८ वर्षदेखि महाधिवेशन गराउन नसकेको नेविसंघले मनायो ४५ औं स्थापना दिवस

0 4

काठमाडौँ, बैशाख ६ –२०२७ साल बैशाख ६ गते स्व.कृष्ण प्रसाद भट्राईले स्थापना गरेको नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज आफ्नो ४५ औं स्थापना दिवस मनाएको छ तर त्यसको विगत आठवर्षदेखि महाधिवेशन हुन नसकेको छैन । नेपाली काँग्रेसको सबभन्दा बलियो र भरपर्दो भातृसंगठनको रुपमा रहेको नेविसंघमा त्यति नै राजनीतिक छिरेको छ ।

नेपाली काँग्रेसका अधिकाँश वरिष्ठ नेताहरु नेविसंघको राजनीतिकबाट आएका हुन् त्यही भएर पार्टीका नेताहरु त्यो संगठनमा राजनीतिक खेल निकै खेलिरहेका छन् त्यसकारणले विगत आठवर्षदेखि अधिवेशन भएको छैन ।
नेविसंघका कतिपय नेताहरु पार्टीको मूलधारमा आएर सभासद्देखि मन्त्रीसम्म बनेको देख्दा अन्य नेताहरु विद्यार्थी राजनीति छाडेर मूलधारको राजनीतिकमा प्रवेश गर्न थालेका छन् । उनीहरु आआफ्नो गाउँमा गएर आफ्नो क्षेत्र बनाउन थालेका छन् । कतिपयले त नेविसंघको राजनीतिक छाडेर भदौमा हुने १३ औं महाधिवेशनको तयारीमा लागेका छन् ।
जनआन्दोलन सफल भएपछि २०६४ सालमा महाधिवेशन भएपछि अर्को महाधिवेशन गराउने कसैले आँट गरेका छैन । त्यसपछिका दिनमा महाधिवेशन गराउनका लागि पटक पटक प्रयास भएको हो । तर पार्टीभित्र देखिएको गुटका कारण त्यो सफल हुन सकेको छैन । महाधिवेशन गराउनुपर्छ भनि नेविसंघका विद्यार्थीहरु आन्दोलन पनि गरे, धर्ना पनि बसे, जुलुस पनि निकाले तर संस्थापन पक्ष कमजोर देखिएका कारणले प्रधानमन्त्री सुशिल कोइराला महाधिवेशन गराउनमा चासो नदिएको संघका एक विद्यार्थीको आरोप छ ।
महाधिवेशन हुन नदिन संस्थापन पक्षको ठाडै हस्तक्षेप भएको छ । स्थापनाको ४५ वर्ष पुग्दा नेविसंघमा १५ जना नेताले सो संगठनको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवादेखि विमलेन्द्र निधीसम्मका नेताहरु त्यसको अध्यक्ष भइसकेका छन् । त्यस्तै बलबहादुर केसी, बालकृष्ण खाँण, गगन थापा, गुरुराज घिमिरे, एनपी साउद, धनराज गुरूङ, केशव सिह, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, किशोरसिंह राठौैर, महेन्द्रकुमार शर्मा, प्रदीप पौडेल र रञ्जित कर्णलगायतका अध्यक्ष भइसकेका छन् ।
शेरवहादुर देउवाको नेतृत्वमा पार्टी विभाजन हुँदा नेविसंघ पनि विभाजित भएको थियो । सभासद् तथा नेविसंघका अध्यक्ष रञ्जित कर्णले हालसम्म महाधिवेशन हुन नसक्नुमा पार्टी नै जिम्मेवार भएको बताए । उनले पार्टी विभाजन भएर एकता भएपनि दुईटा गुट स्पष्ट रुपमा देखिएको कारणले महाधिवेशन हुन नसकेको बताए ।
उनले महाधिवेशन गराउनका लागि प्रत्येक जिल्लाको अधिवेशन सम्पन्न भइसकेको तथा क्याम्पसन इकाईहरुको पनि अधिवेशन भइसकेको पनि पार्टी नेतृत्वले महाधिवेशन गराउनमा चासो नलिएको आरोप लगाए । उनले ११ लाख सदस्यता नविकरण गर्नुको साथै तीनहजार ५४ महाधिवेशन प्रतिनिधि भोटर लिस्टसहित केन्द्रमा बुझाइसकेको पनि जानकारी गराए ।
अध्यक्ष कर्णले अब चाँडै नै पार्टी नेतृत्वलाई महाधिवेशन गराउन दवाव दिनका लागि जिल्ला सभापति, क्याम्पस इकाई सभापतिको भेला बोलाउन लागेको बताए । उनले माउ पार्टीको महाधिवेशन भन्दा पहिलो नेविसंघको महाधिवेशन गराउने आफ्नो लक्ष्य रहेको बताए ।
तर नेविसंघका कार्यवाहक अध्यक्ष समेत रहि सकेका लेखनाथ पोखरेलले प्रत्येक जिल्लामा अधिवेशन नभएको दावी गर्छन् । उनले १३ वटा जिल्लामा अधिवेशन नभएको र यस्तो थुप्रै क्याम्पसहरुमा विवादका कारण अधिवेशन रोकिएको बताए ।
कर्ण जस्तै उनले पनि पार्टीभित्रको गुटको प्रत्यक्ष असर नेविसंघमाथि परेको बताउँछन् । विभाजित पार्टी एकीकृत हुँदा अन्य भातृसंगठनहरुको एकताको महाधिवेशन गरायो । सबै विवाद मिलाएर अगाडि बढायो तर नेविसंघभित्र रहेको विवादलाई जस्ताको त्यस्तै छाडेर पार्टी एकीकरण हुँदाको कारण अहिलेसम्म समस्या कायम रहेको उनले बताए । नेविसंघको एकताको महाधिवेशन नभएको कारणले नेताहरु यसभित्र खेलिरहेका छन् र महाधिवेशन टर्दै गइरहेको दावी पौडेलको रहेको छ ।
तर यी दुईजनाभन्दा फरक विचार छ संघका महामन्त्री मनोज मणी आचार्यको । उनले पार्टीको भन्दा पनि नेविसंघको नेतृत्व पक्षले महाधिवेशन गराउन नचाहेको आरोप लगाए । अहिले जसले नेतृत्व (कर्ण) गरिरहेका छन् त्यसले आफ्नो कार्यकाल लम्ब्याउन महाधिवेशन गराउन नचाहेको आरोप लगाउँदै शेरवहादुर देउवा पक्षको किचलोको कारण नेविसंघको महाधिवेशन हुन नसकेको दावी गरे ।
उनले पार्टी एकीकरण भएपनि त्यसभित्र दुईटा गुट स्पष्ट रुपमा देखिएको छ, जहिले पनि ६०–४० को भागबण्डा हुन्छ र त्यसको असर संघमाथि परेको टिप्पणी गरे । संस्थापन पक्षले महाधिवेशन गराउन खोज्दा देउवा पक्षले आफ्नो पक्षको उपस्थिति देखिपछि कुनै नकुनै बहानामा भाँडभैलो मचाई महाधिवेशन हुन नदिएको आरोप आचार्यको छ ।