विद्यार्थीद्वारा नवलपरासीका निजी विद्यालय बन्द आह्वान

0 15

३ वैशाख, कावासोती । नवलपरासीका ६ विद्यार्थी संगठनले शुक्रबारदेखि जिल्लाका सबै निजी विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका छन् । विहीबार कावासोतीमा बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

विद्यार्थी संगठनहरु निजी विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गर्दै आन्दोलनमा छन् । विहीबारै जिल्ला शिक्षा कार्यालयको लेखा शाखामा तालाबन्दी गर्ने कोशिस गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लाठीचार्जबाट घाइते भएकाहरुको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भईरहेको छ ।

आधा घण्टा चक्काजाम

प्रहरीले हस्तक्षेप विरुद्ध ६ विद्यार्थी संगठनले नवलपरासीको कावासोतीमा नाराबाजी समेत आधा घण्टा चक्काजाम गरेका थिए । चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने सवारीका साधन अबरुद्ध हुँदा यात्रुहरु मर्कामा परेका थिए ।

चक्काजाम पछि आयोजित कोणसभामा नेविसंघ नवलपरासीका अध्यक्ष राजेश पौडेल, अखिल क्रान्तिकारी नवलपरासीका सहसंयोजक अनन्त अधिकारी, अखिल क्रान्तिकारी नवलपरासीका अध्यक्ष अर्जुन लुईंटेल लगायतले धारणा राख्दै आन्दोलन थप कडा बनाउँदै लैजाने चेतावनी दिए ।