शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगन

0 8

काठमाडौँ, वैशाख ६ – संविधानसभाको आजको बैठकले पूर्व प्रधानमन्त्री एवम् सभासद् सूर्यबहादुर थापाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकको प्रारम्भमै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले सो शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । बैठकमा दिवङ्गत नेताको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

संविधानसभाको बैठकले २०५१–५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धनकुटा जिल्ला क्षेत्र नं २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचित एवम् २०७० सालको संविधानसभा निर्वाचनमा सोही पार्टीका तर्फबाट समानुपातिक सदस्य निर्वाचित भई जेष्ठ सदस्यको हैसियतले संविधानसभाको अध्यक्षता गरेका थिए ।

शोक प्रस्तावमा भनिएको छ – “२०१५ सालको सल्लाहकार सभाका अध्यक्ष तथा २०२१, २०२३, २०३८, २०५४ र २०६० समेत गरी पाँचपटक नेपालको प्रधानमन्त्री भएका गतिशील, निर्भिक, प्रभावशाली नेतृत्व र जुझारु व्यक्तित्वका धनी एवम् लोकतन्त्रवादी नेता सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा भारतको मेदान्त अस्पतालमा उपचारका क्रममा यही वैशाख २ गते असामयिक निधन भएकामा गहिरो शोक प्रकट गर्दछ र उनको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”

संविधानसभाका यसअघिका दुई वटा बैठकसमेत शोक प्रस्ताव पारित गर्दै स्थगन भएको थियो । नेकपा (एमाले) का सभासद् रामनाथ ढकाल र एकीकृत नेकपा९माओवादी०का नेता सलिममियाँ अन्सारीको सम्मानमा गत चैत २३ गते र ३० गतेको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगन गरिएको थियो ।

संविधानसभाको अर्को बैठक यही वैशाख १० गते बिहीबार अपराह्न ३ बजे बस्ने कार्यक्रम छ ।