टोली आजै त्यसतर्फ जाने तयारी गरेको अहेव महतले बताए ।

विरामी भएकाहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षणहरु देखिएका छन् । विरामी भएकाहरु स्थानीय मेहलमुडी उपस्वास्थ्य चौकीमा आउने क्रम जारी रहेको स्थानीय जनकराज योगीले जानकारी दिए ।

जिल्ला सदरमुकामबाट मेहलमुडी पुग्न झण्डै एक दिनको पैदल हिड्नु पर्दछ । हिउँदेवाली लगाएर रोजगारीको लागि भारत जाने युवाहरु यतिबेला हिउँदे बाली भित्राउन भन्दै गाउँ फर्किने गर्दछन् । भारतबाट फर्किएकाहरुले स्वाइन फ्लु भित्राएको हुन सक्ने आशंका गरिएको छ ।

त्यस्तै रामनाकोटा गाविसको वडा नम्बर ९ खार्दुमा पनि एकसय जना भन्दा धेरै बिरामी परेका छन् । बिरामीको स्वास्थ्य उपचारका लागि स्वास्थ्यकर्मीको टोलीलाई खार्दु पठाइएको कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।

स्थानीय शिक्षक तुलाराम कठायतका अनुसार रामनाकोट गाविस वडानम्बर ७ खार्दुगाउँमा एक बालिकाको मृत्यु भएको छ । कृष्णलाल कठायतकी तीन वर्षकी छोरी रिना कठायतको मृत्यु भएको हो । खार्दुगाउँमा एक हप्तादेखि मानिसहरु बिरामी परेका छन् ।