केएमसी दिवसमा कलेजो प्रत्यारोपण ऐनको खाँचो औंल्याइयो

0 3

काठमाडौँ, वैशाख ६ – कलेजो प्रत्यारोपणसम्बन्धी ऐन नहुँदा बर्सेनि लाखौँ खर्च गरेर विदेशमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।

काठमाडौँ मेडिकल कलेज (केएमसी) ले आफ्नो १६औँ केएमसी दिवसका अवसरमा दुईहप्ते जनचेतनामूलक कार्यक्रम गरिरहँदा सरकारले कलेजो प्रत्यारोपण ऐन ल्याई नेपालमै उपचार सेवा सुरु गर्न पाउनुपर्ने माग ग¥यो ।

अस्पताल परिसरमा आज गरेको निःशुल्क स्वास्थ्य शिविरमा ५० जनाले कलेजो जाँच गराएकामा तीनजनाको कलेजो प्रत्यारोपण गर्नुपर्ने देखिएको थियो । कलेजो परीक्षणका लागि भारतको मेदान्त अस्पतालका चिकित्सक आएका थिए ।

नेपालमा मानव अङ्ग प्रत्यारोपण नियमित तथा निषेध ऐन, २०५५ मा अङ्ग प्रत्यारोपणको अनुमति÷प्रावधान रहेको छ । यसले मिर्गौला प्रत्यारोपणलाई सम्बोधन गरेपनि कलेजोसम्बन्धी कुनै प्रावधान उल्लेख नभएका कारण नेपालमा कलेजो प्रत्यारोपणको उपचार सेवा सुरु हुन सकेको छैन ।

केएमसीका मानव संशाधन अधिकृत विजय शर्माले नेपालमा कलेजो प्रत्यारोपणसम्बन्धी पर्याप्त पूर्वाधार र दक्ष जनशक्ति हुँदा पनि ऐन नभएका कारण विदेशमै लगेर उपचार गराउनुपर्ने अवस्था रहेको बताए ।

उनले कलेजो प्रत्यारोपण गरेका बिरामीमध्ये ७० प्रतिशत पाँच वर्षसम्म बाँच्ने र ६० प्रतिशत दश वर्षसम्म बाँच्ने भएपनि नेपालमा अझै यसबारे जानकारी नभएको बताए ।

सन् १९६३ मा नै कलेजो प्रत्यारोपण प्रविधिको सुरुवात भइसकेपनि नेपालमा अझै पनि यसबारे पर्याप्त जानकारी जनमानसमा देखिँदैन । केएमसीले यसबारे जानकारी गराउन कलेजो प्रत्यारोपण गराइसकेका बिरामी र दाताबारे बनाइएका वृत्तचित्र प्रदर्शन गरेको थियो ।

सो अस्पतालमा गत तीन वर्षमा कलेजो प्रत्यारोपण गर्नुपर्ने १४० बिरामी आएका थिए । नेपालमा कलेजो प्रत्यारोपणसम्बन्धी उपचार नहुने भएकाले कति बिरामी छन् भन्नेबारे एकीन तथ्याङ्क भने पाइँदैन ।

कमलपित्त हुनु, भोक नलाग्नु, उल्टी हुनु, दिसामा रगत देखिनु, पेटमा पानी भरिनु आदि कलेजो सम्बन्धि रोगका लक्षण हुन् ।

– See more at: http://www.ratopati.com/2015/04/19/227607.html#sthash.aXZ6V5QW.dpuf