थापाको पार्थिव शरीर पार्टी कार्यालयपछि रंगशाला लगिने

0 6

४ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता सूर्यबहादुर थापाको शुक्रबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । थापाको पार्थिव शरीर मालिगाउँबाट पार्टी कार्यालय चावहिलमा ल्याइने छ । पार्टी कार्यालयपछि थापाको पार्थिव शरीरलार्इ दशरथ रंगशालामा राखिने छ  । थापाको उपचारका क्रममा बुधबार राति भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको थियो ।

थापाको पार्थीव शरीरलाई बिहीबार साँझ विशेष विमानमार्फत काठमाडौं ल्याइएको छ । मालिगाउँस्थित थापा निवासमा राखिएको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न विभिन्न दलका नेता तथा शुभेच्छुकहरु थापा निवास पुग्ने क्रम जारी रहेको छ ।

थापाको पार्थिक शरीरमा श्रद्धाञ्जली अर्पण गर्नका लागि बिहान १० बजेदेखि १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय चावहिलमा राखिनेछ । त्यसपछि दिउँसो तीन बजेसम्म दशरथ रंगशालामा राखेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने राप्रपाले जनाएको छ ।

दशरथ रंगशालामा नेपाली सेनाको एक टुकडिले सम्मानका साथ सलामी अर्पण गरिनेछ । त्यसपछि आजै पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार सम्पन्न हुनेछ ।

Source: Online khabar