‘कठै हामी ! सूर्यबहादुर थापाको शोक मनाइरहेका छौं’

0 13

गतमहिना सिंगापुरका पूर्वप्रधानमन्त्री लि क्वान यूको ९१ बर्षको उमेरमा मृत्यु भएसँगै दि इकोनोमिष्ट पत्रिकाले एउटा रेखाचित्र (ग्राफ) सार्वजनिक गर्‍यो, जसको शीर्षक थियो, लि क्वान यूको समयमा सिंगापुर ।

यूको शासन समयका महत्वपूर्ण घटनाहरुलाई एक्स अक्ष (एक्सि्स) र सिंगापुरको प्रक्तिव्यक्ति आयलाई वाई अक्षमा राखेर बनाइएको उक्त रेखाचित्र देख्दा जति सामान्य थियो, त्यसमा भएको सन्देश भने उति नै असामान्य ।

झलक्क हेर्न साथ सजिलै बुझ्न सकिन्थ्यो, यूले शासन सम्हाल्दा सन् १९५९ मा सिंगापुरको प्रक्तिव्यक्ति आय ४०० अमेरिकी डलरको हाराहारीमा थियो र शासनपूर्ण रुपले छाड्ने बेला सन् २०११ मा करिब ५० हजार डलर ।

यो पढेपछि पछि मलाई के लाग्यो भने, जीवनकालमा समाजका लागि, देशका लागि साँच्चै केही गरेका मान्छेहरुलाई सम्झन ठूला ठूला बनावटी लेख, भाषण र श्रद्धान्जलीका असंख्य गाथाहरु चाहिँदो रहनेछ । त्यस्ता महान मान्छेका सम्झनाहरु त एउटा सामान्य रेखाचित्र, साना सूत्र, केही बिम्वहरुमै जीवन्त हुँदोरहेछ ।

न्यूटनलाई सम्झन रुखबाट खस्दै गरेको स्याउ, आइन्टाइनलाई सम्झन इ बराबर एमसी स्क्वायर, भिन्चीलाई सम्झन मोनालिसा वा हाम्रो घाँसीलाई सम्झन एउटा कुवा काफी भएजस्तै । तर जिन्दगीभर पटक-पटक अवसर पाउँदा पनि समाजको लागि उल्लेख्य खासै नगरेका मान्छेहरुका लागि भने अर्थ-अनर्थ, तुक-बेतुकका सबैथोक तानतुन गर्दै ठूलाठूला लेख र बनावटी श्रद्धाञ्जलीका असंख्य शब्द जालहरु आवश्यक पर्दोरहेछ ।

नेपालका पूर्वप्रधानमन्त्री सुर्यवहादुर थापा सिंगापुरका लि क्वान यू भन्दा पाँच वर्षपछि मात्रै जन्मिएका हुन्, जसको निधन यू भन्दा ३ बर्ष कम उमेरमा अर्थात ८८ वर्षको उमेरमा गत बुधवार भयो । क्वान भन्दा उमेरले पाँच वर्ष कान्छा सूर्यबहादुरले पनि क्वान जतिकै उमेरमा देशको शासन समाल्ने मौका पाए । सन् १९६३ मा । पाँचपटकसम्म प्रधानमन्त्री भए । जीवनको अन्तिम अवस्थासम्म पनि राजनीतिमा सधैं सक्रिय रहे । कहिले केन्द्रको प्रभावशाली वृत्तमा रहेर त कहिले किनारमा अवसर पर्खेर ।

पाँचपटक प्रधानमन्त्री हुँदा सूर्यबहादुरले देशलाई के दिए ? जाजरकोटमा अहिले मानिसहरु उपचार नपाएर मरिरहेका छन्

व्यवस्थाहरु परिवर्तन भए, राजाहरु परिवर्तन भए तर सुबथामा त्यस्तो कुन खुबी थियो, जसले गर्दा उनी राजाहरुको साह्रोगाह्रोमा सधैं भरोसायोग्य पात्रमा दरिए ? महेन्द्रदेखि वीरेन्द्र हुँदै ज्ञानेन्द्रसम्मलाई पनि पछिल्लोपटक उनी आफूले पृष्ठपोषण गरेको व्यवस्थाको विरुद्ध झण्डै स्थापनाकालदेखि संघर्षरत दलहरुलाई सहमतिको अर्ति दिने झण्डै सल्लाहकारको हैसियतमा राजनीतिमा सक्रिय थिए ।

थापाको निधनसँगै यतिखेर म इकोनोमिष्टले प्रकाशित गरेको जस्तै रेखाचित्रहरु नेपाली सञ्चारजगतमा खोजिरहेको छु, जसले ६ दशक राजनीतिको शक्तिनाभीमा बसेर पाँचपटक प्रधानमन्त्री भएका सुबथालाई सम्झन सकियोस् । तर, बिडम्वना ! देशका अखबारहरु सुबथाका योगदान झल्किने रेखाचित्र होइन, बरु स्वाइन फ्लु लगायतका विभिन्न रोगका प्रकोपले जाजरकोटमा दर्जनौं मान्छे मरिरहेको तस्वीर छापिरहेका छन् । ती तस्वीरहरु, जसले देशको गरिबी, अव्यवस्था, कुशासन र वेथीतीलाई एकमुष्ठ देखाइरहेका छन् । तर, पनि सूर्यबहादुरलाई महान नेता, असल अभिभावक, शीर्ष व्यक्तित्वका रुपमा मान्ने बहादुरहरुको कमी छैन यो देशमा । भनिरहनु परेन, यस पंक्तिमा प्रजातन्त्रिक समाजवादी, वहुदलीय जनवादी, सदावहार क्रान्तिकारीहरु सबै लागिरहेका छन् ।

मैले अघि नै लेखिसकें, महान व्यक्तिहरुको सम्झना साना विम्वहरुमा कैद हुन्छन्, लामा लामा लफ्फाजीहरुमा होइन ।

व्यक्तिगतरुपमा सूर्यबहादुर अत्यन्त सफल हुन् । पाँच-पाँच पटकसम्म प्रधानमन्त्री हुन पाउनु, जीवनको अन्तिमसम्म सक्रिय राजनैतिक जीवन बिताएर आफ्ना छोरा नातिसम्मलाई पनि राजनीतिमा स्थापित गर्न सफल भएका छन् उनी । जुन नेपालमामात्रै होइन, विश्वमै अलि प्रजातान्त्रिक भनिने देशहरुमा विरलै हुने घटना हो । तर, उनको व्यक्तिगत सफलताले हामीले वाँचिरहेको समाजलाई के दियो ? उनको योगदानको कारण देशमा कति जनाको अनाहकमा ज्यान बच्यो ? कतिले उचित शिक्षा दीक्षा पाए ? कति रोजगारी सिर्जना भयो ? कतिले उचित स्वास्थ्य सुविधा पाए ? र, समग्रमा देशले कति उन्नति प्रगति हासिल गर्‍यो ? यी प्रश्नहरुको कसीमा सुबथा वा कसैलाई पनि मूल्यांकन गर्नु उचित हुन्छ । न कि उनका गाथाका भावनात्मक कहानीहरु बुनेर ।

इतिहासमा ठूला र राम्रा मान्छेहरुलाई यस कारण पढिन्छ कि नयाँ पुस्ताले मनन र अनुसरण गर्न सकुन् उनका गुणहरु । विकसित देशहरुमा सार्वजनिक जीवन बिताएका मान्छेहरु विषेशगरी राजनैतिक नेताहरुको मस्ल्यांकनको विधि स्थापित हुन्छ । त्यहाँ शब्द जालहरु होइन, तथ्यांकहरु बोलिरहेका हुन्छन् । रोजगारीदेखि स्वस्थ्यसम्मको, वातावरण संरक्षणदेखि अन्तराष्ट्रिय सम्वन्धहरुको प्रगतिको मापनहरु हुन्छन् । त्यहाँसबैभन्दा महत्वपूर्ण उसको परिवारिक सन्तुलनको कुरा पनि हुन्छ ।

म रेखाचित्रहरु नेपाली सञ्चार जगतमा खोजिरहेको छु, जसले ६ दशक राजनीतिको शक्तिनाभीमा बसेर पाँचपटक प्रधानमन्त्री भएका सुबथालाई सम्झन सकियोस्

यतिखेर सूर्यबहादुर थापाको पुर्खौली घर खण्डहरमा परिणत भएको छ । सायद कुनै विकसित देशमा हुन्थ्यो भने पाँच पटकसम्म प्रधानमन्त्री हुने छोरा जन्माउने त्यस्ता घरहरु संरक्षित गरेर राखिन्थ्यो होला राष्ट्रको निधिका रुपमा । वा सूर्यबहादुर आफै पनि अघि सर्न सक्थ्ये त्यसलाई जोगाउन । तर, उनले त्योसम्म गरेनन् । उनको खण्डहर पुर्खौली घरले वर्तमान नेपालका धेरै घरहरुको अहिलेको अवस्थालाई चित्रित गर्छ । भौतिक रुपमा धेरै नेपालीको घर त्यस्तो खण्डहर नभए पनि आधा भन्दा बढी विदेशिएका नेपालीहरुको घर पारिवारिक रुपमा त्यसरी नै विखण्डित भएको छ । जसमा भने पक्कै सूर्य र अन्य बहादुरहरुको योगदान छ ।

त्यसो त व्यक्तिगत रुपमा उनीसँग मेरो कुनै लेनादेना छैन । हाम्रो पुस्ता उनले पक्षपोषण र थामेको पञ्चायतीशासनबाट खासै पीडित हुन पनि परेन । उनको नाम सानो हुँदा रेडियोमा खुबै सुनिन्थ्यो । पञ्चायती व्यवस्थाको कहर नकाटे पनि त्योबेलाको खैरो रंगको प्रहरीसँग भने निकै डर लाग्थ्यो । ती प्रहरीहरुले क्यासेट सुनेको (गणेशमानको भाषण) भन्दै गाउँका केही मान्छेहरुलाई पक्रेर लगेको कुरा सुनेको थिएँ आफ्नी हजुरआमाबाट । मीठो गीत संगीत बजाउने त्यो भाँडो सुन्दा पनि पक्रने भनेपछि मलाई पुलिस र उनीहरुले लिने कटबाँसको लौरोदेखि औधी डर लाग्थ्यो । उनी त्यस्ता निंरकुश व्यवस्थाका अब्बल कारिन्दा थिए ।

हामीले ०४६ सालमा ल्याएको प्रजातन्त्रले उनलाई उनले विगतमा गरेको कामको नसियतसमेत दिएन, बरु प्रधानमन्त्री बनाएर पुरस्कृत गर्‍यो । यद्यपि जनताको मतबाट उनको दलको पत्तासाफ भएको थियो ।

नानीदेखि लागेको बानी भनेझै, समय फेरिए पनि उनी फेरिएनन् । बरु ज्ञानेन्द्रको निरंकुश शासनको हिमायती बनेर देखापरे । ज्ञानेन्द्रले उनका दाइले क्यासेट सुन्नेलाई थुनेजस्तै समाचारहरु भन्ने लेख्नेहरुको मुखै थुन्ने कोशिस गरे । त्यतिबेला म विदेश लागिसकेको थिएँ, उज्ज्वल भविष्यको सपनामा । दुई चार शब्द बोल्न, लेख्न सक्ने भइसकेको थिएँ । विकसित देशको स्वतन्त्रता देखेको बुझेको हामीलाई उक्त कदम असह्य भयो । ज्ञानेन्द्रको कदमको विरोध गर्न अमेरिकाको बोष्टनमा हामीले पनि ज्ञानेन्द्र शासनको विरुद्ध बिरोध प्रर्दशन गर्‍यौं । यसरी ज्ञानेन्द्रको त्यो शासन जसको बचाउका लागि सूर्यबहादुर खडा थिए, त्योभन्दा फरक कित्तामा उभिएँ म ।

समय ज्ञानेन्द्रले सिंगो ब्रह्माण्ड नै खडा गरे पनि उनको सत्तालाई जोगाउन नसक्ने भइसकेको थियो । बृद्ध सूर्यले बचाउने सक्ने कुरै भएन । उनले पृष्ठपोषण गरेको शासनले घुँडा टेक्यो । राजनीतिको नाभीबाट फेरि छेऊ लागे उनी । हामी आफ्नो काममा फर्कियौं । देश चल्न थाल्यो । देश त के भनौं, राजनीति चल्न थाल्यो ।

हामी कठै नै भएर त होला कृष्णजी यतिखेर सूर्यबहादुरको निधनमा शोक विदा मनाइरहेछौं, राजकीय सम्मानका साथ

दोश्रो संविधानसभापछि समयले उनलाई यस्तो ठाँउमा पुर्‍यायो, जहाँ बसेर उनले सबै दलका प्रतिनिधिलाई संविधानसभाको भवनभित्र सपथ खुवाए ।

सार्वभौम भनिएको त्यो सभामा व्यवस्था मानेपछि व्यक्ति गौण हुन्छ । कसैले तर्क गर्‍यो, सबैले होमा हो मिलाए । विरोधको झिनो स्वरवीच कुनै बेला कांग्रेसका वीपीलाई फासीको सजायँ हुनुपर्छ भनेर माग गर्ने सूर्यबहादुर र एमालेको कार्यकर्ता मारिएको छिन्ताङ घटनाको नायक भनिएका सूर्यबहादुर र माओवादीलाई तिमीहरुलाई आकाशबाट हेरिएको छ भन्ने सूर्यबहादुरले काइते भाषा बोले, के गरम त ,म  अरुभन्दा अघि जन्मिएँछु जेठो भएँछु ।

मृत्य आफैमा एउटा दुखद परिघटना हो, पारिवारिक दुख र वियोगको हिसाबले । त्यसैले कसैको मृत्युमा पनि हर्ष बढाइँ गर्नु वा शोक नमनाउनु, श्रदान्जली नदिनु अमानवीय कार्य हो । तर, सार्वजनिक व्यक्तिको मृत्य विषेश गरी मुलुकको उच्च नेतृत्व सम्हालेको व्यक्तिको मृत्युले सधैं वस्तुनिष्ठ र निष्पक्ष मूल्यांकनको माग गरेको हुन्छ । उनीहरुको मूल्यांकन उसको व्यक्तिगत स्वभाव र आचरणको राम्रो-नराम्रो पक्षको आधारमा होइन, उसले दिएको योगदानका आधारमा हुनुपर्दछ । तर, नेपाली समाज खान बोल्न सक्दासम्म वास्ता नगर्ने र अन्तिममा अस्पताल भर्ना भएर पानी पनि निल्न नसक्ने भएपछि फलफुल किनेर लाने अति देखावटी गर्नुपर्ने समाज हो, जहाँ मृत्यु भएको मान्छेका बारेमा नकारात्मक टिप्पणी बर्जित छ ।

हाम्रो समाज मरेको मान्छेको नकारात्मक टिप्पणीले वैकुण्ठवास हुँदैन भन्ने अनौठो संस्कृतिको बोझले यति ग्रस्त छ कि यो कोही व्यक्तिको मृत्यसँगै गाथाहरु खोज्न जर्वजस्त लाग्छ । यतिखेर सूर्यबहादुरलाई अत्यन्त असल भन्दै भजन मण्डलीहरुमा हिजो हामीलाई निरंकुशताका विरुद्ध आवाज उठाउनुपर्छ है भनेर विभिन्न कालखण्डमा लागेका नेताहरु देखापरेका छन् । यस्तो अवस्था देखेर आफैसँग प्रश्न गरें आखिर किन भयो त यस्तो ? कारण स्पष्ट थियो, ती मान्छेहरु, जो हिजो आन्दोलनमा हामी जनतासँगै शासितका रुपमा थिए, आज शासक बनेर फेरिए, हामी जनता उस्तै रह्यौं ।

शासक र शासकको दृष्टिकोण एउटै हुने नै भयो । फरक त हामी शासित भएर पो पर्‍यो त । अर्को, हामी यतिखेर यस्तो अनौठो युगमा बाँचेका छौं, जहाँ कोही राम्रो नराम्रो छैनन् । छन् त सबै करिव-करिव उस्तै । सबै उस्तै भएपछि भाका, बान्की र शब्दरचना पनि उस्तै-उस्तै बनाउनपर्ने वाध्यता हुँदोरहेछ । जुन अहिले भइरहेको छ । र, यो केही समय अझै रहन्छ ।

जाँदाजाँदै फेरि लि क्वान यूतिर र्फकन्छु, लामो समयदेखि सिंगापुर बसिरहेका मित्र कृष्ण पौडेलले यसरी टुइटे  ‘लि वान यू स्वर्गे हुँदा सारा देश स्तब्ध र शोकाकुल थियो, तर कसैले शोक मनाउने विदाको कल्पना गरेन । कठै हामी ।’

– See more at: http://www.onlinekhabar.com/2015/04/267032/#sthash.RlG5nRux.dpuf