चोरी सिकारी नियन्त्रण गर्न अत्याधुनिक प्रविधि

0 3

चितवन, वैशाख ६– चितवन राष्ट्रिय निकुञ्जमा चोरी सिकारी नियन्त्रण गर्न भन्दै नेपाली सेनाले अत्याधुनिक प्रविधिको प्रयोग गरेको छ । वन्यजन्तु चोरी सिकारी नियन्त्रयणको लागि नेपाली सेनाले निकुञ्जमा स्पेशल मोनिटरिङ एण्ड रिपोर्टीङ टुल (स्मार्ट) पेट्रोल प्रविधि प्रयोगमा ल्याइएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको सो स्मार्ट पेट्रोल प्रविधिले चोरी सिकारी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको नेपाली सेनाका प्रमुख सेनानी सुदिप पन्तले जानकारी दिए । नेपालले दोस्रो पटका सन् २०१३ मा शुन्य चोरी सिकारी नियन्त्रण वर्ष मनाउनमा सो प्रविधिले सहयोग पु¥याएको पन्तले बताए । अत्याधुनिक प्रविधिका कारण निकुञ्जको वर्तमान अवस्था र निकुञ्जमा भएका गतिविधिको बारेमा जानकारी हुने पन्तले बताएका छन् । नेपाली सेनाले सो स्मार्ट प्रविधिलाई तराईका अन्य निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा समेत विस्तार गर्ने तयारीमा रहेको प्रमुख सेनानी पन्तले बताए । सेनाको पैदल गस्तीमा जाने समूहलाई स्मार्ट फोन दिने र सो फोनमा सफ्टवेयर राखिएर त्यसको माध्यमबाट काम हुने पन्तले बताए । सफ्टवेयरको माध्यमबाट प्रत्येक मिनेटमा जीपीएसको माध्यमबाट लोकेसन लिन सकिने पन्तले जानकारी दिए । जीपीएसलाई इन्टरनेटको माध्यमबाट सर्भरमा पठाएर निकुञ्जको बारेमा सबै जानकारी प्राप्त गरिने पन्तको भनाइ छ । जीपीएस जडान भएको ठाउँमा सेनाको उपस्थिति कस्तो छ भन्ने बारेमा जानकारी पाइने भएका कारण कुनै ठाउँमा समस्या आएमा सहयोगको लागि तुरुन्त अन्यत्रबाट फौजको सहायता मगाइन सक्ने पन्तले बताए । जङ्गलमा जनावर देखिएमा र अफ्ठ्यारो अवस्था आएमा स्मार्ट फोनबाट तुरुन्त रिपोर्ट र फोटो पठाउन सकिने र त्यसको जानकारी कमाण्डरले तुरुन्त पाउने पन्तले बताए । जसको नेपाली सेनाले सजिलै मोनिटरिङ गर्न सक्ने पन्तले बताए । –