‘निको भएर जाजरकोट जान्छु, काठमाडौंप्रति घीन लागिरहेछ’

0 21

Ramkrishna Giri, Jajarkot

७ वैशाख, काठमाडौं । राजधानीको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्दा एक युवक मास्क लगाएर क्याबिन नं १ मा लमतन्न सुतिरहेका थिए । साँघुरो र गुम्सिने खालको कोठा हेर्दा प्रहरी हिरासतजस्तै देखिन्थ्यो । त्यहाँ सुतेका विरामीचाँहि स्वाइन फ्लु लागेर जाजरकोटबाट आइपुगेका स्वाथ्यकर्मी अहेव रामकृष्ण गिरी रहेछन् ।

उमेरले २३ वर्षमात्रै लागेका गिरी जाजरकोटको पैंक उपस्वास्थ्यचौकीमा उपचार गर्दागर्दै स्वाइनफ्लुले भेटेपछि काठमाडौं आएका हुन् । गाउँबाट मानिस र घोडाको सहारामा सदरमुकाम आएपछि उनलाई जिल्ला स्वास्थ्य कार्यालयले गाडीको व्यवस्था गरेर नेपालगञ्ज झार्‍यो । त्यहाँबाट उनी आफ्नै खर्चले काठमाडौं आए र टेकू अस्पतालमा भर्ना भए । परीक्षण गराउँदा उनमा स्वाइन फ्लु रहेको प्रमाणित भयो ।

पाल्पाको तानसेनमा पढेर फागुन १ गतेदेखि जाजरकोटको ग्रामीण इलाकामा स्वास्थ्य इञ्चार्जका रुपमा खटिएका गिरी निको भएपछि जाजरकोट र्फकने ध्येयमा छन् । ‘अब म बाँच्छु होला, निको भएपछि आफ्नै कार्यक्षेत्रमा फर्कन्छु’ जाजरकोटमै जन्मेर स्वाथ्यकर्मी बनेका गिरीले अनलाइनखबरसँग भने-‘यहाँसम्म आइपुग्दा मलाई केन्द्र (काठमाडौं) देखि घीन लागिरहेको छ, अहिलेसम्म जाजरकोट सदरमुकाममा समेत स्वाइनफ्लुको परीक्षण गर्ने उपकरण छैन । केन्द्रले गाउँसम्म स्वास्थ्यसेवा पुर्‍याउँदैन, हामी साना कर्मचारीले जनताबाट दिनहुँ गाली खाइरहनुपरेको छ ।’

जाजरकोटदेखि काठमाडौंसम्मको यात्रा

Ramkrishna Giri, Jajarkot, swine flue

म सदरमुकामबाट निकै टाढा रहेको पैंक स्वास्थ्य चौकीमा कार्यरत छु । त्यहाँ हालसालै गएको हो । लोकसेवा पास गरेर यही फागुन १ गतेदेखि यहाँ हाजिर भएको हुँ ।

मेरो घर जाजरकोट जिल्लाको सदरमुकाम खलंगासँग जोडिएको जगातीपुर गाविस-९ कोठी भन्ने ठाउँमा पर्दछ । मैले पाल्पाको तानसेनस्थित सिद्धार्थ इन्टिच्यूट अफ टेक्निकल इन्टिच्यूटमा अध्ययन गरेको हो । म अहिले २३ वर्षको भएको छु । विवाह गरेको छैन ।

बिरामी भएपछि म गाउँबाट बैसाख २ गते हिँडेर सदरमुकाम आएँ । सदरमुकाम एक रात बसेँ । अनि नेपालगञ्ज आएँ । नेपालगञ्जबाट प्लेनमा काठमाडौ आइपुगेको हो ।

सदरमुकामदेखि जिल्लाका स्वास्थ्यकर्मीहरुले नै गाडी मगाइदिएर आएको हो । त्यसपछि नेपालगञ्जबाट म आफै आएको छु । के हुन्छ, खै थाहा छैन । नेपालगञ्जदेखि दाइले टिकट काटिदिनु भएको हो । अहिले टेकु हस्पिटलमा उपचार भइरहेको छ । टेकु हस्पिटलको क्याविनको १ नम्बरको बेडमा छु ।

गाउँबाट बिरामीहरु सदरमुकाम आउन निकै कठिन छ । बाटो पनि निकै अप्ठेरो छ । मलाई ल्याउँदाखेरि दुईवटा घोडा परिवर्तन गर्नुपर्‍यो । ६/७ जना मान्छे परिवर्तन गर्नुपर्‍यो । त्यसपछि अन्तिम अवस्थामा पुलिस गएर मलाई खलंगा ल्याएको हो । त्यसैले त्यहाँका मानिसहरुलाई सदरमुकाम ल्याउन निकै कठिन छ ।

एक त उनीहरु आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका छन् । बाटो पनि त्यस्तै छ । त्यसैले हरेक हिसावले खलंगासम्म आउने अवस्था छैन ।

मजस्तै अरु स्वास्थ्यकर्मीहरु पनि विरामी भएको हुन सक्छ । मलाई नै जिल्लामा तपाईँलाई खासै केही समस्या छैन, तपाईँले किन यस्तो कुरा गर्नुभएको भन्नुभएको थियो । तर, मैले परीक्षण गर्नुपर्छ भनें । आफ्नो समस्या आफूलाई परेपछि मात्रै थाहा हुँदोरहेछ । म एकपटक परीक्षण गर्न जान्छु भनेर आएको हो ।

म यहाँ आएर परीक्षण गर्दा फ्लु पोजेटिभ भएको थाहा पाइसकेपछि मात्रै उहाँहरुले विश्वास गर्नुभएको हो । हाम्रा अरु स्वास्थ्यकर्मी साथीहरु पनि विरामी हुनुहुन्छ होला । सायद उहाँहरुलाई थाहा छैन, कि । परीक्षण गरेपछि मात्रै न थाहा हुने हो ।

मलाई स्वाइन फ्लु भएको कुरा त यहाँ काठमाडौ आइसकेपछि मात्रै पत्ता लागेको हो । जाजरकोटमा यस्तो रोगको बारेमा जाँच्ने कुनै प्रविधि छैन

मैले देखेको गाउँको कथा

जाजरकोटको टाले गाउँबाट संक्रमण फैलिएको हो । टालेगाउँमा एक विद्यार्थी विरामी भएर दुई तीन दिनमा नै मृत्यु भयो । पैयुँ गाविसका विद्यार्थीहरु एसएलसी दिन टालेगाउँ गएका थिए । एसएलसी दिएर चैत १४-१५ गतेतिर उनीहरु फर्किएपछि नै गाउँमा स्वाइन फ्लु भित्रिएको हो । त्यसपछि बिरामीहरु हृवात्तै बढे ।

जतिबेला १२/१३ गतेतिर म जिल्लाको तालिममा थिएँ । त्यसपछि मैले औषधि लिएर उता फर्किएँ । म गएपछि नै ९/१० जना बृद्धवृद्धाहरुको ज्यान गइसकेको थियो । अहिले कति मरे भन्ने मलाई थाहा छैन ।

म कार्यरहत रहेको जाजरकोटको उपस्वास्थ्य चौकीमा डा. दीपक पुन नजाँदै मैले सयजना जतिलाई औषधि वितरण गरेको छु । त्यसपछि सर जानुभयो । पछि जिल्लाको स्वाथ्यकर्मीहरुको टोली गएपछि झण्डै ११ सय जनालाई जतिलाई क्याम्पिङको रुपमा औषधि वितरण गर्‍यौं ।

चैत २२/२३ गते भन्दा अगाडि नै दैनिक ३०/३५ जना विरामीहरु आउने गरेका थिए । त्यतिबेला त्यो गाउँमा १५/१६ सय विरामी थिए । अहिलेसम्म बढेको छ, कि नियन्त्रण भएर फर्किए, मलाई थाहा छैन ।

पहिले डा. दीपक पुन जानु भएको हो । उहाँ मसँगै सदरमुकाम आउनुभयो । त्यही दिनमा डा. दिभान्त जानुभयो । उहाँ फर्किनुभयो कि के भयो थाहा छैन । उहाँ पनि जिल्लाबाट नै जानुभएको डाक्टर हो ।

केन्द्रबाट त कोही पनि पुगेका थिएनन् । २८ गते हो कि मैले ठ्याक्कै भुलेँ, यताबाट हेलिकोप्टरमा मन्त्री, सभासद ज्यूहरु, केन्द्रको ल्याबतिरको डबल बिसी हुनुहुन्थ्यो, उहाँ जानुभएको थियो । डबल विसी बस्नुभयो, अरु एकछिनमै फर्किनुभयो ।

क्षेत्रबाट पीएचओ चेतन वाग्ले र डा. दीपक मलाई लिएर आउनुभयो । डबल बिसी मलाई ल्याउनुभन्दा एक दिन अगाडि नै सदरमुकाम फर्किनुभयो ।

म यता आइसकेपछि त्यहाँ कार्यरत तरंगबहादुर थापा हुनुहुन्छ । उहाँ पनि मसँग नै जानुभएको हो । अनमी विमला आरसी, अनमी चन्द्रकुमारी आरसी र कार्यालय सहयोगी अमरबहादुर सार्की उपस्वास्थ्य चौकीमा हुनुहुन्थ्यो । घरङवा हाम्रो नजिकै जोडिएको इलाका हो, घरङवादेखि पनि अनमी चन्दनकुमारी शाह र हिमालय राना हाम्रो स्वास्थ्यचौकीमा जानुभएको थियो ।

स्वास्थ्य चौकीमा हामी जम्मा ५ जना स्टाफ हो । दुई अहेव, एक अनमी, एक करार अनमी र एकजना कार्यालय सहयोगी गरी ५ जनाको दरबन्दी छ ।

अन्य रोग लागेकामा जोखिम बढी

बिरामीहरु मध्ये वृद्धवृद्धाहरु नै बढी थिए । स्वाइन फ्लुबाट मर्नेहरुमा रोगीहरु नै बढी छन् । स्वाइन फ्लु भएपछि नै उनीहरु मरेको हो जस्तो मलाई अनुभव भएको छ ।

म नै स्वस्थजस्तो देखिन्थेँ । तर, यहाँ आएर हेर्दा पोजेटिभ देखियो । मलाई अन्य रोगले नै हो कि जस्तो लाग्थ्यो । तर ,अहिले मलाई के महसुस भएको छ भने पहिले अरु नै रोग र अहिले स्वाइन फ्लु लागिसकेपछि मानिसहरु मरेका हुन् ।

केटाकेटीहरु चाँही त्यति मरेका छैनन् । केटाकेटीहरु बिरामी त धेरै नै थिए । तर, उनीहरुको इम्युनिटी पावर बढी भएकोले गर्दा बाँच्न सफल भए कि जस्तो लाग्छ मलाई । विरामी त वृद्धवृद्धा, बालबालिका, महिलाहरु सबै नै छन् । घरमा पाँच जना परिवारका सदस्य हुनुहुन्छ भने तीनजना विरामी हुनुहुन्छ ।

म छिट्टै निको भएर त्यहाँका मानिसहरुको सेवा गर्न चाहन्छु । म अहिले पनि त्यहाँको विरामीहरुको पीडा झल्झली सम्झिहेको छु

जाजरकोटमा जाचिँदैन स्वाइन फ्लु

मलाई स्वाइन फ्लु भएको कुरा त यहाँ काठमाडौ आइसकेपछि मात्रै पत्ता लागेको हो । जाजरकोटमा यस्तो रोगको बारेमा जाँच्ने कुनै प्रविधिहरु छैन । यताबाट टोली गइसकेपछि केही बिरामीको मात्रै स्याम्पल ल्याइएको थियो । ती स्याम्पलमध्ये तीनजनाको पोजेटिभ भेटियो ।

नमूना लिएको चार/पाँच दिनपछि मात्रै रिपोर्ट आएपछि यहाँ स्वाइन फ्लु रहेछ भन्ने प्रमाणित भयो । तैपनि त्यतिखेर जनता आतंकित हुन्छन् भनेर सिजनल फ्लु भन्ने कुरा गरियो ।

त्यो अवस्थामा ज्वरो आएको थियो । टाउको दुख्ने, छाती दुख्ने, घाँटी पनि थोरै थोरै दुख्ने भइरहेको थियो । त्यो अवस्थामा मलाई स्वाइन फ्लु भयो भन्ने शंका लाग्यो । त्यसपछि आत्तिएर खलंगासम्म मलाई पुर्‍याउन पठाएँ र म काठमाडौ आएको हुँ ।

औषधि दिइन्छ, स्वाइन फ्लु थाहा हुँदैन

हामीले त त्यहाँका बिरामीहरुलाई ज्वरो आउँदा खाने औषधिहरु दिएका थियौं । ती औषधिहरु स्वाइन फ्लुको औषधि नै होइनन् । पछि हेलिकप्टरमा स्वाइन फ्लुका केही औषधिहरु गयो । सानो परिमाणमा मात्रै त्यहाँ औषधि गएको हो ।

तीन जनाको पोजेटिभ आइसकेपछि १०० डिग्री फरेनहाइड टेम्प्रेचर आएपछि उहाँहरुलाई फ्लुको औषधि चलाउनुपर्छ भनेर डा. दीपक पुनले पनि म हुँदा नै फ्लुको औषधि चलाउनुभयो । औषधि कति गयो मलाई थाहा छैन । पहिले ४० जनाको लागि गएको थियो ।

त्यहाँको स्वास्थ्य चौकीमा मात्र होइन, जिल्ला अस्पतालमा पनि स्वाइन फ्लु हो कि होइन, भन्ने परीक्षण गर्ने प्रविधि छैन । हेलिकप्टरमा जानेहरुले विरामीको र्‍याल, रगत वा घाँटीको ल्याउने हो । यसरी नै यहाँ ल्याएपछि मात्रै परीक्षण हुने हो । जाजरकोटमै परीक्षणको प्रविधि छैन ।

काठमाडौबाट गएको टोलीले रोग परीक्षणका लागि प्रविधि लिएर गएको छैन । त्यहाँबाट स्याम्पल ल्याउने काम मात्रै गरेको छ । म त्यहाँ हुँदासम्म त्यही नै गरेको थियो, अहिले मलाई थाहा छैन ।

म यहाँ आइसकेपछि पनि शुक्रवार आएर आइतबारसम्म कुर्नुपर्‍यो । स्वाइन फ्लुको रिपोर्ट आउन चार दिन लाग्छ कि कति दिन लाग्छ, मलाई थाहा भएन ।

जाजरकोटमै सधैं किन यस्तो हुन्छ ?

Jajarkot-Paink-VDC

अहिले पनि स्थानीयमा जनचेतना छैन । हामी पढेको मान्छे, धेरथोर केही जानकारी भएको मान्छेलाई त यस्तो भयो भने आम जनताको अवस्था के होला ? सहजै अनुमान गर्न सक्नुहुन्छ ।

राज्यले पनि केन्द्रलाई मात्र हेर्नुभएन । जाजरकोटमा मात्र किन यस्तो हुन्छ ? ०६५/०६६ मा झाडापखालाको महामारी फैलियो । अहिले फेरि स्वाइन फ्लूको महामारी फैलिएको छ । भनेपछि राज्यले जाजरकोटको समस्यालाई सम्बोधन गर्नुपर्दैन ?

प्राथमिक उपचारबारे जानकारीसम्म भएको भए यस्तो अवस्था हुँदैनथ्यो । त्यो पनि छैन । राज्यले पनि त्यति चासो दिएको जस्तो लागेन । म आफैंले तीनवटा केस हेरेँ । बिरामीको नामै थाहा छ हामीलाई । त्यो विरामीलाई समयमा नै उपचार गर्नुपथ्र्यो । त्यहाँ मेडिकलहरु पनि छैन । सरकारी स्वास्थ्य चौकीहरुमा नै भर पर्नुपर्ने अवस्था छ ।

आर्थिक हिसाव कमजोर छन् धेरै मानिसहरु । त्यही भएर होला, स्वास्थ्य संस्थामा नभएको औषधी किनेर खान सक्नुहुन्न र बरु रोगलाई पालेर बस्नुहुन्छ । किन्ने ठाउँ पनि छैन । तर, मुख्य आर्थिक समस्या हो ।

औषधि नहुँदा हामी दिनहुँ गाली खान्छौं

म स्वास्थ्यचौकीमा हुँदा दैनिक स्वाइन फ्लूका विरामीहरु आउँथे । तर, केही औषधी नहुँदा मलाई नै गाली गर्नुहुन्थ्यो । यो घर किन बनाएको ? डाक्टर बनेर किन आएको ? सरकारको पैसा खाने, अनि हामीलाई औषधी नदिने भनेर भन्नुहुन्थ्यो ।

हामीसँग सबै औषधी हुँदैन । स्वास्थ्य चौकीमा हामीलाई २५ थरिका मात्र औषधी जान्छ । विभिन्न कारणले, त्यो पनि समय पुग्दैन । हामीलाई २/४ पोका औषधी मात्र पुग्छ ।

Ramkrishna Giri, Jajarkot (2)यहाँ घीन लागिरहेछ, निको भएर जाजरकोट जान्छु

म क्याविन नम्बर १ मा छु । मैले औषधि खाएको अबको ३/४ दिन भयो । अहिले स्वास्थ्यमा सुधार भएको छ, आफैंले पनि महसुस गरेको छु । मेरो ज्वरो पनि केही कम भएको छ ।

तर, रिपोर्ट आज आयो । स्वाइन फ्लू पोजेटिभ देखियो । अस्ति आशंका मात्र थियो । हेरौं के हुन्छ … । स्वाइन फ्लू छ भन्ने त भयो । तैपनि म बाँच्छु । किनकि मेरो इम्युनिटी पावर छ ।

जाजरकोटमा अझै पनि फ्लू नियन्त्रणमा आएको छैन । म छिट्टै निको भएर त्यहाँका मानिसहरुको सेवा गर्न चाहन्छु । म अहिले पनि त्यहाँको विरामीहरुको पीडा झल्झली सम्झिहेको छु ।

म केन्द्रमा आएर यसरी छटपटिरहेको छु । औषधी समयमा नपाउँदा मलाई नै स्वास्थ्य मन्त्रालय र सरकार प्रति घीन लागिरहेको छ ।

तर, म त्यहाँका जनताको पीडा मेरोभन्दा बढी छ । यदि म फर्किएर गइँन भने त म पनि त्यस्तै हुन्छु नि ।

केन्द्रमा बसेका मान्छेहरुले तथ्यांक माग्नुहुन्छ । समयमा औषधी, उपकरण र जनशक्ति पठाउनुहुन्न । त्यो भएको भए त शायद यस्तो अवस्था आउँदैन थियो । समस्याको दोष केन्द्रको पनि छ ।

– Source: Onlinekhabar