महिलाबाट आक्रान्त पुरुष, धनुषामा ३२ पुरुषले पत्नी, सासू र नातेदार महिला विरुद्ध उजुरी दिए

0 8

७ बैशाख, काठमाडौं । यौन सम्पर्क गर्न नमानेपछि धनुषाको एकराही-४ निवासी ३५ वर्षीया उषादेवी पासवान (नाम परिवर्तन) ले गत चैत २५ गते राति आफ्नै भतिजाको गुप्तांग धारिलो हतियारले काटिदिइन्। उनको उपचार जनकपुरमा सम्भव भएन। उनको उपचार धरानमा भइरहेको छ। अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक भगीरथ रेग्मीका अनुसार उषाले २५ वर्षीय भतिजा रामशंकर (नाम परिवर्तन)सँग जबरजस्ती तीनचारपटक यौनसम्पर्क गरिसकेकी थिइन्। पछिल्लोपटक भनेअनुसार रामशंकरले नगरेपछि रिसको झोकमा उनको संवेदनशील अंग काटिदिएको उषाले प्रहरीसमक्ष स्वीकार गरेकी छिन्। चार सन्तानकी आमा उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको अन्नपूर्ण पोस्टमा खबर छ। जनकपुर उपमहानगरपालिका-१७ लोहनाकी अर्की महिला पार्वती मण्डल (नाम परिवर्तित) ले पनि फागुन ८ गते भतिजामाथि यस्तै हिंसा गरेकी थिइन्। जबरजस्ती यौनसम्पर्क गर्न खोज्दा नमानेपछि पार्वतीले भतिजा भगत (नाम परिवर्तन) को संवेदनशील अंग काटिदिएकी थिइन्। घटना हुँदा पार्वतीका पति खाडी मुलुकमा थिए। अवैध यौनसम्बन्ध राख्दै आएकी पार्वती भगतले बिहे गरेपछि उनीसँग आक्रोशित भएकी थिइन्। बिहेको प्रतिशोध साध्न उनले आफ्नो पुरुषत्व नै समाप्त गर्न संवेदनशील अंग काटिदिएको भगतको भनाइ छ। पार्वतीले भने भगतले जबरजस्ती करणी गर्न खोजेपछि इज्जत बचाउन उनको गुप्तांग काटिदिएको बयान अदालतमा दिएकी छन्। जिल्ला अदालत धनुषाले पार्वतीलाई ज्यान मार्ने उद्योगको अभियोगमा थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएपछि अहिले उनी सिन्धुली कारागारमा छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको महिला तथा बालबालिका सेलको ६ महिनाको तथ्यांकअनुसार ३२ जना पुरुषले पत्नी, सासू र नातेदार महिलाबाट पीडित भएको उजुरी दिएका छन्। यसले समाजमा पुरुष पनि महिला हिंसाबाट पीडित भइरहेको देखाउँछ। सेलका प्रमुख नारायण दाहालले पीडित पुरुषमा अधिकांश वैदेशिक रोजगारीबाट फर्केका रहेको बताए। विदेशिएका कतिपय युवा फर्किंदा पत्नी सबै धनसम्पत्ति लिएर अर्कैसँग हिँडेको भन्दै न्यायको खोजीमा प्रहरीसमक्ष पुग्ने गरेका छन्। तीन वर्ष खाडी मुलुकमा काम गरेर सुशान्त दास (नाम परिवर्तन) घर फर्के। उनी आउँदा न त घरमा पत्नी थिइन् न त उनले विदेशबाट पठाएको रकम।