हेलिकप्टरबाट जाजरकोट पुगेको टोली रगतको नमुना नलिई राजधानी फर्केको खुलासा

0 5
सुर्खेत: जाजरकोटमा फैलिएको महामारी पहिचान गर्न भन्दै हेलिकप्टरमा गाउँ पुगेका स्वास्थ्यमन्त्री खगराज अधिकारीको टोलीले जालझेल गरेको खुलासा भएको छ। सो टोलीले बिरामीको रगतको नमुना नै नलिई राजधानी फर्केको खुलासा भएको हो।

टोलीले हतार भएको भन्दै थ्रट स्वाब घाँटीको खकारको नमुना मात्र लिएर गएको स्रोतले बताएको छ। स्वास्थ्यमन्त्री अधिकारीसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा आइतबार जाजरकोटको महामारी प्रभावित क्षेत्र पुगेको थियो। टोलीको प्रमुख उद्देश्य नै रोग पहिचान गर्न बिरामीको रगत, खकार, थुकलगायत नमुना संकलन गरी काठमाडौं ल्याउनु पर्ने भएपनि स्वास्थ्यकर्मीले हतार भएको बहानामा घाँटीको खकारको नमुना मात्र लिएर गएको टोलीमा संलग्न एक स्वास्थ्यकर्मीले बताएको नागरिक दैनिकमा खबर छ।

रगतको नमुना त आज बिहीबार मात्र काठमाडौं पठाइएको छ-ती स्वास्थ्यकर्मीले भने। सरकारी अधिकारीले मन्त्रीसहितको टोलीले नै रगतको नमुना ल्याएको र हेलिकप्टरमा नमुना ल्याएको भोलिपल्टै रिपोर्ट आउने बताएका थिए। ती स्वास्थ्यकर्मीका अनुसार उतिबेला टोलीले १२ जना बिरामीको थ्रट स्वाब राजधानी लगेको थियो। तीमध्ये तीन जनामा एच१एन१ भनिने मौसमी रुघाखोकी स्वाइनफ्लु भेटिएको थियो। अन्य बिरामीमा कुन रोग छ भन्ने अहिलेसम्म पहिचान हुन सकेको छैन।

उतिबेलै रगत, खकार, दिसालगायत नमुना लगेको भए यस्तो अन्योल नलम्बिने उनको भनाइ छ। स्वास्थ्यमन्त्रीको टोलीसँगै प्रभावित क्षेत्रमा झरेका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका ल्याब टेक्निसियन डबलबहादुर बिसीले मंगलबार मात्र आठ जना बिरामीको रगत निकालेका थिए। उनी जाजरकोटबाट स्थलमार्ग हुँदै तेस्रो दिन बिहीबार नेपालगन्ज पुगेर जहाजमा काठमाडौं गएका छन्।

मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा राजेन्द्र पन्तले बिहीबार रगतको नमुना काठमाडौं पुर्‍याएको जानकारी दिए। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा बाबुराम मरासिनीले यसबारे बोल्न चाहेनन्। उनले दुई-तीन दिनपछि मात्र कुरा गर्न सकिने जवाफ दिए।