रुपन्देही प्रहरीलाई हाम्रो र राम्रो प्रहरी बनाउँछु : एसपी ढकाल

0 4

भैरहवा, वैशाख ६– प्रहरी आचरणविरुद्व काम गर्ने रुपन्देही प्रहरीका विभिन्न दर्जाका ४१ जना प्रहरी कर्मचारीलाई कारबाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरीक्षक राजेन्द्र ढकाल आएपछि आचरणविरुद्व काम गर्ने प्रहरीहरुलाई भटाभट कारबाही गर्न थालिएपछि प्रहरी आत्तिएको स्रोतको दाबी छ । जिल्लामा शान्ती सुरक्षा कायम गर्न र अपराध निरुत्साहित गर्न आफू लागि परेको एसपी ढकालको भनाई छ ।SP Dhakal Photo

कारबाही हुनेहरुमा केही महिनाअघि बुटवलको गोलपार्कमा सर्वसाधारणको घरमा मादक पदार्थ सेवन गरि प्रवेश गर्ने ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक किरण रानाभाटलाई प्रहरी प्रधान कार्यालयले नोकरीबाट बर्खास्त गरेको छ । रानाभाटसहित अन्य ३ जनालाई नोकरीबाट हटाएको, २ जनाको दर्जा घटाएको, ५ जनालाई तल्लो टाइम स्केलमा घटुवा गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । यसै गरि गलत आचरण देखाउने ४ जनाको बढुवा रोक्का गरिएको, १२ जनालाई सचेत गरेको र अन्य ६ जनामाथि कारबाही प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

केहीदिन पहिला लुम्बिनी अञ्चल प्रहरी कार्यालयका सादा पोसाकमा रहेका घुमुवाहरुले घुस नपाएको निहुँमा किसानको भैंसी भन्सार चलान गरेको खबर पत्रिकामा प्रकाशित भएपछि त्यसको छानबिन गर्न प्रहरी निरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । समितिले छानविन गरि प्रतिवेदन पेश गरेपनि अहिले अञ्चल प्रहरी प्रमुख नभएको कारण त्यसलाई सार्वजनिक गर्न नसकेको निमित्त अञ्चल प्रहरी प्रमुखको समेत जिम्मेवारी रहेको एसपी ढकालले जानकारी दिए ।

‘प्रहरी संगठनभित्र आन्तरिक शुद्विकरण नगरि अपराध रोक्न सकिदैंन ।’ ढकालले भने– ‘अहिले मेरो अभियान रुपन्देही प्रहरीलाई हाम्रो र राम्रो प्रहरी बनाउने हो ।’ प्रहरी प्रशासनलाई चुस्त र सफा राख्न तस्करी र तस्करमा शुन्य सहनशिलता अपनाउने ढकालको दावी छ । रुपन्देही खुल्ला सीमाका कारण देशमै संवेदनशिल मानिन्छ, कुनै पनि मातहतका प्रहरीले तस्करीलाई प्रश्रय दिएको थाहा पाए तुरुन्त कारबाही गर्ने ढकालको भनाई छ ।

जिल्ला प्रहरी प्रमुखको रुपमा एसपी ढकालको आगमनसँगै तस्करी र अपराधमा नियन्त्रण भएको जिल्लावासीहरुले महसुुस गरेका छन । माघ २३ गते ३० किलो चरेससहित सालझण्डीबाट भरीया पक्राउ, खुल्ला सीमाकै फाईदा उठाउँदै भारी मात्रामा कपडासहित भरीया पक्राउ पर्नाले अवैध कारोबार गर्नेहरु पछि हट्न थालेको धकधई सामुदायिक सेवा समाजका अध्यक्ष अकबाल खान बताउँछन् । यसैगरि अत्याधिक खोजीको सूचिमा रहेको भारतीय अपराधी सरफराज खानको इन्काउन्टर, मर्चवारमा अपहरण गरि हत्या गरिएका रोहन नाउका हत्यारा बलदेव नाउ पक्राउ पर्नुले पनि अपराधीहरुको मनोबल खस्केको छ ।

SAM_2342

जिल्लाभरि करिब १४ सय प्रहरीको अनुगमन गर्न मुस्किल हुने गरेको उनको भनाई छ । त्यसकारण प्रहरीको कार्यको अनुगमन स्थानीयले गर्नुपर्ने ढकालको बुझाईरहेको छ । यसको लागी आफु आएपछि जिल्लामा ३ वटा प्रहरीहरु र स्थानियबीचको सम्बन्धबारे नागरिक सुनुवाईसमेत गरिसकेको उनले बताए । सुनावाइको क्रममा स्थानीयहरुले उठाएको समस्या र गुनासोहरुलाई आफुले सकभर सम्बोधन गर्ने गरेको उनको दावी रहेको छ । ‘म आफै पनि समय समयमा अनुगमन गर्ने गरेको छु ।’ ढकालले भने– ‘महिनामा कम्तिमा १ पटक मातहतका चौकी, इप्रकाहरुमा गई बास बसेर स्थानीय र प्रहरीहरुको समस्या बुझ्ने गरेको छु ।’

प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न र उनीहरुसित सहकार्य गर्न प्रत्येक महिना मातहतका प्रहरीहरुलाई बोलाई कार्यदिशा बमोजिम कार्य गर्न निर्देशन दिने गरेको ढकालले बताए ।

आफ्नो कार्यकालमा लैङ्गिक हिंसा, छुवाछुतसम्बन्धि विभिन्न जनचेतनामुलक कार्य गरेको र अटेर गर्नेलाई कारबाही गरिएको उनले बताए । गुण्डागर्दी गर्ने र चन्दा माग्ने जस्ता कुरा कुनै पनि हालतमा हुन नसक्ने ढकालले बताए । जुनसुकै पार्टीको खोल ओढेको गुण्डागर्दीलाई ठिक पार्ने उनको दावी छ । रुपन्देहीको मूख्य समस्या लागु औषध सेवन र ओसार–पोसार रहेको हुँदा यसलाई नियन्त्रण गर्न पनि आफु लागी परेको उनले बताए । लागु औषध सम्बन्धि विभिन्न विद्यालयका विद्यार्थीहरु, बालक्लब, युवाक्लबलाई जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको पनि उनले बताए ।

नेपाल प्रहरीले ल्याएको मुस्कानसहितको प्रहरी अवधारणा मातहतका प्रहरीमा अगाडि बढाउन र मानवअधिकार हनन हुन नदिन आफु कटिबद्ध रहेको ढकालले बताए । प्रहरीलाई सजाय मात्र हैन, राम्रो र असल काम गर्नेलाई पुरस्कृत गर्ने पनि आफ्नो प्राथमिकतामा रहेको प्रहरी प्रमुखको भनाई छ ।

– Source: Rato pati