लोकतान्त्रिक संविधान छिट्टै : प्रधानमन्त्री कोइराला- थाइल्याण्डका राजदूतसँग बालुवाटारमा भेटवार्ता

0 3

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले विकासको लागि लोकतान्त्रिक शासन पद्धति, शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको बताएका छन् । नेपालले छिट्टै लोकतान्त्रिक संविधान पाउने उनले दाबी गरे ।

नेपालका लागि थाइल्याण्डका राजदूतसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री कोइरालाले नयाँ संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र थाइल्याण्डबीचको कुटनीतिक, सांस्क्ृतिक र आर्थिक सम्बन्धबारे कुराकानी भएको थियो ।

भेटमा प्रधानमन्त्री कोइरालाले भगवान गौतम बुद्धको जन्मस्थल भ्रमण गर्ने बुद्धधर्माबलम्बी थाई जनताको मोहले नेपाल र थाइल्याण्डबीचको सम्बन्ध थप सुमधुर बनाएको बताएका थिए ।

यसैगरी थाई राजदूतले नेपालमा थाई पर्यटकको संख्या बढ्दै गएको बताएका थिए ।

उनले थाइल्याण्डको थानी समूहले अन्नपूर्ण होटलको व्यवस्थापन लिएको भन्दै यसबाट नेपाललाई लाभ मिल्ने दाबी गरेका थिए । भेटमा थाई राजदूतले थाइल्याडमा पनि यस बर्षको अन्त्यसम्म नयाँ संविधान आउने जानकारी गराएका थिए ।