जेठ १५ मा संविधान जारी गर्न सरकार प्रतिबद्ध – उपप्रधानमन्त्री सिंह

0 1

काठमाडौँ, वैशाख ५ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले आगामी जेठ १५ मा संविधान जारी गर्न सरकार लागिपरेको बताएका छन् ।

बुद्धनगरस्थित तेश्रो आखाँ युवा क्लवले शनिबार आयोजना गरेको सरसफाई कार्यक्रमको शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् ।

उनले सम्पूर्ण राजनीतिक दलहरु जतिसक्दो चाडोँ संविधान जारी गर्न छलफल र वार्तामा जुट्नुपर्ने भन्दै अहिलेको आवश्यकता शान्ति र विकास भएको बताए ।

सम्पूर्ण राजनीतिक दलहरु मुलुकको विकास र समृद्धिका लागी जिम्मेवार रहेको उपप्रधानमन्त्री सिंहको भनाई छ । उनले देश र जनताप्रति दलहरु अहिलेको सवेंदनशिल घडीमा जिम्मेवार भई आफूले गरेका प्रतिबद्धता अनुसार काम गर्नुपर्ने उल्लेख गरे ।

सबै राजनीतिक दलहरुबीच सहमतिको विकल्प नभएको भन्दै उनले त्यसका लागी सबैजना एकठाउमा आउनुपर्ने धारणा राखे । पार्टीगत स्वार्थ त्यागेर अगाडी बढे संविधान त्यति टाढा र समस्याको विषय नभएको भन्दै उपप्रधानमन्त्री सिंहले अबको समयमा एक मिनेट खेर नफाली सहमति गर्नतिर लाग्नुपर्ने जिकिर गरे ।

तत्कालीन रुपमा नेताहरुले संघियतालाई मुख्य विवादको विषय बनाएपनि अन्य विवादित विषयमा सहमति गरे संघियताको कुरा आफै समाधान हुने मन्त्री सिंहको दाबी  छ  ।