बिस्केट जात्राको हात नभएको लिङ्गो आज ढालियो

0 6
प्रत्येक वर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाएको हात नभएको लिङ्गो आज बिहान विधिपूर्वक पूजा गरेर ढालिएको छ।
भक्तपुर, ५ वैशाख – प्रत्येक वर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाएको हात नभएको लिङ्गो आज बिहान विधिपूर्वक पूजा गरेर ढालिएको छ।

बिस्केट जात्राको अवसरमा हरेक चैत मसान्तमा उठाएर वैशाख ५ गते सो लिङ्गो ढाल्ने परम्पराअनुसार तान्त्रिक विधिअनुसार लिङ्गो ढालिएको हो। बिस्केट जात्राको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि बढ्ने, सहकाल आउने र शत्रु नाश हुने जनविश्वास रहँदै आएको यो जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ।

भक्तपुर कुमालेटोलमा चैत मसान्तमा हात नभएको लिङ्गो उठाए पछि सोही दिन भेलुखेलमा साँझ हात भएको ५५ हात लामो विश्वध्वजासहितको लिङ्गो उठाउने परम्परा छ। त्यो लिङ्गो १ गते दिनभर जात्रा गरेर साँझ ढाल्ने गरिन्छ भने हात नभएको लिङ्गो नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आज बिहान ढाल्ने गरिन्छ ।लिङ्गो ढालेपछि आजै साँझ भैरवको रथ तानेर जात्रा मनाउने परम्परा छ।